अमेरिकामा मानसिक स्वास्थ्य बिभाग हाँकिरहेकी रेखा
अमेरिकाको केन्टुकीस्थित मानसिक स्वास्थ्य अस्पताल, द रिज बिह्यावियर हेल्थ सिष्टम । त्यही अस्पतालको मानसिक स्वास्थ्य विभागमा टीम लिडरका रुपमा कार्यरत छन्, रेखा जोशी । यो तहको जिम्मेवारी पाउने उनी एक्ली नेपाली हुन् । सात वर्षदेखि जहाँ हरेक दिन भर्ना हुने मानसिक समस्या भएका बिरामीहरुमा आशा जगाईरहेकी हुन्छिन् । बिरामीको अनुहारमा खुशी ल्याउन हरपल प्रयत्न गरिरहेकी हुन्छिन ।
उनी बिरामीसंग साथी झै व्यवहार गर्छिन । ध्यान दिएर उनीहरुका कुरा सुन्छिन । उनीहरुको अनुहार र त्यसको भाव पढ्छिन् । उनीहरुको मनोदशा बुझ्छिन । त्यसका कारणहरु पहिल्याउछन् । किन उ त्यस्तो छ ? उसलाई त्यो अवस्थाबाट बाहिर कसरी निकाल्न सकिन्छ ? उसले के भन्न खोजिरहेको छ ? र, उसको मनोविज्ञान बुझेर व्यबहार गर्छिन । यी सात वर्षमा उनलाई कसैले नराम्रो भनेको सम्झनासम्म छैन । बिभागको सुपरभाईजरले पहिलो महिनामै भनेको सम्झिन्छन्, ‘यु डिड गुड जव रेखा ।’
डा. लक्ष्मीकान्त पन्त सुदूर पहाडका कहलिएका बैद्य थिए । र थिए, समाज सुधारक । ‘बाहुन’ले हलो जोत्न नहुने पुरातन सोचले जकडिएको त्यो युगमा उनी हलो जोत्ने दुस्साहसी थिए । उनी शिक्षामा सबैको पहूँच हुनुपर्छ भन्ने मान्यता राख्थे । तिनै डाक्टरका छोरा थिए, देवकान्त पन्त । जसले प्रहरी निरीक्षकको पद त्यागेर प्राध्यापन रोजे । र रमाए, साहित्य सृजनामा । डोटेली लोकसाहित्यको खोज, अनुसन्धान र त्यसको महत्व उजागरमा आजीवन तल्लिन रहीरहे । तिनै पन्तकी माहिली छोरी हुन्, रेखा जोशी ।
आदिम चेतनामा बाँचेको त्यो युग । शिक्षाको झरो बालेर समय फेर्न हिडेका समाज सुधारक बाजे र बुवा । जसको पद्चाप पछ्याउदै हिडिन उनी । धमनीमा बग्ने रगत । र, रगतसंगै बग्ने परिवर्तनको चेतना । पूर्वजको त्यो चेतना उनको ‘जीन’ मा जन्मजात आएको थियो । बिद्रोही चेत उनीभित्र हुर्किएको थियो, बाल्य वयदेखि । उनी बज्यै त्रिपुरासुन्दरीको सामिप्यतामा हुर्किईन । उनमा आट, धैर्यता, साहस बज्यैले भरिन । जस्तोसुकै परिस्थितिमा पनि हरेश नखान उनलाई बज्यैले नै सिकाएकी हुन् । उनको पहिलो पाठशाला बज्यै हुन् ।
बिरासतमा मिल्ने शासन भन्दा कैयो गुणा श्रेष्ठ हुन्छन, गुणहरु । ती गुणको तागतको शासनको शक्तिसंग के तुलना हुन्थ्यो । कैयौ जुनीसम्म मान्छेले सम्झिरहने चिज भनेकै सद्गुणहरु हुन् ।
क्याप्टेन बेद उप्रेती भन्छन्, पन्तको अन्त न गन्त । उप्रेतीका मावली पन्त हुन् । यो उनको, पन्तहरुको शाखा सन्तान र बिरासत प्रतिको सटिक टिप्पणी हो । डोटीको उच्चाकोटका पन्तहरुको ईतिहास, उनीहरुको बिरासत र चेतनाको फैलावट त्यो आदिम युगमा डोटीको त्यो खोँचदेखि काठमाण्डौं खाल्डो हुदै भारतसम्म थियो । जो अहिले आईपुग्दा संसारभरी फैलिएको छ ।
