हातखुट्टा नचल्ने बिरामीले सोचेकै भरमा डिभाइस चलाउन सक्ने प्रविधि परीक्षण गर्दै न्यूरालिङ्क
काठमाडौं । एलन मस्कको न्यूरालिङ्कले क्यानडामा समेत पहिलो पटक क्लिनिकल ट्रायलको स्वीकृति पाएको छ । गत बुधवार क्यानडाबाट आफ्नो पहिलो क्लिनिकल ट्रायल सुरु गर्न स्वीकृति मिलेको न्यूरालिङ्कले जानकारी दिएको हो ।
यस अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सोचेकै भरमा उपकरणहरू प्रयोग गर्नसक्ने क्षमता प्रदान गर्न डिजाइन गरिएको डिभाइसको परीक्षण हुनेछ । उक्त परीक्षणबाट कम्पनीले डिभाइसको सुरक्षाको मूल्याङ्कन र यसको प्रारम्भिक कार्यक्षमता जाँच गर्ने बताइएको छ ।
कम्पनीको उक्त डिभाइसले क्वाड्रिप्लिजिया (सबै हातखुट्टा चलाउन नसक्ने) भएका व्यक्तिहरूलाई आफ्नो सोचमार्फत शरीरमा राखिएका अन्य उपकरणहरू नियन्त्रण गर्न सहयोग गर्ने जनाइएको छ ।
यसअघि अमेरिकामा न्यूरालिङ्कले दुईजना बिरामीमा यस्तो डिभाइसको परीक्षण गरिसकेको छ । कम्पनीका अनुसार ती मध्ये एक बिरामीले उक्त डिभाइसको सहयोगमा भिडिओ गेम खेल्नुका साथै थ्रीडी वस्तुहरू डिजाइन गर्ने सीप सिकिरहेका छन् ।
तपाईको प्रतिक्रिया