बालीमा सीता हरण
दीर्घराज उपाध्याय ।
ईण्डोनेशियाको हिन्दु बाहुल्य टापु बाली । र, त्यही बालीको समून्द्र किनारमा फैलिएको सुन्दर उलुवातु । सूर्यास्तको मनमोहक दृष्यसंगै समून्द्रमा ठडिएको पहाडसंग पौठाजोरी खेल्दै ठोक्किने समून्द्रका छालहरु जति जोरले गर्जिदै आउछन्, पहाडसंग ठोक्किएपछि निमेषमै शान्त हुन्छन् । हराउछन् । यो प्रकृया रोकिदैन । निरन्तर चलिरहन्छ ।
योसंगै उलुवातुको पहाडमा हरेक साँझ एउटा अर्को प्रकृया पनि चल्छ, रामायणको ।
बालीका धेरै धार्मिक स्थलमध्ये एक हो, उलुवातु । उलुवातुमा रामायण हेर्नकै लागि पर्यटकहरु ओईरिन्छन् । उलुवातु मन्दिर प्रबेशका लागि लुङ्गी लगाउनै पर्छ । हुन त बालीमा रहेका अन्य मन्दिरहरुमा पनि महिला पुरुष सबैलाई लुङ्गी लगाउन अनिवार्य गरिएको छ ।
समुन्द्रको किनारमा अवस्थित उलुवातु मन्दिर हिन्दु धर्मको अवशेष हो । हजारौ वर्ष पुरानो उलुवातु मन्दिरमा हिन्दु धर्मको ईतिहास हेर्न र पढ्न पाईन्छ । त्यही ईतिहास हेर्न र पढ्न विदेशीहरु पुग्छन ।
हरेक दिन साँझ उलुवातुमा रामायण देखाईन्छ । सीता स्वयम्बर । राम–सीता बिबाह । राम राज्य । राम–सीता र लक्ष्मणको वनवास । राम र लक्ष्मणको अनुपस्थितिमा सीता हरणको दुस्प्रयास रोक्न जटायुद्धारा प्रतिरोध । रावणद्धारा जटायुको बध । सीताको अनुपस्थितिमा शोकमा राम । सीताको हालखवर बुझ्न हनुमानको लंका प्रबेश । हनुमान र सीताको भेट । दुबैबीच भलाकुसारी । हनुमानद्धारा लंका दहन । लंका दहनपछि हनुमान फिर्ता । हनुमानद्धारा सीताको अवस्था रामलाई जानकारी । र बानर सेनाको सहयोगमा राम–रावण युद्ध । रावण बध । सीता मुक्त । राम –सीता मिलन । असत्यमाथि सत्यको बिजय । सत्यको जीत । असत्यको पराजय ।
स्थानीय कलाकारहरुले रामायणको यो कथा जीवन्त रुपमा प्रस्तुत गर्दा दर्शकहरुलाई एक घण्टा बितेको पत्तै हुदैन ।
नेपाल भन्दा करीव ६ हजार किमी टाढा टापुको देशमा रहेका हिन्दु धर्मावलम्बीहरुको मस्तिष्कमा पनि रावण उस्तै छन् । हिंस्रक । व्यभिचारी । बडेमानको शरीर । ठूला जुंगा । १० वटा टाउका । अट्टहास । डरलाग्दो हासो । र, सीताको कल्पना पनि फरक छैन । सुन्दर । सुशिल । सालिन । दरवारको सुख सुबिधा त्यागेर पति रामसंगै वनवास । रामकी अति प्रिय ।
राम पनि उस्तै छन् । मान्छेको भेषमा जन्म लिएका विष्णुका अवतार । तर कुनै घमण्ड छैन । कुनै मोह छैन । सरल छन् । रावण बधका लागि मायावी वा दैवी शक्तिको प्रयोग गर्दैनन । धनुष र वाणकै प्रयोग गरेर रावण बध गर्छन ।