जव सर्जनले अप्रेशनलाई संख्याका रुपमा गणना गर्छ । उसलाई त्यहाँ बिरामीको जीवनसंग मतलव हुदैन । उसलाई टीओ बढाउन (टार्गेट ओभर) संग मतलव हुन्छ । र त, बिरामीको मृत्युमा उसले सहजै भनिदिन्छ, अस्पताल आउने सबै बाँच्छन भन्ने हुन्छ ? तर त्यही मृत्यु हुने केही भित्र उसको प्रियजन परे कस्तो होला ? चिकित्सकले कहिल्यै सोच्दैन । यति सोच्ने भए चिकित्सकले कहिल्यै लापरबाही गर्दैनथ्यो ।
औषधीले मात्र बिरामी ठिक हुदैन । चिकित्सकको सही परामर्श पनि उत्तिकै आवश्यक हुन्छ । नेपाल, जहाँ बिरामीले सबै चिकित्सकसंग आफ्ना समस्या खुलेर राख्न सक्दैन । कतिपयको व्यवहारले यस्तो लाग्छ, चिकित्सक त ठूलो मान्छे पो ! उसंग बिरामीका कुरा सुन्ने समय कहाँ छ ? झर्केर नबोले के को चिकित्सक ? सेतो कोट सादगी र सरलताको प्रतिक हो । तर नेपालमा त्यो कोट लगाउनेहरुले बिरामीको मनोभावना बुझेर उपचार गरेको कमै पाईन्छ । उसले ठानिरहेको हुन्छ, म तिमीभन्दा फरक हुँ । किनकी म डाक्टर हुँ ।
तर अमेरिकामा चिकित्सकले बिरामीलाई भनिरहन पर्दैन, म पनि तिमी जस्तै मान्छे हुँ । चिकित्सकको व्यबहारले त्यो बताईरहेको हुन्छ । बिरामी जाँचिरहदा चिकित्सकको बोली र ब्यबहार बिरामीले जाँचिरहेको हुन्छ । त्यही बोली र व्यवहारले चिकित्सकको जागीरको आयु निर्धारण गर्छ । बिरामीको एउटा गुनासोले चिकित्सकको जागीर चट भईसकेको हुन्छ । तव न चिकित्सक चिकित्सक जस्तो हुन्छ । नेपालमा बिरामीले अलि बढि सोधपुछ गरे चिकित्सकले भनिदिन्छ, तपाईको उपचार हामी गर्न सक्दैनौ । अन्यत्र जानुस ।
अमेरिकामा यति भन्ने चिकित्सकको न सेतो कोट रहन्छ । न त जागीर । खासमा नेपालमा पनि हुनुपर्ने यही हो । तव न चिकित्सक चिकित्सक जस्तो हुन्थ्यो । अस्पताल अस्पताल जस्तो ।
सरकारी कार्यालयमा होस वा अस्पतालमा । नेपालमा मान्छेको ओहोदा र पदका आधारमा व्यवहार गरिन्छ । तर अमेरिकामा मान्छेको पद र ओहोदाले चिकित्सक वा स्वास्थ्यकर्मीको व्यवहार निर्धारण हुदैन ।
बिरामीसंग चिकित्सकको व्यवहार कस्तो छ ? बोली कस्तो छ ? हाकिमसंग राम्रोसंग कुरा गर्ने चिकित्सक र आम कर्मचारीले त्यसैगरी मुस्कान र नम्रतापूर्वक सबै तहका कर्मचारीहरुसंग बोल्नु पर्ने हुन्छ । त्यसको पनि मूल्यांकन हुन्छ ।
बिरामीहरुले दिने रिभ्युबाट कर्मचारीहरुले कसरी काम गरिरहेका छन्, थाह पाउन सकिन्छ । ‘मान्छेलाई स्मार्ट सिष्टमले बनाउछ’, यो उनको भोगाई हो ।
अमेरिकाको हेल्थ सिष्टम । चिकित्सकको व्यवबहार । यो सबै नजिकबाट हेरिरहेकी उनी बिरामीलाई ग्राहक, अस्पताललाई धन्दा, अनि पैसालाई सबैथोक मान्ने चिकित्सक र आफ्नो देश सम्झेर घोत्लिन्छन्, नेपालमा यस्तो कहिले होला ?
