टिमुरका बिरुवा निःशुल्क वितरण
कैलाली । डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ । डिभिजन वन प्रमुख गोकुल रिजालले विगतमा निजी नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यस वर्ष आफैँले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताए ।
“बेर्ना उत्पादनका लागि अहिले टिमुरको बिउ सङ्कलन भइरहेको छ । पाकेको टिमुरलाई सुकाएर फुटेपछि भित्रको गेडा बिउका रूपमा प्रयोग हुन्छ,” डिभिजन प्रमुख रिजालले भने “पहिलो पटक परीक्षणका रूपमा आफैँ बेर्ना उत्पादन गर्ने तयारीमा छौँ । बेर्ना तयार गर्न समय लाग्छ, हेरौँ कत्तिको सफल हुन्छ ।”
मध्यपहाडी क्षेत्रको हावापानीमा हुने टिमुर औषधी तथा मसलाका रूपमा प्रयोग हुन्छ । वनजङ्गल, बारीको कान्लामा भएको टिमुरको महत्व नबुझ्दा त्यसै खेर गइरहेको हुन्छ । सामुदायिक वन तथा व्यावसायिक किसानलाई डिभिजन वनले आम्दानीको लाभ लिनका लागि टिमुरका बोट निःशुल्क वितरण गर्ने भएको छ । डोटीको हावापानीमा टिमुर राम्रै फल्ने भएकाले यसको व्यावसायिक उत्पादनका लागि आफैँले बेर्ना तयार गरेर वितरण गर्नसके धेरै जना लाभान्वित हुने प्रमुख रिजालको भनाइ छ ।
उनले डिभिजन वनले विभिन्न जातका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आए पनि अन्य बेर्नाभन्दा टिमुरका बेर्ना उत्पादन गर्न मेहनत र समय लाग्ने भएकाले अलि बढी खर्चिलो हुने बताए । उनले भने, “पहिलो पटक परीक्षणका रूपमा बेर्ना उत्पादन गर्दै छाँै, बिउबाट बेर्ना उमार्ने भएकाले कति उम्रिन्छ, सफल भयो भने प्राइभेट नर्सरीबाट किन्नुपर्ने बाध्यता हट्छ ।”
तपाईको प्रतिक्रिया