हनुमानको परिकल्पना रामायणको कथा भन्दा फरक छैन । सीता रामका अनन्य भक्त । रामको पत्नी बियोग देख्न नसकेर सीताको हाल बुझ्न लंका पुग्छन । रावणलाई चुनौती दिन्छन । लंका दहन गरेर फर्किन्छन ।
व्यक्त गर्ने भाषा मात्रा फरक छ । हामी नेपालीमा व्यक्त गर्छौ, उनीहरु ईन्डोनेशियाको भाषामा । फरक यत्ति छ ।
ईन्डोनेशिया र नेपाल जोड्ने सेतुहरु
ईन्डोनेशिया टापुहरुको देश हो । साना ठूला गरी १८३०७ टापु छन्, ईन्डोनेशियामा । एउटा उपमा र बिशेषणले ईन्डोनेशियाको परिचय पर्याप्त हुदैन । जनसंख्याका हिसावले विश्वकै चौथो ठूलो देश ईन्डोनेशिया सबैभन्दा ठूलो मुस्लिम बाहुल्य देश पनि हो । २५ करोड ६३ लाख ३३ हजार ६ सय २८ जनसंख्या छ,यहाँको । विश्वको कुलजनसंख्याको ३.५ प्रतिशत जनसंख्या ईन्डोनेशियामा बसोबास गर्छ ।
नेपालबाट करीव ६१४० किमी दूरीमा छ, ईन्डोनेशिया । समून्द्रले घेरिएको ईन्डोनेशिया र पहाडको देश नेपालका बीचमा केही त्यस्ता समान कुरा छन्, जसलाई जोड्न सके दुई देश बीचको सम्बन्ध त मजबुत हुने छ नै । त्यसले नेपालको धार्मिक पर्यटन प्रबद्र्धनमा समेत ठूलो टेवा पुग्ने निश्चित छ । त्यो हो, धार्मिक समानता ।
विश्वकै सबैभन्दा ठूलो मुस्लिम देशको एउटा टापु पुरै हिन्दु बाहुल्य छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । हो, ईन्डोनेशियाको एउटा टापुका अधिकांश बासिन्दा हिन्दु धर्मावलम्बी छन् । त्यति मात्र होईन, त्यो टापुको नाम नै रामायणको एउटा पात्रको नामबाट राखिएको छ । त्यो टापु हो, बाली ।
ईन्डोनेशियाको बाली त्यस्तो टापु हो, जहाँ ८५ प्रतिशत हिन्दु छन् । २०१४ को जनवरीमा बालीको जनसंख्या ४२ लाख २५ हजार जनसंख्या रहेकोमा ८४ दशमलव ५ प्रतिशत जनसंख्या हिन्दुको रहेको छ । मुस्लिम १२ प्रतिशत छन् ।
बालीको परिचय त्यतिमा सिमित हुदैन । बालीको आकर्षण नै रामायण हो । बालीमा रामायण हेर्नकै लागि लाखौ बिदेशी पर्यटकहरु ओईरन्छन । चौक, पसल, मलहरुमा रामायणका पात्रहरु, राम, सीता, महाभारतका पात्रहरु अर्जुन, कृष्ण लगायतका साना तथा ठूला मूर्तिहरु कलात्मक ढंगले बनाएर सजाईएका छन् ।
जकार्ता र बालीका चौकहरुमा कृष्णले बायुपंखी घोडाहरुको रथ हाक्दै गरेको र अर्जुनले गाण्डिब चलाउदै गरेको महाभारत युद्धका झलकहरु पनि हेर्न पाईन्छ, बिशाल मूर्तिहरुमा ।