त्यसको अर्थ नेपालका सबै चिकित्सकहरु परम्परागत अभ्यास र सोचमा बाँचेका छन् भन्ने होईन । केही समययता विदेशका राम्रा अभ्यासहरुलाई नेपाली चिकित्सकहरुले पनि अमेरिकाका अनुशरण गर्दै गएका छन् । यो सकारात्मक कुरा हो ।
उनी जुन उमेरमा अहोरात्र बिरामीको सेवामा खटिएकी छन् । नेपालमा उनका उमेर समूहका पुरुष र महिलाहरु ‘रिटायर्ड लाईफ’ बाँचिरहेका छन् । नातिनातिना खेलाएर दिन काटिरहेका छन् ।
उनका लागि उमेर संख्या मात्र हो । महत्वपूर्ण कुरा त मान्छेभित्रको उर्जा हो । सकारात्मक सोच हो । केही नयाँ कर्म गरिरहने हुटुहुटी हो । जो उनीभित्र खाँदिएको छ । यो उमेरमा पनि उनको स्फूर्ती, उर्जा, कामप्रतिको लगाव हरकोहीका लागि प्रेरणाको स्रोत हो । सायद उनीभित्रको आत्मविश्वास डगमगाएको भए उहिल्यै आत्महत्या गरिसक्थिन ।
यस्तो लाग्छ, उनी ‘मुसाफिर’ हुन् । र, उनको जिन्दगी एउटा अविरल यात्रा हो । जसको कुनै स्थायी मुकाम छैन । उनी काठमाण्डौंमा जन्मिईन । बाल्यकाल जहाँ बुवा गए, त्यतै बित्यो । कैलालीको श्रीपुरस्थित शारदा माविमा तीन कक्षासम्म पढिन । चार कक्षा पढ्न पुगिन, काठमाण्डौंस्थित बिजय मेमोरियल माविमा । पाँच कक्षामा भर्ना भईन, धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा । जहाँबाट उनले एसएलसीसम्मको पढाई पुरा गरिन । कैलाली बहुमुखी क्याम्पसमा प्रमाण पत्रमा भर्ना भईन । त्यहीबाट स्नातक तहसम्मको पढाई पुरा गरिन । रत्न राज्यबाट एक वर्षे बीएड गरिन । पदमकन्या क्याम्पसबाट प्रथम श्रेणीमा २०१० मा ग्रामिण विकासमा मास्टर्स गरिन । त्यसअघि २००४ मै कुमाउ युनिभर्सिटी समाजशास्त्रमा मास्टर्स गरिसकेकी थिईन
पढाई, जागीर अनि अवसरका लागि उनी ‘मुभ’ भईरहन । शिक्षकबाट शुरु भएको जागीरे जीवनले उनलाई डो¥याउदै काठमाण्डौं पु¥यायो । र, डीभीले अमेरिका ।
आत्महत्याको मोडबाट फर्किएको जीवन
उनका पति नेपाली सेनामा कार्यरत थिए । सरुवा भएर कहिले कता पुग्थे ? कहिले कता ? मुलुकमा माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । लडाईमा सेना र माओवादी तर्फ भईरहने क्षतिका समाचारले उनी आतिन्थिन ।
दुई सन्तानलाई हुर्काउदै उनी शिक्षकको जागीर पनि खाईरहेकी थिइन । पेट दुख्ने समस्याले उनी आजित भईन । त्यही दुखाईले उनलाई लाग्थ्यो, अव धेरै बाँच्दिन होला ।
उनले दुखाई सहेर बाँच्नुभन्दा पाशो लगाएर आत्महत्या गर्ने सोचिन । र, पति रामलाई पत्रलाई पठाईन । पत्रमा लेखिदिईन, म आत्महत्या गर्दैछु । म मरेपछि समयमै अर्को बिहा गर्नु । र, छोराहरुलाई राम्रोसंग हुर्काउनु ।
