‘रविलाई काठमाडौं ल्याउने हवाई टिकट पाइएन’: कास्की प्रहरी

मंगलबार मङ्सिर ११, २०८१/ Tuesday 11-26-24
Paschim Today

पोखरा- रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए ।

‘आज बयानका लागि काठमाडौं पठाउने त भनिएको हो तर हवाई टिकट लगायतका कागजात प्राप्त भइसकेको छैन,’ डीएसपी शर्माले भने ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो ।

जिल्ला अदालत चितवनबाट पनि मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।