जकार्ता भन्दा करीव दुई घण्टाको हवाई यात्रामा पुग्न सकिने बाली विश्वकै अनुपम र सुन्दर पर्यटकीय शहर हो । हिन्दु धर्म यसको गहना हो । हिन्दु संस्कृति र सभ्यता यसका अवयवहरु हुन् । आकर्षण हुन् ।
चारैतिर समुन्द्रले घेरिएको बालीका समुन्द्री तटहरु जति लोभलाग्दा छन्, त्यत्तिकै लोभलाग्दो र हेरीरहु लाग्ने हिन्दु सभ्यता छ, यहाँको । हिन्दु सभ्यता र मनमोहक समुन्द्री तटहरुसंगै पर्यटकहरुलाई आकर्षण गर्ने अर्को चिज छ बालीमा । त्यो हो, बालीको जीवन शैली । बाली सुत्दैन । जति रात छिप्पिदै जान्छ, बाली त्यति नै जाग्दै जान्छ । विदेशीहरुका लागि बालीको रात्री जीवन आकर्षण गर्ने धेरै कुरा मध्येको एक हो ।
बाली बम काण्डको त्रास र भय बिर्सिसकेका छन्, विदेशी पर्यटकहरुले । अलकायदा सम्बद्ध आतंकवादी संगठनले ११ अक्टोबर २००२ मा गराएको श्रृंखलाबद्ध बम विष्फोटनमा २०२ जनाले ज्यान गुमाएको घट्ना युग पुरानो लाग्छ । र त कुनै भय र त्रास बिना उन्मुक्त भएर रमाउछन्, बालीमा विदेशीहरु ।
दशौ किमीसम्म फैलिएको कुता बीचको तटमा लहरै राखिएका छाता र त्यसकै मुन्तिर आरामदायी कुर्सीमा लमतन्न परेर सुतेका विदेशीहरु देख्दा यस्तो लाग्छ, उनीहरु उन्मुक्त भएर सुत्न चाहन्छन, निदाउन चाहन्छन, समून्द्री छालहरुको सुस्साहटसंगै । कुनै भय छैन । त्रास छैन । छैन, कुनै हतार । निस्फ्रिक्रि र निर्धक्क भएर रमाईलो गरिरहेका, सुतिरहेका, खेलिरहेका, कुदीरहेका पर्यटकहरुको गतिबिधि हेर्न लायक हुन्छ । कसैलाई कसैको परवाह छैन । नाम मात्रका लुगा छन्,शरीरमा । न कसैले छिछि भनेको छ । न कसैले आँखा चिम्लिएको । मान्छे स्वतन्त्र मात्र होईन स्वच्छन्द छ । उ पैसा तिरे आकाशमा उड्न पाउछ । प्यारासाईक्लिङ गर्छ । पैसा तिरे स्कुवा डाईभिङ गर्छ । गोताखोर झै समुन्द्र मुन्तिर अक्सिजन पिठ्युमा राखेर माछासंग लुकामारी खेल्न । बनाना डाईभिङ । मोटरबोट । पैसा तिर्ने । चढ्ने ।
प्यारासाईक्लिङ गरेको कति ? जवाफ आउछ – तीन लाख । स्कुवा डाईभिङको चाही कति नि ? प्रत्युत्तर अर्को–६ लाख ? होईन अलिकति मिलाउन सकिन्न ? हासेर जवाफ आउछ–अरुलाई नभन्नुनी । तपाईलाई मिलाएरै भनेको । उ त्यो मान्छे छ नि । त्यसले सात लाख तिरेको छ ।
ईन्डोनेशियामा लाखको कुरा सुन्दा तर्सिनु भने पर्दैन । एक हजार सम्म रुपैयाको सिक्का चल्ने ईन्डोनेशियामा मिनरल वाटर किन्नु परे २० हजार रुपैया चाहिन्छ । नास्ता खानु परे लाख रुपैयाले पुग्दैन । २० हजार, ५० हजार, १ लाखका नोट सबैभन्दा बढि चल्तीमा छन् ।
