प्रहरीले लगायो नरेशमाथि पत्नी ममताको हत्या अभियोग
भर्जिनिया, १९ मंसिर । ममता काफ्ले बेपत्ता भएको १२५ औं दिनपछि उनका पति नरेश भट्टलाई प्रहरीले हत्याको अभियोग लगाएको छ । यसअघि शव लुकाएको आरोपमा अगस्त २२ मा पक्राउ परेका नरेशमाथि हत्याको अभियोग लाग्ने वा नलाग्ने अन्यौल थियो । उनले ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको ईन्कारी बयानीपछि ममताको हत्याको आरोपबाट जोगिदै आएका नरेश चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । प्रहरीले हत्याको अभियोगपछि लगाएपछि भने अव हिरासतमुक्त हुने संभावना समाप्त भएको छ ।
२९ जुलाई (साउन १६ गते) अमेरिकाको भर्जिनियाको मनसासस्थित घरबाट बेपत्ता भएकी काफ्लेको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई गत सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो ।
मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलनमा सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिए ।
उनको शव अझै फेला परेको छैन । शव फेला नपरेपनि ममताका पति नरेशमाथि हत्याको अभियोग लगाईएको हो ।
नरेश भट्टलाई सोमबार बिहान प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले नरेशमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुई वटा आरोपमा अभियोग लगाएको छ ।
प्रहरीले शयनकक्षमा हत्या गरिएकी ममताको शवलाई बाथरुममा तानेको आशंका गरेको छ । ममताको हत्या २९ जुलाईको राती र ३० जुलाईको बिहानको बीचमा भएको प्रहरीको अनुमान छ । हत्यापछि ममताको शव टुक्रा टुक्रा पारिएको प्रहरीको आशंका छ। बाथरुममा फेला परेको रगत ममताको डिएनएसंग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो ।
३० जुलाईमा नरेश भट्टले स्यानटिलीको वालमार्टबाट तीनवटा चक्कुहरू खरीद गरेका थिए । जसमध्ये दुईवटा फेला परेनन। चक्कु खरीद गरेको भोलिपल्ट उनले अर्को वालमार्टबाट सफाई आपूर्तिहरू खरिद गरेका थिए । अभियोजनकर्ताहरुले त्यही आधारमा नरेशले ममता हत्यापछि उनको शरीरको टुक्रा टुक्रा बनाएर फालेको आशंका गरेका थिए ।
त्यस्तै अप्रिलमा नरेशले आफ्नो ल्पापटपमा श्रीमती मरेपछि बिबाह गर्न लाग्ने समय र श्रीमतीको ऋणका बारेमा गुगलमा खोजी गरेका थिए ।
को हुन् नरेश भट्ट ?
कञ्चनपुरको बेल्डाडीका नरेश भट्ट मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) को काम गर्थे । सोहीक्रममा २०६९ सालमा धनगढीमा सेती प्रादेशिक अस्पताल अगाडि हरी गौतमसंग मिलेर नमूना मेडिकल हल सञ्चालनमा ल्याए । २०७० सालमा हरी गौतम डिभी परेर अमेरिका गए । त्यतिबेलासम्म स्वर्गदारी र नमूना मेडिकल हल छुट्टाछुट्टै सञ्चालनमा थिए । तर दुईटै पसलको ल्याव एउटै थियो ।
गौतम अमेरिका गएपछि नरेशले त्यसपछि टेक बहादुर साउँद र सुरेश पुरी मिलेर संयुक्त रुपमा जनता स्वर्गद्धारी क्लिनिक सञ्चालन गरे । त्यसैबीच उनलाई सात लाख रुपैया घोटाला गरेको आरोप लाग्यो । र, उनले त्यो रकम तिरे । त्यसको एक वर्षपछि २०७२ मा डिभी परेर नरेश अमेरिका गए ।
उनी अमेरिका पुगेपछि त्यहाँको सेनामा भर्ना भए । केही वर्ष अमेरिकी सेनामा रहेर काम गरे । तीन वर्षअघि काभ्रेकी ममता काफ्लेसंग बिबाह गरे । बिबाह गरेको केही समयपछि नै उनीहरुबीच खट्पट शुरु भएको बताईन्छ । त्यहीक्रममा नरेशले ममताको हत्या गरेको बताईएको छ । उनीहरुकी एक वर्षीया छोरी छन् ।
तपाईको प्रतिक्रिया