उनी थाहै नपाई डिप्रेशनमा गइसकेकी थिईन । उनका पति त्यो पत्र पढेपछि पुगे, धनगढी । अनि उनलाई उपचारका लागि लिएर गए, लखनऊ । लखनउ मेडिकल कलेजका डा. मामचन्द्र अग्रवालले जव उनको पेट दुखाईको कुरा सुने । र, पढे, उनको अनुहार । तव भनिदिए, समस्या पेटमा होईन । दिमागमा छ ।
डा. अग्रवालले उनलाई यति सरल र मिठो तरिकाले भनिदिए, तिमी ठिक छौ ।
चिकित्सकको मिठो व्यवहार बिरामीका लागि अचुक औषधी हो । एन्टीबायटिकले निको हुन नसकेको दुखाई चिकित्सकको मिठो बोलीको मल्हमले छु मन्तर गरिदिन्छ । उनको हकमा पनि त्यही भयो ।
फर्किदै गर्दा डाक्टरले उनलाई केही सुरुवाल, कुर्ता र सल नपहिरिन सुझ्याए । आवेगमा कही आत्महत्या गर्ने भाव आए उनले सललाई पाशोको रुपमा प्रयोग नगरुन भन्ने मनशायले डाक्टरले यस्तो सुझाव दिएका थिए । धनगढी फर्किएपछि उनले केही समय मेक्सीको मात्र प्रयोग गरिन ।
समय बित्दै गयो । उनी मानसिक रुपमा बलियो हुदै गईन । कुनै दिन बाँच्ने चाहना त्यागेर झण्डै आत्महत्याको बाटो रोजेकी उनी त्यसपछि अरुलाई बाँच्न प्रेरित गर्न थालिन । बिभिन्न कारणले मानसिक समस्यासंग जुधिरहेका महिलाहरुमा आशा जगाईरहिन ।
उनी बिहान पढ्न कलेज जान्थिन । र, दिउँसो पढाउन विद्यालय जान्थिन । एकसाथ उनी विद्यार्थी र शिक्षकको भूमिकामा थिईन । स्नातक पढ्दै गर्दा उनको महेन्द्रनगरका रामदत्त जोशीसंग बिबाह भयो । त्यसपछि थपियो, पत्नीको भूमिका । त्यसपछि थपिए दुई सन्तान । अनि आमाको भूमिका पनि निभाउन थालिन । पञ्चोदय माध्यमिक विद्यालयमा २०४५ देखि २०६० सालसम्म अंग्रेजी र सामाजिक शिक्षा पढाईन ।
परिवार नियोजनमा काउन्सिलरको आवदेन खुलेको थियो । त्यसमा एप्लाई गरेकी उनी जाँचमा पास भईन । पेन्सन आउन पाँच वर्ष बाँकी थियो । शिक्षकको स्थायी जागीर छोडिन । र, राजिनामा दिन काठमाण्डौं पुगिन । र, अछामको काउन्सिलरको नियुक्ति पाईन ।
एकातिर सन्तान । एकातिर पति । अकैतिर जागीर । जहाँ ईच्छा, त्यहाँ उपाय । अछामका लागि नियुक्ति पाएकी उनले साना छोराहरुलाई छोडेर जान सक्ने अवस्था नभएपछि परिवार नियोजन कार्यालय धनगढीबाटै सेवा शुरु गरिन । उनी किशोरीहरुलाई प्रजनन स्वास्थ्य र अधिकारका बारेमा जानकारी दिन्थिन । गाउँगाउँमा गएर यौन शिक्षाका बारेमा पढाउथिन । फोकस ग्रुप डिसकसनको सहजीकरण गर्थिन । यौनिकतामा विषयमा खुलेर कुरा गर्न नसक्ने समाजमा उनी निर्धक्क भएर यौन र यौनिकताका भिन्नताबारे चर्चा गर्थिन । प्रजनन स्वास्थ्यका विषयमा पढाउन हिचकिचाउने शिक्षकलाई उनी पढाउथिन्, यौन शिक्षा ।
