नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित
काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।
मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा सोमबार भएको खेलमा ११० रनको लक्ष्य पछ्याएको नेपाल १०० रनमा अलआउट भएको हो ।
नेपालका लागि सीमाना केसीले २३ र किरण कुँवरले १८ रन बनाइन् । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
वेस्ट इन्डिजका लागि भने तृषा हर्दात र आलिया विक्स्ले २–२ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि समारा रामनाथले २५ र असाबी कल्लेन्डरले २३ रन बनाइन् ।
नेपालका लागि रचना अधिकारी र सिमाना केसीले १–१ विकेट लिइन् ।
यू–१९ विश्वकपमा नेपाल, स्कटल्याण्ड, अष्ट्रेलिया र बंगलादेशसँगै समूह ‘डी’मा रहेको छ । माघ ५ गते नेपालले भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेलमा माघ ७ गते स्कटल्याण्ड र तेस्रो खेलमा ९ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
तपाईको प्रतिक्रिया