सुदूरका मुख्यमन्त्रीहरूको एउटै स्वर, राजधानी कार्यान्वयन पहिलो जोड
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला वर्तमान मुख्यमन्त्री कलबहादुर शाहले प्रदेशको राजधानी तोकिएकै ठाउँमा हुने वा स्थान परिवर्तन गरेर भए पनि राजधानी बनाउने भन्ने विषयमा छलफल सुरु गरेका छन् ।
२०७५ असोज १२ गते बसेको प्रदेशसभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । तर निर्णय भएको ६ वर्षसम्म पनि उक्त क्षेत्रमा संरचना बन्न सकेको छैन ।
प्रदेश सभाको स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा स्थायी राजधानी कार्यान्वयन हुन नसकेको भन्दै अधिकांशले सरकारको आलोचना गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले समेत नेताहरूले राजधानीको विषयबारे केही नबोलेको भन्दै असन्तुष्टि जनाए ।
‘यहाँ राजधानीको कुरा कसैले उठाएनन्, यो विडम्बना हो’ उनले भने, ‘राजधानी बनाउने कहाँ हो ? यहाँ दुई तिहाइको सरकार छ, दुई तिहाइ मात्र होइन, शतप्रतिशतले नै राजधानीबारे चासो दिनुपर्ने हो ।’
राजधानीको विषयले आलोचना सुनेका मुख्यमन्त्री शाहले त्यसको भोलि पल्टै पूर्व मुख्यमन्त्री तथा सभामुखसहितलाई बोलाएर यस विषयलाई निकास दिनुपर्ने बताएका छन् ।
माओवादीको नेतासमेत रहेका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेतासमेत तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी तथा सभामुख भीम भण्डारीसँग वर्तमान मुख्यमन्त्री शाहले राजधानी कार्यान्वयन लगायतका विषयमा गम्भीर छलफल गरेका हुन् ।
यही आर्थिक वर्षबाटै संरचना निर्माणको तयारी गर्नेगरी सबै दलका नेता तथा पूर्व मुख्यमन्त्रीबिच छलफल भएको थियो ।सबै दलका नेताहरूले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सुदूरपश्चिमको राजधानी कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने र सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउने विषयमा पनि उक्त छलफलमा सहमति भएको थियो । प्रदेश सभामा यस विषयमा सङ्कल्प प्रस्ताव पारित गर्ने पनि सहमति भएको थियो
पहिलो प्राथमिकतामा तोकिएकै स्थानमा राजधानी निर्माण गर्ने विषयमा उनीहरूबिच छलफल भएको थियो । तोकिएको स्थानमा बन क्षेत्र रहेको र त्यसमा मुद्दा समेत परेको हुँदा त्यही राजधानी कार्यान्वयन गर्न समस्या आए राजधानीको लागि नयाँ स्थानको खोजी गर्ने विषयमा पनि छलफल भएको थियो ।
‘ राजधानी कार्यान्वयनसँगै विकास खर्च, कर्मचारी संयन्त्र, प्रदेशको बजेट तथा गौरवका योजनाका विषयमा छलफल भएको हो’ एमाले संसदीय दलका नेता रावलले भने, ‘सुदूरपश्चिमको विकास र संवृद्धिमा हामी सबै एउटै स्वर छ भन्ने कुरामा पनि प्रस्ट कुरा भएको छ ।’
उनीहरूबिच विकासका सवालहरूमा विभाजित हुन नहुनेमा पनि एक भएका थिए ।
‘सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्ने, सुदूरपश्चिमको विकास र संवृद्धिका विषयमा एउटै ठाउँमा उभिने विषयमा पनि छलफल भएको थियो,’ पूर्व मुख्यमन्त्री रावलले भने ।
नेता र नेतृत्वविरुद्ध भइरहेको साइवर आक्रमणलाई रोक्ने विषयमा पनि सबै दलको एउटै स्वर आएको थियो । विगतमा भएका राम्रा कामहरूको प्रचार हुन नसकेको भन्दै पूर्व मुख्यमन्त्रीहरूले गुनासो पोखेका थिए । प्रदेशमा देखिएका समस्याहरू हल गर्न कार्यदल बनाएरै अघि बढ्ने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया