रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25
Paschim Today

बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्धा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन्।

सुप्रिम सहकारीको बचत रकम गैरकानुनी तवरबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो।

सहकारीको सोही बचत रकम ठगि विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित हुन लागेका हुन्।

लामिछाने मंगलबार नै रुपन्देही आएका थिए। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने बुधबार भैरहवाको देवकोटाचोकस्थित मेरिगोल्ड होटलमा बास बसेको प्रहरीले जनाएको छ।

सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत बैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा दर्ता भएको थियो। उक्त बचतमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको अभियोगपत्रमा उल्लेख छ।

सुरुवाती मुद्धा दर्ता हुँदा लामिछाने गृहमन्त्री थिए। त्यतिबेला लामिछानेविरुद्ध मुद्धा दर्ता भएको थिएन। प्रहरीले पूरक अनुसन्धानपछि विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगगित अपराधमा मुद्धा दर्ता गरेको हो।

सरकारी वकिलको कार्यालयले लामिछानेसहितका १४ जना र वैशाखमा नयाँ मुद्धा दर्ता भएका ८ जना गरी २२ जनाविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधमा पूरक मुद्धा दर्ता गरेको थियो। उनीहरु सबैलाई ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ।

लामिछानेलाई व्यक्तिगत रुपमा २ करोड र गोर्खा मिडियाका नाममा गएको २ करोड १५ लाख २८ हजार सामुहिक दायित्व गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको छ। त्यस्तै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआईजी छविलाल बन्जाडे जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दावी गरिएको छ।

 

यसअघि मुद्धा दर्ता भएका २८ जनामध्ये सहकारीका संरक्षक समेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सहित १७ जनालाई गत विहीबार नै सहकारी ठगिसँगै संगठित अपराधमा पनि पूरक मुद्धा दर्ता गरिएको थियो। सहकारी ठगीका मुख्य योजनाकार राईलाई ५१ करोड १ लाख बिगो माग गरिएको छ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग गरिएको छ। गुरुङ अदालतको आदेशले यसअघि नै पुर्पक्षको लागि जिल्ला कारागार रुपन्देहीमा छन्।

सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा दुईपटक गरी ४२ जनाविरुद्ध मुद्धा दर्ता गरी उनिहरुबाट झण्डै डेढ अर्ब बिगो माग गरिएको छ।

यसअघि २८ जनाविरुद्ध १ अर्ब ३ करोड मात्र बिगो माग गरिएको थियो भने पूरक मुद्धाको समेत गरी ४२ जनाको बिगो झण्डै डेढ अर्ब पुगेको छ। लामिछाने बुधवार अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस शुरु हुने छ।