५० वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिँदै अछाम अस्पताल

बिहीबार कार्तिक २९, २०८१/ Thursday 11-14-24
Paschim Today

अछाम : पाँच दशकअघि स्थापना भएको जिल्ला अस्पताल अछाममा भवनलगायत भौतिक संरचना जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित भइरहेको छ ।

जस्ताले छाएको अस्पताल भवन जीर्ण भएकाले शल्यक्रिया, बिरामी भर्ना, आपतकालीन कक्षलगायतका सबैजसो ठाउँमा पानी चुहिने गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिव बोगटीले बताए ।

५० वर्षअघि स्थापना भएको जिल्ला अस्पतालमा १५ शय्याको मात्रै स्विकृति रहेकामा बिरामीको चाप र जिल्ला अस्पतालले प्रदान गर्ने सेवाका आधारमा ३५ शय्या बढी थपे गरेर संचालन भइरहेको छ । अस्पतालमा पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रूपमै भए पनि बेड राख्नुपर्ने बाध्यता भएको उनले बताए ।

‘सुदूरपश्चिमका ७ पहाडी जिल्लामध्ये भौतिक संरचना नभएको जिल्ला अस्पताल यो मात्रै हो । पटक–पटक भौतिक संरचना बनाउनका लागि सरकारसँग आग्रह गर्दा पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन,’ अध्यक्ष बोगटीले भने, ‘ओपीडीमा डाक्टरले बसेर जाँच गर्ने ठाउँसमेत अभाव छ । अप्रेसन थिएटर चुहिन्छ । यस्तो समस्या बताउँदा पनि कसैको नजर पर्दैन ।’ उनका अनुसार अस्पतालमा संचालनमा रहेका शय्याको अवस्था नाजुक छ ।

करिब ५ दशकअघि अस्पतालको भवनमा जस्तापाता लगाइएको थियो । सामान्य अरु मर्मत भए पनि जस्तापाता हालसम्म नफेर्दा चुहिने समस्याले बिरामीलाई सेवा प्रवाह गर्न चुनौती थपिएको छ । ‘प्रसूति वार्ड, सुरक्षित गर्भपतन गराउने वार्ड, इमर्जेन्सी वार्ड र ओपीडी कक्षमा पानी परेको दिन चुहिएर पस्नै सकिँदैन,’ उनले भने, ‘एक महिनामुनिको बच्चा राख्ने वार्ड पनि जोखिममा छ । एक समस्या ल्याएर आएका भर्ना हुनुपर्ने बिरामीलाई भर्ना गरेको दोस्रो दिन अर्को समस्या देखिन्छ ।’

 

 

आर्थिक वर्ष ०७९/८० मा सहरी विकास तथा भवन निर्माण विभागले ५० शय्याको भवन निर्माण गर्नका लागि ठेक्का प्रक्रियामा गएको थियो । तर, बजेटको स्रोत सुनिश्चितता नभएको भन्दै प्रक्रिया नै अगाडि नबढेको उनले बताए । उनका अनुसार दुई वर्षअगाडि विभागअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको डोटीस्थित कार्यालयबाट जिल्ला अस्पतालको भवन बनाउनका लागि ४९ करोड रुपैयाँ विनियोजन गरिएकामा बजेटको स्रोत सुनिश्चतता नभएको कारण देखाएर काम अगाडि नबढाएको बोगटीले बताए ।

स्रोत सुनिश्चितताको सहमति नलिएर अगाडि बढेका ठेक्कालाई नेपाल सरकारकै निर्णय अनुसार रद्द गरिएको र सोहीअन्तर्गत जिल्ला अस्पताल अछामको ठेक्का पनि रद्द भइसकेको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीका कार्यालय प्रमुख राम आशिष दासले बताए ।

 

 

‘जिल्ला अस्पतालको पुरानो ठेक्का तिहारअगाडि नै रद्द भइसकेको छ । अब बहुवर्षीय स्विकृत भएर आयो भने मात्रै ठेक्का प्रक्रियामा जान्छ,’ उनले भने । जस्ताको छानामुनि सेवा दिइरहेको जिल्ला अस्पतालको विषयमा संसदमा पटक–पटक आवाज उठाएको अछाम–२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले बताए । २०७२/७३ मा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै कार्य सम्पादन मूल्यांकनमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशकै सर्वोत्कृष्ट जिल्ला समेत भएको हो । तर मन्त्रालयले तोकेका केही सूचक पूरा गर्दैमा अस्पतालको स्वास्थ्य सेवा नबदलिएको स्थानीयको गुनासो छ ।

सामान्य समस्या हुँदा पनि कहिले मेसिनको कारण, कहिले डाक्टरको कारण र कहिले औषधिको कारण देखाउँदै अन्य ठाउँमा रेफर गर्ने गरेको स्थानीय बताउँछन् ।