सपिङ मलहरुमा सामान्य टिसर्ट किन्नु परे पनि डेढ लाख रुपैया पर्छ । सामान हेरी हेरी मूल्य पर्छ । ठूला मलहरुमा सपिङहरुमा जादा १० लाख भन्दा घटिको काम छैन ।
कतिपय ईन्डानेशियालीहरुलाई नेपालका बारेमा थाहसम्म छैन । नेपाल भन्ने देश छ र । नेपालीहरुको अनुहार पनि भारतीयसंग मिल्ने भएकोले उनीहरुले नेपालीहरुलाई भारतीय नै ठान्छन । स्थानीय भारतीयहरुसंग त्यति धेरै नजिक नभएपनि घुम्नका लागि त्यहाँ पुगेका भारतीयमूलका पर्यटकप्रति उनीहरु निकै नरम र सकारात्मक हुन्छन । पहिलो कारण भारतीयहरु हिन्दु हुने कुरामा बढि विश्वास गर्छन । अर्को ईन्डोनेशियामा भारतीय फिल्मको प्रभाव निकै छ । ठूलो हिस्सा शाहरुखको फ्यान छ । फिल्मका कुरा गर्दा उनीहरु शाहरुखको नाम लिन बिर्सिदैनन । तुम पास आए बोलको गीत गाउन छुटाउदैन । शाहरुख खान भने पछि हुरुक्क हुन्छन, ईन्डोनेशियालीहरु ।
धेरै ईण्डोनेशियालीलाई त नेपालका बारेमा थाह नै छैन, २१ वर्षदेखि ईन्डोनेशियामा काम गर्दै आएका ईञ्जिनियर टंक पन्त भन्छन्, थाह पाएकाहरु नेपाल भनेपछि हुरुक्क हुन्छन । उनीहरु मध्ये कतिपयले नेपाललाई हिन्दुको देश त कतिपयले बुद्धको देश भनेर चिन्छन । यसरी थाह पाउनेहरु जनकपुर र लुम्बिनीको माटो ल्याईदिनु प¥यो भनेर निकै मरीहत्ते गर्छन ।
ईन्डोनेशियामा तेस्रो ठूलो जनसंख्या बौद्धमार्गीहरुको छ । चिनियामुलका बौद्धमार्गीहरु लुम्बिनी भनेपछि हुरुक्क छन् । ईन्डोनिशयाको व्यापारमा ठूलो पकड जमाएका उनीहरु घुम्न रुचाउछन् । पन्त भन्छन्,उनीहरुलाई बुद्धभूमि लुम्बिनीसंग जोड्न सके नेपालको अर्थतन्त्रमा त्यसले ठूलो योगदान पु¥याउने छ ।
चीनभन्दा सस्तो र गुणस्तरीय सामानहरु उत्पादन हुन्छ, ईन्डोनेशियामा । जुत्ता र कपडा लगायतका सामानहरु । व्यापारिक सम्बन्ध पनि कायम गर्न सकिन्छ, ईन्डोनेशियासंग । तर द्धिपक्षीय कुटनैतिक सम्बन्ध स्थापित हुन सकेको छैन ।
भीसा प्रकृया अझै झञ्झटिलो छ । त्यस कारण दुबै देशका बासिन्दालाई आवागमनमा कठिनाई भएको छ, आठ वर्ष ईण्डोनेशियामा लायन एयर उडाएका क्याप्टेन बेद उप्रेती भन्छन्, आवागमन सहज भएमा नेपाल घुम्ने ईन्डोनेशियालीहरुको संख्या वर्षेनी लाखौमा हुनेछ ।
ईन्डोनेशियालीहरुका हातमा पैसा छ । र उनीहरु घुम्न सौखिन छन्, क्याप्टेन उप्रेती भन्छन्,हामीसंग उनीहरुलाई आकर्षण गर्ने हिन्दु र बौद्ध धर्मका प्रसिद्ध धार्मिक स्थल छन् । थप कुरा नेपालको भ्रमण र बसाई विश्वका अन्य मुलुक भन्दा सस्तो त छ नै । ईन्डोनेशिया भन्दा झन सस्तो छ । यसकारण पनि उनीहरु नेपाल घुम्न आकर्षित हुनेछन् ।
