शैक्षिक क्षेत्रको विकासका लागि सुधारका कार्य आवश्यक : मुख्यमन्त्री शाह

मंगलबार पौष ९, २०८१/ Tuesday 12-24-24
Paschim Today

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।

धनगढीमा मङ्गलबारबाट सुरु भएको नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले शिक्षामा सुधारको धेरै काम गर्न आवश्यक रहेको औंल्याएका हुन ।

मुख्यमन्त्रीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले जनताले अझ बढी मर्यादित र सहज रूपमा शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे । उनले जनताकोबिचमा सहज तरिकाले शिक्षाको पहुँच पुर्‍याउनका लागि कार्यक्रम गर्नु पर्ने औंल्याउँदै त्यसतर्फ प्रदेश सरकार अगाडि बढेको बताए । शिक्षामा सबैको पहुँच पुग्ने गरी वातावरण बनाउने कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

पुस्तक प्रदर्शनीलाई व्यावसायिकतासँग मात्रै जोडेर हेर्नुभन्दा समग्रतासँग जोडेर हेर्नुपर्ने मुख्यमन्त्री शाहको जोड थियो । उनले पुस्तक प्रदर्शनीलाई ज्ञान प्राप्ति गर्ने उपलब्धिसँग पनि जोड्न आवश्यक रहेको उल्लेख गरे ।

समाज रुपान्तरणमा पुस्तकको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा नयाँ नयाँ प्रविधि अगाडि बढ्नुमा पुस्तकको महत्त्वपूर्ण देन रहेको उनले बताए । 

दिनदिनै पठन संस्कृतिको ह्रास भइरहेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षाविद डा। हेमराज पन्तले मान्छेले पुस्तक पढ्न आवश्यक रहेको औंल्याए ।

उद्घाटन कार्यक्रममा सङ्घीय सांसद् डिल्लीराज पन्त, प्रदेश सभा सदस्यहरू गीता चौधरी, तारा जोशी, विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । महोत्सव उद्घाटन अवसरमा शिक्षासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव पुस १५ गतेसम्म सञ्चालन हुने छ ।