हराउँदै ‘कौह्रा’ मा आगो ताप्ने चलन

आइतबार मङ्सिर ९, २०८१/ Sunday 11-24-24
Paschim Today

धनगढी । केही दशकअघिसम्म थारूको बसोबास रहेको ग्रामीण क्षेत्रको हिउँदे बिहानी गुलजार हुन्थ्यो । घरका ‘किसनुवा’ (घरमूली) देखि लिएर बुढाबुढी, बालबच्चा ‘खेन्हुवा’ (धान राखिएको ठाउँ) मा ‘कौह्रा’ (परालको आगो) ताप्दै चिसो बिहानीलाई न्यानो बनाउने गर्दथे । 

उनीहरू कौह्रामा वह्रा (मकै भुटेर खाने) खान्थे, रमाउँथे । गोरुले धान दाइँ गर्ने व्यक्तिदेखि लिएर धान केलाउने महिला काम सकेर हात सेक्ने, शरीर न्यानो बनाउने र मिठा मिठा बात मार्ने थलो बनेको थियो कौह्रा तर आदिवासी जनजाति थारू समुदायको मौलिक पहिचान झल्काउने यो चलन अचेल लगभग हराइसकेको छ ।  

खेतीपाती गर्ने तौरतरिकामा आएको परिवर्तनका कारण उहिले गाउँघर, परिवारमा एकता र रौनकता थपेको कौह्रा अहिले हराउन थालेको हो । “अहिले जुगै अर्कै आएको छ,” एक्लै कौह्रामा आगो ताप्दै गरेको भेटिएका धनगढी उपमहानगरपालिका–८ का ६८ वर्षीय ज्येष्ठ नागरिक लखपति चौधरीले भने, “अब यो सब हराइरहेको छ । न खेन्हुवा छ न त माली दाइँ हुन्छ (गोरुले धान दाइँ गर्ने कार्य) । अचेल सबै काम मेसिनले गर्न थालेको छ ।”

थ्रेसिङ गर्ने आधुनिक मेसिन नआएको बेलासम्म किसानले धान भित्र्याउने एक मात्रै माध्यम थियो माली दाइँ । उनीहरू पुस, माघसम्म गोरुले धान दाइँ गर्ने र भित्र्याउने काम गर्दथे । त्यसक्रममा हरेक बिहान खेन्हुवाँमा कौह्रा बालिन्थ्यो तर अचेल धेरै जसो काम मेसिनले गर्न थालेपछि किसानले गोरु पाल्न र गोरुबाट काम लिन छोड्न थालेका छन् ।  

कोही कोहीले खेतीपातीको कामसमेत छोडिसकेकोप्रति चिन्ता व्यक्त गर्दै चौधरीले भने, “खेती नगरे खाने के रु सबैभन्दा ठुलो त खेतीपाती हो, योभन्दा ठुलो अरू केही छैन ।” अचेल मान्छेले खेतीपाती छोडेर मजदुरी गर्ने परिपाटीको विकास भइरहेको उहाँको ठम्याइ छ । आफूले धनगढीमा तीन बिघाभन्दा बढी जमिनमा खेतीपाती गर्दै आएको सुनाउँदै चौधरीले ठट्यौली पारामा भने, “सम्पत्ति छैन । नाम मात्रै मेरो लखपति हो ।”