पूजा नगरी उनीहरुको कुनै कार्य शुरु हुदैन । बिहानै मन्दिर,चौक, पसलहरुमा पूजा गरिरहेका भेटिन्छन् । पूजाको प्रसाद ठूला सपिङ मलका सबै काउण्टहरहरु देखि साना पसलहरुमा राखेको पाईन्छ ।
केराको पातको दुनामा राखिएका फूल, मिठाई, अगरबत्ती र सुगन्धित सामग्रीको मगमग बास्ना आईरहन्छ, चौक, पसल अनि मन्दिरहरुमा । ईन्डोनेशियामा हिन्दुहरुले दिनमा तीन पटक पूजा गर्छन ।
ईन्डोनेशियाली हिन्दुहरु राम र सीतालाई निकै श्रद्धा गर्छन । राम लीला उनीहरुले मञ्चन नगरेको कुनै दिन हुदैन । मन्दिरमा होस वा रेष्टुरेन्टमा । विदेशीलाई आकर्षित गर्ने कुरा नै, राम लिला हो ।, उप्रेती भन्छन्, सीता जन्मिएको स्थल जनकपुरका बारेमा जानकारी दिन सके उनीहरु पक्कै जनकपुर आउनेछन् ।
समान कुराले मात्र होईन । असमान र उनीहरुसंग नभएका कुराले पनि आकर्षित गर्न सकिन्छ, नेपालमा । हामीसंग हिमाल र पहाड छ । उनीहरुसंग समून्द्र छ, उप्रेती थप्छन्,मान्छे आफूसंग जे छैन, त्यस प्रति बढि उत्सुक र आकर्षित हुन्छ । हामी उनीहरुलाई नेपालका मनोरम हिमाल र पहाड देखाएर आकर्षित गर्न सक्छौ ।
तर यी सबै कुराका लागि नेपाल सरकारसंग स्पष्ट नीति र दृष्टिकोण भने हुन आवश्यक ठान्छन्, उप्रेती । गफ गरेर मात्र पर्यटन प्रबद्र्धन हुदैन, भन्छन्, ईन्डोनेशियालाई नेपालसंग जोड्न स्पष्ट नीति र खाका हुन आवश्यक छ ।
ईन्डोनेशिया र नेपालका बीचमा कुटनीतिक सम्बन्ध सन १९६० मा शुरु भएपनि त्यसको चार वर्ष
अघि बाङडुङमा आयोजित एशिया–अफ्रिका सम्मेलन १९५५ मा नेपाल सहभागी भएर सम्बन्धको सुत्रपात भएको थियो । यद्दपि त्यो सम्बन्ध अहिलेसम्म प्रगाढ भने हुन सकेको छैन ।
बाली ईन्डोनेशियाकै सुन्दर र सुबिधा सम्पन्न टापु हो । त्यही सुन्दरता र सुबिधाका कारण वर्षेनी लाखौ पर्यटकहरु बालीमा आउछन् । अझ विश्वका ठूला ईभेन्टहरु पनि बालीमा आयोजना भईरहनुले पनि बालीको महत्व झल्काउछ । सन २०११ मा एसियन समिट भएको बालीमा सन २०१२ मा एपेक सम्मेलन भएको थियो । र सन २०१३ मा मिस वल्र्डको आयोजना भएको थियो, बालीमा । त्यसबाहेक पनि थुप्रै अन्तराष्ट्रिय सभा, सेमिनार र सम्मेलनहरु बालीमा भईरहन्छन ।
राजधानी जकार्ताबाट करीव ११५६ किमी हवाई दुरी छ, बालीको । सडक मार्गबाट करीव २३ घण्टा लाग्ने भएपनि हवाई जहाजमा यही दूरी दुई घण्टामा तय हुन्छ ।
ईन्डोनेशियामा कस्तो छ कानून ?
