सम्झनामा बज्यैको एकसय पाँच वर्षीय दिव्य जीवन

नीलम शर्मा
अन्ततः माघ २ गते बुधवार साँझ एक नमीठो खवर सुन्न नै प¥यो । बज्यै त्रिपुरासुन्दरीदेवी पन्त एक सय पाँच बर्षको दिव्य जीवन यात्रा पुरा गरी अनन्तमा लीन हुनुभयो । साँझ परिसकेको हुनाले शवयात्रा भोलिपल्ट हुने भयो । विहीवार विहान हामी बज्यैको शवयात्राका लागि धनगढी तारानगरस्थित काका मुक्तिकान्त पन्तको घरतर्फ लाग्यौ । अघिल्लो दिनमात्र हामी बज्यैलाई भेट्न गएका थियौ, तर त्यो नै अन्तिम भेट होला भन्ने लागेको थिएन् । हुन त बज्यै केही महिना देखि ओछ्यान पर्नु भएको थियो, शरीरका अंगहरुले काम गर्न छोड्दै थिए । तैपनि सँधै जस्तै बज्यै फर्किनु हुन्छ की भन्ने आशा पनि थियो । शव यात्राको तयारी हुदै थियो । धनगढी उपमहानगरपालिकाले मृत्यु भएका व्यक्तिहरुलाई नगरप्रहरीहरुवाट सलामी दिने प्रथा अनुसार नगरपालिकाका कर्मचारीहरुले बज्यैको आत्मा शान्तिको निम्ति सम्मान धुन बजाउनु भयो ।
बज्यै नातामा मेरो हजुरआमा सासु हुनु हुन्थ्यो । आँखा चिम्लिएर बज्यैका एक सय पाँच वर्षको जीवनलाई सम्झिएर अन्तिम विदाइको प्रार्थना गरिरहदा बज्यैप्रति अथाह सम्मानले मेरा जस्तै धेरैका आँखाहरु रसाइरहेका थिए हृदय साँच्चै नै भारी भयो । म उदास एक कुनामा उभिएको रहेछु । अचानक छोरी निधीले विस्तारै मेरो हात समातेर भनिन्, ‘आमा, के हजुर दुःखी हुनुहुन्छ ? सोच्नुस त उहाँको आत्मा खुला आकाशमा कति खुशी साथ उडिरहेको होला’ अहो ! मेरी सानी छोरीले जीवनको यति गहिरो दर्शनलाई कति सजिलोसँग सम्झाइन्, म छक्क परें । मेलै छोरीतिर हेरें, उनलाई धन्यवाद भने । र,अंकमाल गरे । मन हलुका भयो ।
बज्यै त्रिपुरासुन्दरी देवीको जन्म ई.सं. १९७६ मा सुदूरपश्चिमको डोटी जिल्लामा भएको थियो । उहाँको विवाह नौ वर्षको उमेरमा लक्ष्मीकान्त पन्तसँग भएको थियो । विवाहका दुलाहा बाजे लक्ष्मीकान्त पन्त चाँही साढे नौ वर्षका हुनु हुन्थ्यो रे । बज्यै एघार बर्षकी हुँदा वाजे र वज्यैको जीवनमा तेस्रो सदस्य थपिनु भएछ, कान्छी बज्यै । यसको कारण चाँही यस्तो थियो रे, कुनै चाडमा बज्यै माइत जानु भएको रहेछ । केही दिन पछि बाजेको घरवाट कोही वज्यैलाई लिन गएका रहेछन् । यता माइतीले छोरीलाई केही दिनपछि वनभोज खाएर मात्र पठाउने भन्नु भएछ । बाजेका बुवा चन्द्रकान्त पन्तलाई यो कुरा मन परेनछ । तुरुन्तै दोस्री बुहारीको खोजी गरेर विवाह समेत गरी दिनु भएछ । आफ्ना तीनै पत्नीको अल्पायुमा मृत्युभएको हुनाले आफ्ना एकमात्र छोरा लक्ष्मीकान्तको पनि एक श्रीमती गुमे अर्की जिउँदै रहने छिन् भन्ने उहाँको विचार थियो रे । र, सोही बमोजिम आफ्ना छोराको एघार वर्षकै उमेरमा दुई विवाह जुराएको रे । वज्यैल १६ बर्षको उमेरमा पहिलो सन्तान देवकान्त पन्तलाई जन्म दिनु भएको रहेछ । त्यसपछि कान्छी र जेठी वज्यै दुवैबाट गरी चौध सन्तान (मृत्यु भएका दुई सहित) भएका रहेछन् ।
