धनगढीमा बिराज र समीरलाई दर्शकको भरपुर साथ

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

कैलाली । विराज भट्टको एक्सन र समीर भट्टको फाइटमा उमेरले झन्डै ६० पुग्दै गरेकी भगरथी भट्ट उत्साहित हुन्छिन् । आसपासमा रहेका युवाहरूले हुटिङ गर्दा र सिट्ठी बजाउँदा उनीमा थप ऊर्जा आउँछ।

धनगढीको एसटीएस सिनेमा घरमा छोरी लक्ष्मीसँग अन्तिमतिर बसेर १२ गाउँ हेरिरहेकी भगरथीलाई विराज भट्टले स्टेजमै बोलाएपछि धेरैले थाहा पाए उनी विराजको आमा र समीरको हजुर आमा हुन् भनेर ।

दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज भएको एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैदिन रिलिज हुँदा पनि १२ गाउँले राम्रो सफलता पाइरहेको छ ।

 

दोस्रो सातासम्म उपत्यकाका हलहरूमा रहेका विराज छोरा र भाइलाई लिएर बिहीबार धनगढी पुगेका थिए । धनगढी विराजको जन्म थलो हो । यहाँ साथीहरूले विराजलाई भोजराज भनेर चिन्छन् ।

‘ऊ भोजराज हो, फिल्ममा आएपछि विराज भयो ’ १२ गाउँ हेरिसकेपछि आमा भगरथीले भनिन् ‘मेरो छोरोलाई देश विदेशले चिनेको छ मलाई गर्व लागेको छ । ’

भगरथीका पाँच सन्तान मध्ये विराज माइला हुन् । १२ गाउँमा विराजसँगै देखिएका कृष्ण भट्ट उनका कान्छा भाइ हुन् । एउटै चलचित्रमा छोरा र भाइलाई खेलाएका विराजले बिहीबार धनगढीमा दर्शकहरूको निकै राम्रो साथ पाए ।

२४ गतेदेखि अहिलेसम्म यहाँको एसटिएस सिनेमा घरमा दर्शकहरूको चाप कम भएको छैन । बिहीबारको टिकट त झन् दुई दिन पहिल्यै बुक भइसकेको थियो । बिहीबार आएका सयौँले टिकट पाएनन् ।

‘दुई दिन पहिल्यै सबै सोका टिकटहरू बुक भइसकेको थिए म्यानेजर योगेन्द्र नायकले भने, ‘आज आउनु भएका धेरैले टिकट पाउनु भएन उहाँहरूलाई फेरि भोलि आउनु होला भन्दै फर्कायौँ ।’

१२ः४५ मा सिनेमा घर पुगेका विराजले केहीबेर पत्रकारहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले अहिलेसम्म पनि निकै राम्रो दर्शकहरूको साथ पाइरहेको भन्दै अझै केही साता चलचित्र चल्ने बताए ।

‘यो मेरो जन्मथलो हो । काठमाडौँ उपत्यकापछि पहिलो पटक यहाँ आएको हुँ ’ उनले पत्रकारहरूसँग भने, ‘अहिलेसम्म देशैभरि निकै राम्रो साथ पाइरहेको छु । अझै केही साता यस्तै साथ पाउने अपेक्षा छ । ’

चलचित्र हेर्न आएका दर्शकहरूले विराज र समीर दुबैलाई चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले दुबै कलाकारको एक्सन, डाइलग र विषयवस्तु मन पराएको बताए ।

विराज भट्टलाई दर्शकहरूले चट्चट्चट् वा डाइलग भन्नेपछि समीरले ‘बजाइदे नरसिङ्गा, बर्साइदे फूल, बढ्दै छ कदम मेरो ।
सिंहासन तेरो, साम्राज्य तेरो, तर, राज मेरो ।’ हुटिङले सिनेमा घर नै थर्किएको थियो ।

बिहीबार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिन। अभिनेता विराज र समीर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए। त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन् ।