बालिका बलात्कार घटनाः सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

दाङ – दाङमा दुई बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। सशस्त्रको कार्यालयबाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुई जना पक्राउ परेका हुन्।

गत असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

दसैँका बेला पिङ खेल्न गएका ती दुई बालिकालाई २९ नं. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको स्थानीयले आरोप लगाएका छन्। सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए।

यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक–पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरे पनि ढाकछोप गर्न खोजेको स्थानीयको आरोप छ। असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरु पक्राउ पर्न ढिलाइ भएको थियो।

तर, स्थानीयको आरोपपछि उनीहरु दुवै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन्।