डोटीमा मतदानका लागि १५ कर्मचारी पठाइयाे

बिहीबार मङ्सिर १३, २०८१/ Thursday 11-28-24
Paschim Today

डोटी ।  मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले १५ कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएको छ ।

मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधिश रुद्रमणी गिरीले दिएको जानकारी अनुसार बिहिवार कर्मचारीहरुलाई आवश्यक सामग्रीसहित मतदान केन्द्रका लागि खटाइएको हो ।

‘प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले तीन केन्द्रमा १५ जना कर्मचारी खटाएका छौं’ मुख्य निर्वाचन अधिकृत गिरीले भने ‘उहाँहरुले मत पत्रसहित अन्य आवश्यक सामग्री बुझेर गइसक्नु भएको छ ।’ प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी दुई र सहयोगी एक जना खटाईएको गिरीले बताए ।

पूर्वीचौकी गाउँपालिकाको वडा नं. ६ को वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि दुई मतदान स्थलमा तीन मतदान केन्द्र तोकिएको छ ।

शिशु सुधार मावि मतदान स्थलमा “क” र “ख” गरी दुई मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिए । यि दुवै मतदान केन्द्रमा गरी एक हजार चार सय ६ मतदाता रहेका छन् । यस्तै, शारदा आधारभूत बिद्यालय बासकोट केन्द्रमा एक सय ८७ जनाले मतदान गर्नेछन् ।

निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाईएको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । ‘जिल्ला सुरक्षा समितिको बैठकबाट निर्वाचन सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएका छौं’ प्रमुख जिल्ला अधिकारी जोशीले भने ‘निर्वाचन आयोगले तोकेका निर्वाचनसंग सम्वन्धित सवै कामहरुमा सुरक्षाको उचित प्रवन्ध गरिएको छ ।’

उनले मतदानको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करीव एक सय जना सुरक्षाकर्मी परिचालन हुने वताए । सुरक्षा व्यवस्था कडा पारिएको वताउँदै जोशीले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

वडाध्यक्ष पदका लागि कांग्रसका मोहन थापा, एमालेका देवहादुर थापा, माओवादीका देवीलाल थापा र रास्वपाका जानकी खड्का कुँवर गरी चार जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।