एनआरएनए यूके निर्वाचनको प्रमुख आयुक्तमा सिम्खडा, निर्वाचन कहिले ?
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने निर्णय गरिएको छ। उक्त बैठकले संघको नियमित र महत्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ आगामी मार्च २ तारिख, आइतबार, अल्डरशटमा आयोजना गरिने सर्बसम्मत निर्णय गरेको हो ।
उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहने छ। काउन्सिल बैठकको आयोजना गर्नका लागि उपाध्यक्ष लिलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। बैठकको अध्यक्षता एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गले गरेका थिए।
बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिमखडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नुको साथै संघको आगामी गतिविधिहरुको बारेमा जानकारी दिँदै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई निर्वाधरुपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको समेत बताए ।
उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरु नियमित कार्यक्रमहरू अघि बढाउन अनुरोध गरे।
एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङ्गले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताएका थिए र एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरेका थिए।
बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। नबिकरण प्रकृयालाई सरलिकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागी अनुरोध गर्ने समेत निर्णय गरेको छ । यसैगरी, एनआरएनए यूकेको आगामी निर्वाचन १२ जुलाई २०२५ मा केन्द्रीय एमआईएस प्रणालीको प्रयोग गरेर अनलाइन मार्फत सदस्यता बितरण र निर्वाचन गर्ने सर्बसम्मत निर्णय समेत बैठकले गरेको छ। साथै बैठकले सर्बसम्मतिले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ।
तपाईको प्रतिक्रिया