छेउमै बग्छ सुर्नया, तिर्खाएर हिँड्छन् काँडावासी
बैतडी, कात्तिक २८ गते । छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्दा काँडावासी तिर्खाले काकाकुल भएर हिँड्ने गरेका छन् । यहाँ जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक मावि, प्राथमिक स्वास्थ्य केन्द्र, मणिलेक बहुमुखी क्याम्पस र काँडाबजार क्षेत्र गरी ठुलो जनसङ्ख्या पानी नपाएर काकाकुल बनेको छ ।
मेलौली नगरपालिकाका–१, २, ७, ८ र ९ नम्बर वडालाई छोएर तलतिर सुर्नया नदी बगिरहेको छ । नगरपालिकाको उत्तरतिर ग्वाल्लेक संरक्षित वनको पानी, नगरको ३ नम्बर वडाको ढणैनखोला, ५ नम्बरको महारुद्रको खोलालगायत ठाँणखोला र मर्छलेखोला बगिरहे पनि मेलौली नगरपालिका–७, काँडामा पानी ल्याउने योजना र बजेट नहुँदा पानीको हाहाकार भएको हो ।
मेलौली नगरपालिका–७ को ओरडपाखा भएर सुर्नया नदी बगिरहे पनि काँडाबजारमा पानीको योजना आउन नसकेको स्थानीय उपभोक्ता भोजराज भट्टले पीडा सुनाए । बजारसँगै जोडिएको चौकुने गाउँमा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझो छ । सिँचाइ नहुँदा मेलौली बजारमा बाहिरबाट तरकारीलगायत दैनिक उपभोग्य वस्तु आयात हुने गरेको छ ।
काँडाबजारमा मात्रै २६० घरपरिवार बसोबास गर्छन् । मणिलेक माविमा एक हजार तीन सय र क्याम्पसमा चार सय विद्यार्थी अध्ययनरत छन् । पानी नहुँदा शिक्षक र विद्यार्थीले खोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको मणिलेक बहुमुखी क्याम्पसका प्रधानाध्यापक भीमसिंह धामीले पीडा सुनाए ।
धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नु परेको पीडा उनले सुनाए । काँडाबजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना जीर्ण हुँदा समस्या भएको उपभोक्ताले बताएका छन् । पानीको हाहाकार भएपछि स्थानीय ३२ परिवारले प्रतिव्यक्ति ४५ हजार रुपियाँ सङ्कलन गरेर नजिकैको पटौट खोलाबाट सौर्य पाता जडान गरेर पानी तान्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
बजेट भइदिए नजिकैको महादेवखोलाबाट पानी लिफ्ट गर्न सकिने स्थानीय उपभोक्ता लोकराज भट्टले बताए । काँडाबजारसँगै जोडिएको मेलौली नगरपालिका–१ मा सुर्नया नदीबाट पानी लिफ्ट गरिएको छ । सँगै जोडिएको काँडाबजारमा पानी लिफ्ट गर्न स्थानीय सरकारबाट नयाँ योजनाका लागि प्रस्ताव आउनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले बताएको छ । खानेपानी कार्यालयका प्रमुख गोविन्द देवकोटाले स्थानीय सरकारबाट योजना नै नआएको बताए । उनले यो वर्ष उपभोक्तालाई लिफ्ट खानेपानीको प्रस्तावना पेस गर्न अनुरोध गरेको बताए। खानेपानीको समस्याका विषयमा नगरपालिकामा गुनासो आएकाले मुहानको खोजी भइरहेको मेलौली नगरपालिकामा प्रमुख भीमबहादुर चन्दले बताए ।
काँडाबजारको खानेपानी समस्याका विषयमा नगरपालिकामा छलफलसमेत भएको र सुर्नया नदीबाट पानी लिफ्ट गर्न नगरपालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई गुहार्ने नगरप्रमुख चन्दले बताए ।
तपाईको प्रतिक्रिया