एचआईभी एड्सको संक्रमण भयावह रुपमा फैलिदै थियो । उनी त्यसको रोकथामका लागि समाजमा सुरक्षित यौन सम्पर्कको चेतना बाड्थिन । पाठेघर खस्ने समस्याले महिलाहरु आजित थिए । उनी धेरै बच्चा नपाउन र सुत्केरी हुदा धेरै भारी नबोक्न सुझ्याउथिन । समस्या नबल्झिदै चिकित्सक कहाँ जान सल्लाह दिन्थिन । परिवार नियोजनका साधनका बारेमा चर्चा गर्न लजाउने त्यो समयमा कण्डम र पिल्सका कुरा गर्थिन । र, गर्थिन प्रजनन स्वास्थ्यका कुरा । आमाको पेटमा बच्चा कसरी आउछ ? क्रोमोजम र स्पर्मका बारेमा पढाउथिन । कपर टी । पिल्स । बाँझोपनका बारेमा बुझाउथिन् ।
थकित । गलित । अनि हताश महिलाहरुमा उनी उर्जा भर्थिन । निराश महिलाहरुमा आशा जगाउथिन । उनी महिलाको मनोदशा बुझ्थिन । अझ भन्नुपर्दा उनले काउन्सिलरको जागीर मात्र खाईनन । उनले धेरैको जीवन जोगाईन । आत्महत्याको मोडमा पुगेका महिलाहरुलाई पुनर्जीवन दिईन ।
आत्मविश्वासले बनाएको पहिचान
२००० देखि २००४ सम्म परिवार नियोजन संघ कैलाली शाखामा काउन्सिलर पदमा काम गरिन । २००४ देखि २००७ सम्म बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानमा अधिकृत काउन्सिलरको जिम्मेवारी निर्बाह गरिन । उनी २००७ देखि २०१३ सम्म नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम संयोजक थिईन । उनी कहिल्यै कुनै अन्तर्वार्तामा असफल भईनन ।
उनका पति राम नेपाली सेनामा कर्णेल थिए । सैनिक श्रीमती संघ अन्तर्गतको जनसम्पर्क समितिमा पनि काम गरिन । नेपाली सेनाले सेवा सुमन पत्रिका निकाल्थ्यो । सेवा सुमन पत्रिकाका छापिएको उनको फेसनको मनोबिज्ञान लेखले पहिलो पुरस्कार पायो । नेपाली सेना दिवसमा आयोजित समारोहमा उद्घोषकले प्रथम पुरस्कारका लागि बोलाउदा उनी छक्क परिन । नेपाली सेनाका तत्कालीन चीफ रुक्मांगत कटुवालका हातबाट प्रथम पुरस्कार पाएको त्यो दिन उनको मस्तिष्कमा अझै ताजै छ ।
दोस्रो पटक उनले अनुत्तरित प्रश्न लेखिन । तेस्रो पटक तेस्रो लिंगीका बारेमा लेखे । उनी जहिल्यै पुरस्कृत हुन्थिन । त्यसपछि भने उनी प्रतिस्पर्धामा सहभागी भईनन ।
उनी डीभी परेर २०१३ मा अमेरिका आईन । टेक्ससमा तीन महिना बसिन । जागीरसंगै देश छोड्दा नरमाईलो लागेको थियो । ग्रिन कार्ड पाएपछि नेपाल फर्किइन । एक वर्षपछि फेरि अमेरिका आईन । झण्डै दुई वर्ष बिभिन्न क्षेत्रमा काम गरिन । एकदिन द रिज बिह्यावियर हेल्थ सिष्टमको मानसिक स्वास्थ्य बिभागले खोलेको ‘भ्याकेन्सी’मा उनको नजर प¥यो । उनले एप्लाई गरिन । आत्मविश्वासका साथ अन्तर्वार्ता दिईन । त्यही आत्मविश्वासले उनलाई जागीर दिलायो ।