ईन्डोनेशिया मुस्लिम बाहुल्य देश भएपनि यो अन्य मुस्लिम देश भन्दा निकै उदार छ । ईन्डोनेशियामा जापानिज निर्माण कम्पनीमा काम गर्दै आएका ईञ्जिनियर टंक पन्त भन्छन्,मुस्लिम देश भएपनि ईन्डोनेशियाका मान्छेको जीवनशैली अमेरिकीन छ ।
यति खुला र उदार मुस्लिम बाहुल्य देश अरु छैन । जहाँ सबै कुराको छुट होस । एउटा कुरामा ईन्डोनेशिया निकै कठोर छ । त्यो हो, लागु औषध । लागु औषध ओसार पोसार र प्रयोग गर्नेको सजाय एउटै छ । मृत्यु दण्ड । यो दण्डमा ईन्डोनेशिया कसैसंग सम्झौता गर्दैन ।
केही वर्षअघि दुई जना अष्टे«लियन नागरिकलाई लागु औषधकै मुद्दामा मृत्यु दण्ड दिदा अष्टे«लिया र ईन्डोनेशियाबीचको सम्बन्धमा तिक्तता आएको थियो । अष्ट्रेलियाले आफ्ना नागरिकलाई मृत्यु दण्ड नदिएर आजिवान कारावासको सजाय दिन गरेको ईन्डोनेशियाको सरकारले स्वीकार गरेन । बरु उल्टै जवाफ दियो । हाम्रो निर्णयमा हस्तक्षेप नगर ।
प्रहरी र ट्राफिक प्रहरी भने भ्रष्ट मानिन्छ, ईन्डोनेशियाको । ट्राफिक व्यवस्थापनको काम प्रहरी वा ट्राफिक प्रहरीले गरेको पाईदैन । चुल्ठे मुन्द्रेको भरमा चलेको छ, जकार्ताको ट्राफिक व्यवस्थापनको काम । उनीहरुले ट्राफिक व्यवस्थापनको काम गरे वाफत प्राय सवारी साधनहरुबाट रकम असुल्छन ।
जकार्ताको जाम विश्वमै चर्चित छ । घण्टौसम्म सवारी साधनहरु जाममा फस्छन् । अझ कार्यालय समय र साँझको समयमा त गाडीमा चढेर जानुभन्दा पैदल जादा गन्तव्यमा चाडो पुग्न सकिन्छ । त्यसैले १० बजे कार्यालय पुग्नका लागि ३ घण्टा पहिले नै घरबाट निस्कि सक्छन, कर्मचारीहरु ।
प्रहरीका बारेमा स्वयम ईन्डोनेशियालीहरु सकारात्मक देखिन्नन । अझ बिदेशीहरु त सामान्य समस्यया पर्दा प्रहरीको सम्पर्कमा जानै चाहन्नन । प्रहरी कहाँ जादा उल्टै पैसा असुल्ने डरले सकभर जानु नपरोस भन्ने चाहन्छन, सर्वसाधारण र विदेशी ।
ईन्डोनेशियाका घुम्न लायक ठाऊहरु
ईन्डोनेशिया पर्यटकका लागि निकै महत्वपूर्ण देश । यहाँ सयौ यस्ता ठाऊहरु छन्, जो मनमोहक छन्, मनोरम छन् । सुन्दर र अनुपम छन् ।
हिन्दु संस्कृति र सभ्यता यहाँको मुख्य आकर्षण हो । बालीको उलुवातुमा रामायण हेर्नका लागि दैनिक हजारौ पर्यटक पुग्छन । उलुवातु मन्दिर प्रबेश गर्न लुङ्गी लगाउनु अनिवार्य गरिएको छ । समन्द्रको किनारमा उभिएको पहाडमा फैलिएको हजारौ वर्ष पुरानो उलुवातु मन्दिरका हरेक चिज ऐतिहासिक छन् । लोभलाग्दा छन् । आकर्षक छन् । उलुवातुमा हरेक दिन साँझ रामायण देखाईन्छ । एकघण्टा रामायण हेर्नकालागि तीन लाख रुपैयाको टिकट काट्नुपर्छ । मन्दिर क्षेत्रमा प्रबेशका लागि भने छुट्टै शुल्क लिने गरिएको छ ।