त्यो बेला सुदूरपश्चिममा शिक्षाको सहजता हुने कुरै भएन । बाजे पढ्न भारत जानु भएछ । बाल्यकालवाटै बज्यैका काँधमा परिवारको जिम्मेवारी आइपरेछ । उता वाजेलाई पढ्ने जोहो मिलाउनु पर्ने, खर्च, सातु सामल पठाउनु पर्ने, यता छोराछोरीको लालनपालन, व्यवहार धान्नु पर्ने । समयक्रममा बाजेले भारतको पिलिभीतवाट आयुर्वेदाचार्य गर्नु भएछ । पढाइसकेर फर्किएपछि बाजेले आफ्नो जीवन समाजलाई स्वस्थ र शिक्षित बनाउन समर्पित गर्नु भएछ ।
बाजे पारिवारीक जिम्मेवारीवाट माथि उठेर शिक्षाका प्रवद्र्धक सँगै वरिपरीका गाउँका समेत ‘डाक्टर बा’ बन्नुभएछ । गाउँमै स्कूल खोल्ने मिसनमा लाग्नु त भयो, तर यो सजिलो कुरा थिएन । स्रोत कहाँवाट जुटाउने ? बाजे नेपाल र भारतका कयौ ठाउँहरुमा बर्षौसम्म चन्दा संकलन गर्दै हिड्नु भएछ । र, १०१७ सालमा उच्चाकोटमा सीताराम नामको स्कुल स्थापना भएछ, जुन हाल सीताराम माध्यमिक विद्यालयका रुपमा सञ्चालनमा छ । उक्त स्कुलवाट शिक्षाको ज्योतीले सिंचिनेहरुमध्ये एक नेपालका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पनि हुनुहुन्छ । बाजे सामाजिक परिवर्तनका अगुवासमेत हुनुहुन्थ्यो । बाहुनले हलो जोत्नुहुन्न भन्ने अन्धविश्वास रहेको त्यतिबेलाको समाजमा बाजेले आफूले हलो जोतेर बिद्रोह गर्नुभएको थियो ।
बाजे डाक्टर लक्ष्मीकान्त पन्तले नेपाल सरकारवाट सम्मानस्वरुप २०४९ मा गोरखा दक्षिण बाहु चौथो र २०७९ सालमा मरणोपरान्त प्रवल जनसेवाश्री पदक समेत प्राप्त गर्नु भएको थिया । बाजेका यस्ता कार्यले समाजलाई त अभूतपूर्व योगदान भयो, यता बज्यैको जीवन भने संघर्षको पर्याय बनेछ । घरभित्र र बाहिरको असिमित जिम्मेवारी र बोझ एकपछि अर्को थपिदै गएछन् । बाह्र छोराछोरीका निम्ति झण्डै बा र आमा दुवैको भूमिका निर्वाह गर्नुपर्ने बाध्यता दुई बज्यैको काँधमा आएछ, नेतृत्व भने बज्यैले लिनुभएछ । आफ्नी आमाका ती दिनहरु सम्झिदै जेठी छोरी सरस्वती भन्नुहुन्छ,‘मेरी इजा (आमा) बहादुर महिला थिइन् । बाको पढाइ पुरा गर्ने जिम्मेवारी आमाले नै पूरा गरिन् । बा जोगी बनेर हिंडेपछि उनले नै घरको मुलीको भूमिका निभाइन् ।
