लक्ष्मी सनराइज बैङ्कद्वारा धनगढीमा डिजिटल संवाद कार्यक्रम सम्पन्न
धनगढी । लक्ष्मी सनराइज बैङ्कले डिजिटल वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ। बैङ्कले “डिजिटल डिसेम्बर” अभियानअन्तर्गत डिजिटल कारोबार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम, अफर, र अन्तर्क्रियासहित कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, धनगढीका निर्देशक सुवास आचार्यले डिजिटल भुक्तानी र कारोबारको महत्त्वबारे चर्चा गर्दै सम्भावित ठगी र स्क्यामबाट बच्न ग्राहकहरूलाई सतर्क रहन सुझाव दिएका थिए । । जिल्ला प्रहरी कार्यालय, कैलालीका निरीक्षक दर्शन खड्काले डिजिटल ठगीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराए। त्यस्तै, एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्त, कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश लम्साल, र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सुदूर पश्चिम प्रदेशका सचिव नरदिप बहादुर धामीले विद्यालय, व्यवसाय, र समुदायमा डिजिटल बैङ्किङ प्रयोगका अनुभव र चुनौतीबारे धारणा प्रस्तुत गरे।
कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक दीपक राज पन्तले क्याम्पसका पाठ्यक्रमलाई परिमार्जन गर्दै डिजिटल बैङ्किङ सम्बन्धी कक्षाहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका थिए । ।
कार्यक्रममा खल्ती एपका प्रतिनिधि दिनेश बस्तीले डिजिटल बैङ्किङ प्रणालीका विशेषताबारे प्राविधिक प्रस्तुति दिएका थिए । । कार्यक्रममा धनगढीका व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, र जनप्रतिनिधिहरूको उपस्थितिमा डिजिटल कारोबारका अवसर र चुनौतीबारे छलफल गरिएको थियो।
डिजिटल संवाद कार्यक्रमले धनगढीका सरोकारवालाहरूसँग डिजिटल कारोबारको अवसर र चुनौतीबारे जानकारी आदानप्रदान गर्दै सचेतनाका उपायहरू सुझाएको छ। लक्ष्मी सनराइज बैङ्कले आगामी दिनमा पनि यस्ता अभियान सञ्चालन गरेर डिजिटल कारोबार प्रवर्द्धनमा योगदान दिने प्रतिबद्धता जनाएको छ।
बैङ्कका डिजिटल च्यानल अपरेशन्स प्रमुख सुमन प्रसाद गेलाल, सुदूर पश्चिम प्रदेश प्रमुख सिद्ध बहादुर भण्डारी, तथा अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको कार्यक्रममा डिजिटल कारोबारबारे सचेतना अभिवृद्धि गर्न विविध विषयमा गहन छलफल भएको थियो।
तपाईको प्रतिक्रिया