लोभिना तटमा डल्फिन हेर्नेको भीड लाग्छ । किन्तामणी लेक कम मनमोहक छैन । वाटर स्पोर्टसका लागि तान्जुङ बिनुआका चर्चित छ । गिली टापु आफैमा अन्ति सुन्दर टापु हो ।
जिम्बारन तट सी फुडको लागि ख्याती कमाएको ठाँउ हो । साँझपख पर्यटकहरु खचाखच भरिन्छन, तटमा रहेका खुला रेस्टुरेन्टहरुमा । बत्तिको उज्यालो । समुन्द्रका छालहरुको सुस्साहट । र स्थानीय कलाकारहरुद्धारा देखाईने रामायणसंगै सी फुडको स्वादले पेट र मन दुबै भरिन्छ । यद्दपि शाकाहारीका लागि भने त्यो रमाईलो पनि खल्लो हुनसक्छ । किनकी हरेक चिजमा माछा । माछाकै परिकार । जे मा पनि माछाको गन्ध आउछ, शाकाहारीका लागि ।
बालीको रात्री जीवन र मसाज विदेशीका लागि प्रमुख आकर्षण हुन् । समून्द्रका छालहरुमा हुत्तिएर हामफाल्ने र त्यसको बेगसंगै किनारमा पछारिदाको बेग्लै आनन्द लिइरहेका हुन्छन, पर्यटकहरु ।
समून्द्रका तटहरुमा सन बाथ लिदै गरेका विदेशी पर्यटकहरुको लर्को देख्दा घाम नउदाउने देशबाट आएका हुन कि जस्तो लाग्छ । समून्द्रको देशमा बसोबास गर्नेहरु पनि समून्द्रकै आनन्द लिन बाली आईपुग्छन ।
जकार्ताको नेशनल म्युजियम हिन्दु र बौद्ध धर्मावलम्बीहरुले हेर्नै पर्ने मध्ये एक हो । हजारौ वर्ष पुराना, राम, सीता, गणेश, बुद्धका बिशाल मूर्तिहरु यसका मुख्य आकर्षण हुन् ।
जकार्ताबाट ६० किमीको दूरीमा रहेको तमन सफारी त, घुम्न छुटाए ईन्डोनेशियाको यात्रा अपुरो हुन्छ । प्रकृतिका अधिकांश जीव, जन्तु र जनावरलाई हेर्न र छुन मिल्ने व्यवस्था गरिएको छ, तमन सफारीमा । बाघसंग बसेर फोटो खिच्न मिल्छ । हात्ती, घोडा, उट, जिराफ, अर्ना, गैडा, जेव्रा, कङ्गारु, पेन्गुईनसंग उभिन र फोटो खिच्न छुट छ । डल्फिनसंग पौडिनु र डल्फिनको खेल हेर्नुको मजै बेग्लै छ ।
बाह्रै महिना हिउ पर्ने अन्टार्टिकामा पाईने पेन्गुईन होस वा बंगालको चर्को गर्मीमा पाईने बंगाल टाईगर सबै हेर्न पाईन्छ, तमन सफारीमा । जकार्ताबाट नजिकै रहेको बोगोरको तमन सफारी त ईन्डोनेशियाका प्रमुख पर्यटकीय गन्तव्य मध्येकै एक हो । विश्वकै नमूना मानिन्छ, तमन सफारी । प्रकृतिका अधिकांश, जीव,जन्तु र जनावर हेर्न र छुन मिल्ने तमन सफारी अवलोकन गर्नेमा विदेशी र स्वदेशी उत्तिकै हुन्छन् ।
बालीको नुसा दुआ अत्यन्त सुन्दर छ । जान छुटाउदैनन, पर्यटकहरु नुसा दुआमा । वाटर स्पोर्टसका लागि बालीकै केन्द्र मानिन्छ, नुसा दुआ ।
कोमोडो टापु,गीली टापु,राजा आम्पथ टापु,पूर्वी जाभाको ब्रोमो पहाड बालीका आकर्षण हुन् ।
तोवा तालले पनि पर्यटकहरुलाई लोभ्याउछ । ज्वालामुखीले बनाएको विश्वकै सबैभन्दा ठूलो ताल ( तोवा ताल ) दक्षिणी सुमात्रामा पर्छ । यो तालको लम्बाई १०० किमी र चौडाई ३० किमी छ ।
बालीको ड्रिम ल्याण्ड तट सफा पानी र सुन्दर दृष्यावलोकनका लागि चिनिन्छ । लोमबोक टापु र लोबानगाम पनि पर्यटकहरु भीड लाग्छ ।