बिहान तीन बजे जितरा पिस्दै शुरुहुने उनको दैनिकी राती अबेर सम्म कठोर परिश्रममा बित्थ्यो । यदि आमाले साथ नदिएको भए बाको समाजसेवा, छोराछोरीको पढाइ केही पनि सम्भव थिएन । उनी भित्रवाट मायालु भएता पनि बाहिरवाट कठोर देखिन्थिन्, आफू अत्याधिक परिश्रमी भएर होला, काम गर्ने मान्छेलाई मात्र मन पराउँथिन् ।’ बज्यै मानसिक रुपमा मात्र नभएर शारिरीक रुपमा आश्चर्यजनक रुपमा बलियो थिइन् रे । बलिया लोग्नेमान्छेहरुले गर्न नसकेका कामहरु बज्यैले सजिलै गरेको देखेर गाउँनै आश्चर्यमा पर्ने गथ्र्यो रे । मैले एकपटक बज्यैलाई महिनावारी र सुत्केरी अवस्थाका बारेमा सोधेको थिएं । महिनावारीमा महिलाहरुले के लगाउँथे त ? बाक्लो गामन (फरीया) लगाउने गर्थे रे, त्यो बाहेक शरिरवाट बग्ने रगत व्यवस्थापन गर्ने अर्को कुनै उपाय हुदैनथ्यो रे । उनीहरु काम गर्दा गर्दै धारा, घाँस, दाउरा वा कुनै पनि स्थानमा सुत्केरी हुने गर्थे, न्वारन नहुन्जेल कसैले पनि छुँदैनथ्यो, सबै काम सुत्केरी स्वयमले गर्नुपथ्र्यो । कयौं खानेकुरामा रोक थिए । ती दिनहरु कति कष्टपूर्ण थिए होला ? ‘मेरो धेरै नै रगत बग्ने गथ्र्यो । हिड्दा गोरेटोमा रगत चुहिएको देखेर गाउँलेले देवकान्तकी इजा भनेर सजिलै थाहापाउँथे’ बज्यैले भन्नुभएको थियो ।
हामीलाई अहिले सोच्दा नै आङ जिरिंङ हुने गर्दछ । बज्यै आफ्ना वरिपरीका सबैखाले स्रोतहरु जुटाउने र परिचालन गर्ने गजवको खुबी राख्नुहुन्थ्यो रे । आफ्नी सासुको कुशल व्यवस्थापकीय पक्षलाई सम्झिदै बज्यैकी जेठी बुहारी उमा भन्नुहुन्छ, ‘बज्यैसँग आर्थीक मात्र होइन मानवीय स्रोत परिचालन गर्न सक्ने अद्भूत क्षमता थियो । उहाँले सँधै भन्नु हुन्थ्यो, काम गर्न सक्नुमात्र होइन, काम गराउन सक्नु पनि सीप हो, जसको अभावमा दुःख पाइन्छ । सुदूरपश्चिमको समाज सुधारको निम्ति बाजेको योगदानको पछाडि बज्यैकै प्रमुख भूमिका रहेको थियो । परिवारलाई आज यहाँसम्म ल्याइ पु¥याउन र एकतावद्ध राख्न बज्यैको अतुलनीय योगदान रहेको छ ।’ हुनत नेपालका आम महिला (आमा, हजुरआमा) हरु प्राय सबैको जीवन संघर्षमय नै वितेको पाइन्छ ।
बज्यै मलाइ असाधारण महिला लाग्नुहुन्थ्यो । उहाँलाई निराश र थाकेको मैले कहिल्यै देखिन । सय बर्ष पार गरिसक्दा पनि उहाँको स्मरण शक्ति आश्चर्यलाग्दो गरी तीक्ष्ण थियो । भेट्न आउने सबैलाई चिन्नु मात्र हुन्थेन, त्यो व्यक्तिको वरिपरीका व्यक्ति, परिवारका सदस्य सबैको बारेमा सोधीखोजी गर्नु हुन्थ्यो । आफ्नो जीवनकालमा घटेका घटनाहरुका फेहरिस्त सबै सम्झनु हुन्थ्यो । उहाँको आत्मविश्वास जीवनका अन्तिम दिनहरुमा पनि लोभलाग्दो थियो । उहाँ आफूलाई ठीक लागेको काममात्र गर्नु हुन्थ्यो र आफ्नो निर्णयमा अडिग रहनु हुन्थ्यो । नेपाली समाज, त्यसमा पनि सुदूरपश्चिमको अति नै पितृसत्ताले जकडिएको परिवेशमा उहाँको यो पक्ष सशक्त थियो ।
