ट्रुकलरलाई विश्वास गर्दा क्षणभरमै रित्तिन सक्छ तपाईँको बैंक खाता, जोगिन के गर्ने ?

शनिबार मङ्सिर १, २०८१/ Saturday 11-16-24
Paschim Today

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक बिष्टलाई केही दिनअघि एउटा फोन आयो । ट्रुकलरमा उक्त फोन कृषि विकास बैंकबाट आएको देखियो । 

बिस्टले सो एपमा देखिएको लोगो र नामलाई विश्वास गर्दै फोन उठाए । फोन उठाएपछि उक्त नम्बरबाट ती व्यक्तिले आफू कृषि विकास बैंकको आईटी विभागबाट फोन गरेको भन्दै आफ्नो परिचय दिए । बिस्ट विश्वस्त भएपछि खाता अपग्रेड गर्नुपर्ने भन्दै बिस्टको खाता नम्बर, पिन, पासवर्ड र ओटीपी मागे । अरू सबै विवरण दिए पनि ओटीपी कोड भने बिस्टले दिएनन् । उनलाई बैंकले ओटीपी कोड कहिल्यै माग्दैन भन्ने थाहा थियो । त्यसैले तत्कालै फोन काटेर बैंकको मुख्य कार्यालयमा फोन गरी यस विषयमा जानकारी दिए । त्यसपछि बैंकका कर्मचारीले उक्त नम्बर बैंकसँग सम्बन्धित नभएको जानकारी दिए । ओटीपी नदिएकाले बिस्टको बैंकमा भएको रकम चोरी हुनबाट जोगियो ।

नागार्जुन नगरपालिकाका एक वडा सदस्यलाई पनि त्यस्तै कल आयो । कल आउनासाथ ट्रुकलरमा उक्त नम्बर कृषि विकास बैंकको भएको देखियो । त्यसमा बैंकको लोगो र नाम भएपछि ती वडा प्रतिनिधि पनि विश्वस्त भए । व्यवसायका हिसाबले ती प्रतिनिधि एक सहकारीका मेनेजर पनि हुन् । बैंकबाट कल गरेको दाबी गर्ने ती व्यक्तिले वडा प्रतिनिधिलाई उनको बैंक अकाउन्ट, पासवर्ड, पिन र ओटीटी मागे । वडा सदस्यले पनि सबै विवरण उपलब्ध गराए । तर, त्यसको केही समयमै उनको खाताबाट दुई लाख ७५ हजार रुपैयाँ गायब भयो । 

 

यी दुई प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय ट्रुकलर एपमा संस्था नाम, लोगो र व्यक्तिको नाम तथा फोटो राखी ठगी गर्ने घटना बढ्दै गएको देखिएको छ । प्रहरीका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका उच्च ओहोदाका कर्मचारीको नाम राखेर ठगी गर्ने घटनाबारे सचेत बनाउँदै सम्बन्धित निकायले सचेत रहन अनुरोध गरेका छन् ।

ट्रुकलरमा नाम र फोटो देखियो भन्दैमा विश्वास गर्नु कत्तिको उचित हो ?

ट्रुकलर एउटा यस्तो मोबाइल एप हो, जसले अज्ञात फोन नम्बरको पहिचान गर्न मद्दत गर्दछ । यस एपले कसरी काम गर्छ भन्नेबारे बुझ्न एउटा उदाहरण हेरौं । मानौं एक जना ‘श्याम शर्मा’ नामका व्यक्ति छन् । उनले फोनमा ट्रुकलर एप इन्स्टल गरे ।

एप इन्स्टल गरेपछि उनले उक्त एपलाई सबै किसिमका एक्सेस दिनुपर्ने हुन्छ । त्यसले श्यामको कन्ट्याक्टमा भएका सबै व्यक्तिको नम्बर हेर्ने, मेसेज पढ्ने, कल गर्ने, लोकेसन थाहा पाउने लगायतका एक्सेस माग्छ । केही आधारभूत पर्मिसन नदिएसम्म एप चल्दैन । किन पर्मिसन माग्छ भन्नेबारे तल चर्चा गरौंला । 

सबै एक्सेस दिइसकेपछि श्यामले अकाउन्ट बनाउनुपर्ने हुन्छ । उनले आफ्नो नाम र ईमेल राखेर अकाउन्ट बनाउँँछन् । शतप्रतिशत प्रोफाइल पूरा गर्न बस्ने ठेगाना, काम गर्ने ठाउँ र प्रोफाइल पिक्चर राख्नुपर्ने हुन्छ । यी विवरण राखेको खण्डमा श्यामको अकाउन्ट भेरिफाइड हुन्छ । तपाईंले नम्बर सेभ नगरेको फोनबाट श्यामको नम्बर खोज्नु भयो भने त्यसमा श्यामको नाम, ईमेल, फोटो, ऊ काम गर्ने सबै देखाउँछ । साथै नामको पछाडि भेरिफाइड मार्क पनि देखिन्छ । 

यो त भेरिफाइड नाम देखिने सन्दर्भ भयो । कसैले ट्रुकलर इन्स्टल गरेको छैन तर पन उसको नम्बर सर्च गर्दा नाम देखाइरहेको हुन्छ । यस्तो कसरी हुन्छ ?

