विश्वको प्रतिष्ठित डान्स शो ‘डब्लुओडी’ अब नेपालमा
काठमाडौं– अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लुओडी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीवार हुने आयोजकले जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो ।
यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरुले विभिन्न चरण पार गर्दै विजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीन सय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो, जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ । विजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखि जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागिता जनाउन पाउने छन् । जसमा २५ देशका विजेताहरुबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी लिन पाउने छन् । साथै यसमा एक जना, दुई जना, तीन जना अथवा चार जनासम्मको एक टिम बनेर डान्स गर्न पाउने छन् । दोस्रो सिनियर टिम डिभिजन, यसमा १८ वर्षभन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउने छन् । तेस्रो जुनियर टिम डिभिजन, यसमा १८ वा १८ वर्षभन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् ।
सहभागी तीन डिभिजनकै विजेताले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै अमेरिकामा हुने डब्लुओडीमा भने सिनियर र जुनियर टिम डिभिजनमा विजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउने छ । सिनियर टिम डिभिजन र जुनियर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लुओडीमा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । गहतराजका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लुओडी नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागि उत्कृष्ट शो बन्नेमा विश्वास दिलाए ।
यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लुओडी जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरुलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागि नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरुलाई शुभकामना दिएका छन् ।
तपाईको प्रतिक्रिया