बज्यैको अन्तिम दिनहरुमा अविराम सेवामा खटिनु भएकी बज्यैकी अर्की बुहारी कृष्णा आफ्नी सासु र वाल्यकाललाई सम्झिदै भन्नुहुन्छ, ‘विवाह हुँदा म बाह्र बर्षकी थिएँ । त्यो बेलाको समाजमा बुहारी त के छोरीलाई पनि पढाउने चलन थिएन । तर हाम्रा सासु, ससुरा फरक हुनु हुन्थ्यो । उहाँले आफ्ना छोरा मात्र होइन छोरी र बुहारीलाई पनि पढ्न पठाउनुभएको थियो । हामी चार बुहारी र दुइ छोरीहरु स्कुलको घण्टी लाग्नु अगाडि बिहानको घाँस दाउरा सकेर उपस्थित भइसकेका हुन्थ्यौं । ससुराले हामीलाई सेतो कोटा मार्किनको कपडालाई जामुनको बोक्राले रंगाएर हरीयो फ्रक र गुलावी सर्ट(विद्यालय पोशाक) सिलाई दिनुभएको थियो । ससुराका लागी पढाइ र गृहकार्य पुरा गर्नु नै पर्ने हुन्थ्यो, र सासुका लागि घरायसी काम सक्काउनै पर्ने हुन्थ्यो । तर दुवैले पढाइमा बाधा पु¥याउनु भएन ।’ समयकालमा, पहाडवाट मधेस झरेपछि उहाँहरुको पढाई छुट्न पुग्यो यद्दपी, यो नै वहाँहरुको जीवनका शैक्षिक आधार बन्यो । यही दौरानमा छोराछोरी पढ्कै देखेर, सुनेर बज्यै पनि पढ्न सक्ने हुनुभयो ।
त्यो समयमा हुने संचारका माध्यम भनेकै चिठीपत्र थिए । बाजे भारतमा पढ्ने बेलामा बाजे र बज्यैवीच चिठीवाट यदाकदा बात हुने गरेको रहेछ । एकपटक घरमा काम परेर बज्यैले बाजेलाई लिन एक व्यक्ति भारत पठाउनु भएछ । तर बाजे घर आउन मिलेनछ । सट्टामा बज्यैलाई चिठी पठाउनु भएछ । उक्त कवितात्मक चिठीका हरफहरु वज्यैलाई अन्तिम दिनहरुमा पनि कण्ठस्त थिए । ‘अरु बिर्सिए तर यो धेरै मनपरेको हुनाले याद गरे ।’ मुजा परेका आँखाहरु खुशीले चम्काउँदै चिठीका हरफहरु बज्यै यसरी सुनाउनु हुन्थ्यो, यसो भाग्यवती प्रिय शशीमुखी, सूर्यै जलाउँ सुन्दरी, मानिस आइपुग्यो पठाइ दिएछौ । धन्य म भन्छु प्रिय, माया लाग्छ मलाइ सुन्दरी सदा तिम्रो, प्रिय म के गरुँ, घरमा आउँ भनी तयार थिए, बिघ्नै प¥यो म के गरु ।
शुरुका दिनहरुमा मलाई बज्यैको कडा स्वभावका बारेमा सुन्दा अलि डर पनि लाग्थ्यो । धेरैबर्ष अगाडिको एक घटना सम्झिन्छु । म अफिसवाट केही दिनका लागी बाहिर जानुपर्ने काम सकेर घर फर्किएकी थिए । यात्रा र कामले होला शायद म थकि त देखिएकी हुन सक्छु । बज्यैले पहाडी भाषामा, तँ थाकेर आइस्, भोक तिर्खा लाग्यो होला, खाना खाएर आराम गर भन्नुभयो । सँगै उहाँले आर्थिक उपार्जन गर्न सजिलो नभएको, परिवर्तित समयमा महिला पुरुष दुवैले कमाउन पर्ने बाध्यता रहेको, पुरुष भन्दा महिलाले धेरै चुनौतीहरुको सामना गर्नुपर्ने यथार्थको बर्णन गर्नुभयो । अनि त्यो सबै गर्न सकेकोमा मेरो र सबै कामकाजी महिलाहरुको प्रशंसा गर्नुभयो ।
