प्रधानमन्त्री ओलीलाई देउवाले भने- आलोचना हुनु स्वभाविक हो, ढुक्कसँग काम गर्नुस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।
आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले यस्तो बताएका हुन् ।
सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उनले स्पष्ट पारे ।
'केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकारमा भएका कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ,' उनले भने ।
प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउँदै उनले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरूले सरकारको आलोचना गर्नु स्वभाविक भएको बताए ।
आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने उनको भनाइ थियो ।सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया