कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर
धनगढी : कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी धरणीधर भट्ट टीयु टपर बनेका छन्। भट्टले स्नातक तहको वाणिज्य व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालय टप गरेका हुन्।
भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३।९९, पाँचौँ सेमेस्टरमा ३।९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउँदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा प्रथम स्थानमा प्रथम भएको कैलाली बहुमुखी क्याम्पसले जनाएको छ।
डोटीको शिखर नगरपालिका वडा नम्बर १ कफल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन्। उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परीक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन्। भट्टले आफ्नो सफलताको श्रेय आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पसलाई दिएका छन्।
त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट अङ्क ल्याएर प्रथम स्थान हासिल गर्नु क्याम्पसका लागि मात्र नभएर समग्र सुदूरपश्चिमकै लागि गौरवमयी विषय भएको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोय नाथ भट्टले बताए । उनले कैलाली बहुमुखी क्याम्पसले यस्ता गौरवमयी विषय हासिल गर्दै आएको र आगामी दिनमा अझै राम्रो स्थान हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने बताए ।
तपाईको प्रतिक्रिया