चीनमा भूकम्पले मृत हुनेको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
Paschim Today

२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।

तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकताका साथै सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई  उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न  दिन निर्देशन दिएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८।५ डिग्री उत्तर अक्षांश र ८७।४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

नेपालमा समेत महसुस भएको भूकम्पको धक्का नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६।८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा रहेको जनाईएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । भने  भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न चिनियाँ सेनाले ड्रोन तैनाथ गरेको छ ।

त्यसैगरी भूकम्पपछि सगरमाथाको माउन्ट कोमोलाङ्‍मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको छ भने पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।