त्यो बेला म आश्चर्य र खुशीले भावुक मात्र भइन कि, त्यो सोच राख्न सक्ने हजुर आमा सासुका निम्ति हृदय देखि नै सम्मान व्यक्त गरे । एक कामकाजी महिलाका निम्ति घर बाहिरको संसार सहयोगी हुन जती जरुरी छ, त्यो भन्दा कयौ बढि आवश्यक छ, घरभित्रको वातावरण सकारात्मक र सहयोगी हुन । अन्यथा जीवन कठिन मात्र बन्दैन कि, यति कुरा नबुझ्नाले आजको दिनमा कयौ परिवारहरु विखण्डित पनि भएका छन् । बज्यैका ती भनाइ र वहाँले गरेको व्यवहार महिला सशक्तिकरणका निम्ति लेखिएका कानूनका ठेली र भाषण भन्दा जीवनोपयोगी र सशक्त लागे मलाई ।
हरेक परिवारका सदस्यहरुले यसरी नै सोच्ने हो भने कामकाजी महिलाको जीवन कती सहज हुन्थ्यो होला ? कल्पनासंगै म आफैलाई प्रश्न गर्छु ! बज्यै रसीक र हँसीमजाक गर्न पनि निकै रुचाउनु हुन्थ्यो । आफूलाई मन नपरेको कुरा ठाडै भनी हाल्ने बानी थियो । एकपटक एउटा रमाइलो घटना भयो । हाम्रो समाजमा पतीको नाम लिने चलन छैन । परिवारका बुज्रुकहरुलाई यो अझै पनि मन पर्दैन । म पनि बज्यै नजिक हुँदा भरसक रविनलाई नाम लिएर बोलाउँदैनथे । एकपटक बोलाउने क्रममा रविनलाई चलनचल्तीको शब्द बाबा भन्न पुगेंछु । बज्यैले सुनि हाल्नु भएछ । उहाँले सोध्नुभयो, कैलाई बाबा भन्नाछै, मेरो नाती तेरो बा हो ? त्यसपछि म झसंग भए । हामी सबै मज्जाले हास्यौं । त्यसपछी वहाँलाई नै सोधें, नाम भने तम्रिसाउँछौ, के भनेर बोलाउँ त बज्यै ?
बज्यैलाई नजिकवाट जान्नेहरु सबैले भन्नुहुन्छ, बज्यै एकदमै अनुशासीत, आत्म विश्वासी र सकारात्मक सोचकी धनी हुनु हुन्थ्यो । आफ्नो स्वस्थ खानपानमा बिशेष ध्यान राख्नु हुन्थ्यो । सबैभन्दा महत्वपूर्ण वहाँ आफूलाई प्रेम गर्न हुन्थ्यो । जसले आफूलाई प्रेम गरेर बाँच्न सक्छ, त्यो व्यक्ति खुशी हुन्छ । र, खुशी व्यक्ति दीर्घजीवि हुन्छ, बज्यै हामीलाई यही संदेश दिएर जानुभयो । जीवन र मृत्यु एकअर्काका पर्याय हुन् । हामी सबैको पुग्ने अन्तिम गन्तव्य एउटै हो । यद्यपि बज्यैको जस्तो अभूतपूर्व जीवन बाँच्न विरलै सम्भव हुन्छ । वहाँले हिंड्नु भएका पदचापहरु हामीले पछ्याउन सक्यौ भने यही नै हाम्रो तर्फवाट सही श्रद्धाञ्जली हुनेछ । बज्यै हाम्रो मन र प्रार्थनामा जीवित रहनु हुनेछ ।
तपाईको प्रतिक्रिया