एमाले केन्द्रीय बैठकमा भीम रावलमाथिको कारबाही फिर्ता लिन माग

आइतबार पौष २१, २०८१/ Sunday 01-05-25
Paschim Today

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गर्ने पार्टी निर्णयको बिरोधमा आवाज उठेको छ ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपट रावलले पार्टी सचिवालयको सो निर्णय फिर्ता लिनुपर्ने माग राखेका छन् । आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा आफ्नो विचार राख्दै शाहले नेता रावलमाथिको कारबाहीको प्रभाव सुदूरपश्चिमको संगठनमा पर्नसक्ने बताएका छन् । ‘पार्टी निर्माणमा भीम रावलको पनि योगदान छ । उहाँलाई निष्कासन गर्ने निर्णयको प्रभाव ग्रासरुटमा पर्नसक्छ’, बैठकमा उनले भने, ‘सुदूरपश्चिममा पार्टीको प्रभावक्षेत्र बिग्रिनसक्छ । त्यसैले कारबाही फिर्ता लिनुपर्छ ।’

शाहले जति प्रष्ट नभने पनि अर्का केन्द्रीय सदस्य रावलले पार्टीमा भएका समस्याको समाधान सहज ढंगले निकाल्नुपर्ने बताए । उनले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाहीले एमालेबारे राम्रो सन्देश नगएको भन्दै सो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरूले कारबाही फिर्ता लिनुपर्ने माग गरे पनि सचिवालयका निर्णयहरू केन्द्रीय कमिटी बैठकले सुरुमै अनुमोदन गरिसकेको थियो । सोही क्रमममा रावल, पाण्डे र तिम्सिनामाथि भएको कारबाहीको निर्णयसमेत बैठकले अनुमोदन गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले विचार राख्ने क्रम जारी छ । आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले बोलेका छन् । बैठकमा केन्द्रीय सदस्यलाई बोल्न तीन–तीन मिनेटको समय दिइएको छ ।