भाषागत कठिनाईले शुरुका केही दिनमा काम गर्न असहज भयो । तर कामप्रतिको लगाव, उनको व्यवहारले छोटो उनी सबैको प्रिय बनिन । सबैले सहयोग गरे । मृत्युलाई पछि छोडेर जिउने कला सिकेकी उनका लागि भाषागत समस्या ठूलो कुरा थिएन ।
एउटा महिला अघि बढ्न परिवारको साथ, सहयोग र प्रोत्साहन आवश्यक छ । उनी भन्छन्, जुन कुरा बिबाहअघि माईतीबाट र बिबाहपछि मेरो पति राम र छोरा बुहारीहरुबाट पाए ।
जीवन जिउने कला
जीवनप्रतिको उनको धारणा छ, स्वस्थ रहनु । खुशी हुनु । सन्तुष्ट हुनु । आनन्दको जीवनलाई आनन्दमय बनाउनु ।
फुड र मुडको सम्बन्ध गजवको हुन्छ । त्यसैले तिम्रो मुड के खाए हेप्पी हुन्छ, त्यही खानु । माईन्डफुल ईटिङ । माईन्डफुल टकिङ । प्रसन्न मुद्रामा खाना खाने । प्रसन्न मुद्रामा कुरा गर्ने । माईन्डफुल वेकिङ अर्थात प्रसन्न मुद्रामा व्युँझिने । जीवनका लागि यी अत्यन्त उपयोगी कुरा हुन् । बिहान व्युँझिने बित्तिकै सम्झिने, आजको दिन म सुन्दर बनाउनेछु । म एक्लो छैन । भगवान मसंग छन् ।
भगवान बुद्ध भन्छन्, जीवन सुखी हुन सम्यक स्वीकृति अपरिहार्य छ । आफ्नो नियन्त्रण नभएको कुरालाई स्वीकार गर । र, तिम्रो बारेमा कसले के सोच्छन्, त्यसमा दुःख नहोउ । अरुले कसरी सोच्छन्, त्यो उसको कुरा हो, जो तिम्रो नियन्त्रणमा छैन । तिमीले के सोच्छौ, त्यो तिम्रो नियन्त्रणमा छ । त्यसैले आफू कसरी खुशी हुने त्यो सोच । र, हर स्वासमा आनन्द लेउ । हर पलको आनन्द लेउ । हरपलाई उत्सवमय मनाउ ।
‘सेल्फ कम्प्यासेन’ अर्को जरुरी कुरा हो । आफूसंग कुरा गर्ने । सेल्फ कन्भरसेसन त झनै आवश्यक छ । आफैसंग संवाद गर्ने । सम्यक वाणी त अझै सबैभन्दा बढि उपयोगी छ । बोलीमा नियन्त्रण गर्न सके आधा समस्या त्यसै समाधान हुन्छन । त्यसैले बोलीमा नियन्त्रण गर ।
आफूलाई जस्तै अरुलाई व्यवहार गर । जुन व्यबहार अरुले गर्दा तिमीलाई मन पर्दैन, त्यो व्यवहार अरुलाई नगर ।
भन्छिन्, ‘ईन्लाईमेण्ट’ बुद्धलाई मात्र हुदैन । हामी सबैलाई हुन्छ । त्यो तर त्यो ‘वेभ’लाई क्याप्चर गर्न सक्दैनौ । अर्काको प्रेममा पर्ने, आफूलाई प्रेम नगर्ने ? उनले जुन दिन आफैलाई प्रश्न गरिन, हु एम आई ? ओशो प्रज्ञामा गएको दिनदेखि उनको सोच्ने तरिका बदलियो । श्री श्री रविशंकरको प्रबचनबाट जीवन जिउने कला सिकिन ।
जीवन कति अनिश्चित छ ? कतिखेर जाने हो, सास ? उनी नोष्टाल्जिक हुन्छन । फेरि सोच्छिन्, जो स्थायी होईन, त्यो गुम्ने भयमा किन बाँच्नु ? जति दिन बाँच्ने आनन्दपूर्वक बाँच्ने ?