ट्रुकलरले फोनमा काम गर्नुअघि कन्ट्याक्ट अर्थात् तपाईंको डिभाइसमा सेभ भएका सबै नम्बरको पहुँच माग्छ भनेर हामीले माथि चर्चा गर्‍यौं । हो यसरी जसले जसले ट्रुकलरमा अकाउन्ट बनाएको छ उसको कन्ट्याक्ट लिएर ट्रुकलरले आफ्नो डेटाबेसमा भण्डारण गर्छ । र, कुनै व्यक्तिले त्यसमा नम्बर सर्च गर्‍यो भने यो नम्बर यो व्यक्तिको हो भनेर जानकारी दिन्छ । 

तपाईं हामीले कुनै व्यक्तिको नाम र उसको थर मात्र बिरलै राख्छौं । नजिकको मान्छे हो भने नाम पछाडि यो नाता जस्तो ‘राजेश दाइ’ भनेर सेभ गर्छौं । कुनै ठाउँमा काम गर्ने हो भने व्यक्तिको नामको पछाडि ऊ काम गर्ने ठाउँको नाम राख्छौं । कतिपयसँग रिस उठेको हुन्छ । उसको नाम त्यसरी नै उटपट्याङ किसिमको राखिरहेका हुन्छौं । यिनै कन्ट्याक्ट लिएर ट्रुकलरले कुन नम्बर कसको हो भन्ने विषयको जानकारी दिने प्रयास गर्छ । 

एउटै नम्बर फरक-फरक प्रयोगकर्ताको फोनबुकमा विभिन्न नामले सेभ भएको हुन सक्छन् । यस्तोमा ट्रुकलरले सबैभन्दा धेरै प्रयोग हुने नामलाई प्राथमिकता दिन्छ र त्यसलाई सम्बन्धित नम्बरको पहिचानका रूपमा देखाउँछ ।

जब कुनै अज्ञात नम्बरबाट कल आउँछ ट्रुकलरले तुरुन्तै आफ्नो डेटाबेस स्क्यान गरेर सो नम्बरलाई पहिचान गर्न खोज्छ । यदि नम्बर डेटाबेसमा फेला पर्‍यो भने सो नम्बरसँग लिङ्क गरिएको नाम तपाईंको स्क्रिनमा देखाउँछ ।

ट्रुकलरले स्पाम नम्बरको पहिचान गर्न पनि विशेष प्रविधि प्रयोग गर्छ । प्रयोगकर्ताहरूले स्पाम कलहरू रिपोर्ट गर्न सक्छन् । रिपोर्ट गर्दा सो नम्बरलाई ट्रुकलरले आफ्नो डेटाबेसमा ‘स्पाम’ का रूपमा चिन्ह लगाउँछ । यसरी अर्कोपटक त्यो नम्बरले कसैलाई कल गर्दा ट्रुकलरले स्क्रिनमा ‘स्पाम’ भनेर देखाउँछ।

ट्रुकलरले जो व्यक्तिले उक्त प्लेटफर्ममा अकाउन्ट बनाएका छन् उसको नाम भेरिफाइड भनेर देखाउँछ । ट्रुकलरले यो व्यक्ति यही हो भनेर प्रमाणित गर्दैन । नाम, नम्बर, ईमेल र फोटो राखी प्रोफाइल पूरा गरेको भरमा यसले अकाउन्ट भेरिफाइड बनाइदिन्छ । त्यसबाहेक अरूले के नाम राखेर सेभ गरेका छन् त्यसलाई आधार बनाएर यो नम्बर यो व्यक्तिको हो भनेर देखाउँछ ।

जसरी पछिल्लो समय बैंकको नाम र लोगो ट्रुकलरमा भेरिफाइड भनेर देखिन थालेको छ । यस्तोमा स्क्यामरले उक्त नम्बर राखी ट्रुकलरमा अकाउन्ट बनाएका हुन्छन् । त्यसैलाई केही व्यक्तिले आधार बनाई उक्त नम्बर बैंक वा कुनै उच्च ओहोदाका कर्मचारीको नै हो भनेर पत्याउँछन् ।

यसरी ट्रुकरमा नाम र लोगो तथा भेरिफाइड मार्क देखिएकै भरमा विश्वास गर्दा प्रयोगकर्ता ठगिन पुग्ने साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए । “ट्रुकलर, ह्वाट्सएप र टेलिग्राममा यसरी अर्काको नाम र नम्बर प्रयोग गरी ठगिने घटना बढेका छन्,” अवस्थीले भने, “यी एपमा फोटो वा नाम देखियो भन्दैमा त्यही नामको व्यक्ति हो भनेर विश्वस्त हुन सकिंदैन ।”

प्रहरी उपरीक्षक अवस्थीले सामाजिक सञ्जालका कुनै माध्यम वा फोन तथा मेसेजिङ एपमा कुनै व्यक्तिले म यो हो भनेर केही सहयोग माग्यो वा व्यक्तिगत विवरण माग्यो भने शंका गर्नुपर्ने बताए । यस्तोमा कारोबार गर्नुपर्‍यो भने बुझेर वा प्रमाणित गरेर मात्र कारोबार गर्नुपर्ने उनले सुझाए ।