धेरै पारिश्रमिक लिने भारतीय फिल्म स्टार बने अल्लु अर्जुन
काठमाडौं । अल्लु अर्जुनका फ्यान अहिले ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । रिलिज नहुँदै यो फिल्मले मिडियादेखि राइट बिक्रीमा हलचल मच्चाएको छ । फ्यान फिल्मलाई लिएर अधैर्य छन् ।
अन्ततः यो फिल्म २० मंसिरबाट प्रदर्शन हुँदैछ । यो फिल्मलाई न्यूनतम ६ करोड ४० लाख रुपैयाँ मूल्यमा नेपालमा ल्याइएको छ । नेटफ्लिक्सले महंगो मूल्यमा यसको स्ट्रिमिङ राइट खरिद गरिसकेको छ ।
यसैबीच, अल्लु अर्जुनको पारिश्रमिकबारे भारतीय मिडियामा नयाँ खबर छ । उनले ‘पुष्पा २’ का लागि ३०० करोड भारु पारिश्रमिक लिएको बताइएको छ । पारिश्रमिकमा उनले अभिनेता थलापति विजयलाई पछाडि छाडेका छन् ।
योसँगै अल्लु भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन् । ट्रयाक टलिउडको एक रिपोर्टमा दाबी गरिएअनुसार भारतको राष्ट्रिय अवार्ड विजेता अल्लु अर्जुनले ‘पुष्पा’को भूमिकाका लागि ३०० करोड भारु लिएको बताइएको छ । फिल्मको पहिलो भाग सुपरहिट भएको थियो र कमाइको हिसाबले धेरै रेकर्ड बनाएको थियो ।
यो फिल्मको सफलतापछि अल्लु अर्जुनको ‘स्टार भ्यालु’मात्रै होइन, पारिश्रमिक पनि बढेको छ । अहिले सबैको नजर ‘पुष्पा २’ मा छ, जुन पहिलो भागभन्दा अझै वृहत रहेको निर्माताले बताएका छन् ।
रिपोर्टका अनुसार थलापति विजयले ‘थलापति ६९’ को लागि २७५ करोड भारु लिएका थिए । त्यसपछि थलापति विजय शाहरुख खानलाई पनि पछि छाड्दै भारतको सबैभन्दा धेरै कमाउने अभिनेता बने ।
पछिल्लो रिपोर्टअनुसार अल्लु अर्जुनले थलापतिको रेकर्डलाई उछिनेका छन् ।
तपाईको प्रतिक्रिया