पैसाका पछाडि दगुरेर मान्छेले पहिले मनको शान्ति गुमायो । त्यसपछि निन्द्रा । अनि संवेदना । भावना । र, भातृत्व । र, उनी त्यतिबेला आवश्यक पर्ने चिज ठान्छिन्, ध्यान ।
यस्तो लाग्छ, मेरो अगाडि ओशो छन् । र, म ओशोको धाराप्रवाह प्रबचन सुनिरहेको छु । उनी ओशोको कुरा गर्दा ओशो भईदिन्छन । जे काम गर्छिन्, त्यसैमा डुब्छिन । उनी सुख खोज्न भौतारिरहेकाहरुलाई सल्लाह दिन्छिन्, सुख खोजेर मिल्ने चिज होईन् । त्यो त तिमीसंगै छ । पहिले अरुलाई होईन, आफूलाई प्रेम गर । अरुलाई होईन, आफैलाई ‘हग’ गर । र, गर आफ्नै तारिफ । र, भन, म आजको दिन सुन्दर बनाउनेछु । हरपल सदुपयोग गर्नेछु, विशेष ढंगले । र, बाँच्नेछु सुन्दर जीवन ।
अमेरिकामा कतिपय मान्छेलाई पैसा बाहेक केही कुरासंग सरोकार छैन । भावना, सम्बन्ध र समाज, भातृत्वलाई सर्बोपरी ठान्नेहरु यही छन् । र त, घण्टा कुरेर कमाएको त्यही पूँजीको लोभ नगरी सामाजिक कार्यमा लगानी गर्नेहरु पनि छन् । उनी तिनै अपवाद मध्ये पर्छिन । त्यसैले त काम गरेर बचेको समय सामाजिक कार्यमा दिन पछि पर्दिनन । सुदूर पश्चिम समाज केन्टुकी च्याप्टरको सल्लाहकार रहेकी उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्टुकी च्याप्टरको उपाध्यक्षको भूमिकामा पनि कार्यरत छन् । त्यस्तै उनी गैर आवासीय नेपाली संघ(एनआरएनए) केन्टुकी च्याप्टरको उपाध्यक्ष र अन्तर्राष्ट्रिय कलाकार संघ केन्टुकी च्याप्टरको सल्लाहकारको भूमिकामा पनि सक्रिय छन् ।
पञ्चोदयमा उनले पढाएका विद्यार्थीहरु धनगढीमा मात्र नभएर संसारका बिभिन्न देशमा बिभिन्न बिधा र क्षेत्रको नेतृत्वदायी भूमिकामा छन् । म्याडम तपाईले मलाई पढाउनुभएको नि भनेर विद्यार्थीहरुले भन्दा उनी फुरुङ्ग हुन्छिन । संसारका जुनसुकै कुनामा पुगेपनि विद्यार्थीहरुले उनलाई सम्झिन्छन । उनले कमाएका पूँजी त्यही हो ।
जीवनका लागि के आवश्यक ? पैसा वा शान्ति ? धेरैको रेडिमेड जवाफ हुन्छ– पैसा । यसमा उनको फरक मत छ । भन्छिन्, जीवनका लागि शान्ति अपरिहार्य छ ।
त्यसो हो भने देश छोडेर अमेरिका किन हिडेको ? जरुरी छैन, आफूले जिउने जीवनका बारेमा अरुले गर्ने प्रश्नहरुको जवाफ दिईरहनु परोस । उनी प्रश्नमा अल्झिईनन । बस्, आफ्नो बाटो हिडिन् । र, बनाईन एउटा अलग पहिचान ।
तपाईको प्रतिक्रिया