गेटामा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरू हुनसक्छ : स्वास्थ्यमन्त्री पौडेल
धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको अस्पताल चलाएर आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका छन् । मन्त्रालयको कार्यक्रमका सिलसिलामा सोमबार धनगढी पुगेका मन्त्री पौडेलले मंगलबार बिहानै गेटा अस्पतालको निरीक्षणका क्रममा यस्तो बताएका हुन्।
‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ,'उनले भने ।
चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने बताए ।
‘सुदूरपश्चिममा एमबीबीएसको पढाइ सुरु भएको छैन । ६ प्रदेशमा भइसक्यो, चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ,'उनले भने ।
उनले यस्तो निर्णयले सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था आउने बताए । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको पनि उनले स्मरण गराए । ‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमबीबीएसको पढाइ भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु,'उनले भने ।
उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह समेत गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाइ पनि हुँदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रक्रिया छ, त्यो पनि अघि बढ्दै गर्छ, 'उनले भने ।
उनले तीन सय ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे । गेटामा बनेका पूर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत छन् ।
शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५/२० जना बिरामी मात्रै आउने गरेका छन् । -अन्नपुर्णबाट
तपाईको प्रतिक्रिया