जोग जकार्ता हिन्दु मन्दिरहरु र बुद्ध बिहारहरुका लागि लागि प्रसिद्ध छ । यहाँ रहेका हिन्दु मन्दिर र बौद्ध बिहारहरु हेर्न लायक छन् । हजारौ वर्ष पुराना पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण हिन्दु र बौद्ध धर्मका यी अवशेष हुन् । यीनले ईन्डोनेशियामा हिन्दु र धर्मको ईतिहास झल्काउछ ।
सुमात्राको मेडानमा तमिल हिन्दुहरुको बाहुल्यता छ । हिन्दुहरुका लागि मेडान पनि हेर्न र घुम्न लायक छ ।
बम बिष्फोटपछिको बाली
सन २००२ अक्टोबर ११ को राति ११ बजेर ५ मिनेटमा बालीमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा दुई सय दुई जनाको मृत्यु भयो ।
प्याड्डीज बारमा भएको आत्मघाती बम बिष्फोटन लगत्तै छेउकै सारी क्लव नजिक कार बम बिष्फोट भयो । तेस्रो विष्फोट अमेरिकाको कन्सुलेट अफिस, बाली तट छेउमा भयो ।
२०२ जनाको मृत्यु भएको बम काण्डमा मर्नेमा सबैभन्दा बढि ८८ जना अष्टे«लियाका नागरिक थिए । ईन्डोनेशियाका ३८ र बेलायतका २८ थिए । विश्वलाई नै स्तव्ध बनाउने गरी आतंकवादीहरुले गराएको श्रृंखलाबद्ध बम विष्फोटमा २१ मुलुकका नागरिकको मृत्यु भएको थियो । बम विष्फोटमा संलग्न भएको आरोपमा ३० जना आतंकबादी पक्राउ परे ।
जेमाह ईस्लामियाले बम बिष्फोट गराएको स्वीकार ग¥यो । जो समूह अलकायदा सम्बद्ध थियो, पछि यो समूहका अगुवा बाली बम काण्डका योजनकार ईमाम समुद्रा सहित अली घुफ्रोन र उसका दुई भाईहरु क्रमशः नोभेम्बर र डिसेम्बरमा पक्राउ परे, पछि मारिए ।
बम विष्फोटमा मृत्यु भएकाहरुको सम्झनामा घट्नास्थल नजिकै स्तम्भ बनाईएको छ । जुन स्तम्भले बाली बम काण्डको सम्झना गराईरहन्छ ।
केही समय बालीको पर्यटनलाई बम बिष्फोटनका घट्नाले असर गरेपनि पर्यटकहरु त्यो घट्ना बिर्सिसकेका छन् । निस्फ्रिक्रि भएर घुम्छन पर्यटकहरु । कुनै भय छैन । त्रास छैन ।
बालीको रात्री जीवन उस्तै गुलजार छ । पुरै रात उज्यालो र रमाईलोमा बित्छ बालीको । बालीको रात्री जीवनलाई अध्यारोले छुदैन । रात आए गएको पत्तै हुदैन बालीलाई । बाली आफ्नै गतिमा हिडेको छ । समुन्द्री तटहरुमा विदेशीको भीडले सधै मेला लागेको भान हुन्छ । बाली सुरक्षित छ । शान्त छ ।
बालीमा जमेका नेपालीहरु
जनसंख्याका हिसावले विश्वको चौथौ ठूलो मुलुक भएपनि नेपालीको संख्या थोरै छ, बालीमा । जम्माजम्मी ५० जति नेपाली रहेको अनुमान छ । ती मध्ये पनि अधिकांश संयुक्त राष्ट्र संघ र राष्ट्र संघका बिभिन्न निकायहरु विश्व खाद्य संगठन, युनिसेफ लगायतमा उच्च पदमा कार्यरत छन् । जलविद्युत परियोजना र निर्माण क्षेत्रमा नेपाली ईञ्जिनियर कार्यरत छन् । यो संख्या बिगतका तुलनामा घटेको ईञ्जिनियर पन्त बताउछन् ।
तपाईको प्रतिक्रिया