अन्तिम समयसम्म सोधिरहे, ‘हाम्रो घर भत्किएको त छैन ?’

धनगढी, १७ माघ ।
धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका नर बहादुर महता अत्यन्त मिहिनेती थिए । रात दिन नभनी मिहिनेत गरे । दुध बिक्री गरे । सन्तानलाई पढाए । हुर्काए । सन्तानको गाँस काटेर जोगाएको पैसा र त्यसमाथि ऋण सापट गरेर बजारमा एउटा घर बनाए । हुलाक छेउमा मूल सडकसंगै जोडिएको त्यही घर धनगढी उपमहानगर पालिकाले दुई वर्षअघि थालेको सडक विस्तारका क्रममा भत्कियो । सडक चौडा गर्ने नाममा उनको घरको नामोनिशान रहेन ।
त्यहीबेला उनी थला परे । उनको एउटै चिन्ता थियो, घर जोगिएकी जोगिएन । बुवाको त्यस्तो अवस्था भएपछि छोरा खड्क काठमाण्डौंको जागीर छोडेर धनगढी फर्किए ।
उनले हरेक दिन जसो छोरा बुहारीलाई सोध्थे, हाम्रो घर त बचेको छ ?
छोरा खड्कले आश्वस्त पार्दै भन्थे, बुवा हाम्रो घर जोगिएकै छ ।
छोराको जवाफपछि उनी ढुक्क हुन्थे । तर बजारको मूल सडकका मान्छेको कसैको घर नजोगिएको भन्ने सुन्दा उनी बिचलित हुन्थे । फेरि सोध्थे, हाम्रो घर त बचेको छ ।
छोराले रेडिमड जवाफ दोह¥याउथे, बुवा चिन्ता नगर्नुस । हाम्रो घर जोगिएको छ ।
बुवालाई सही कुरा बताए जुनसुकै बेला प्राण छोड्ने डर थियो । त्यही कारण उनी हरेक पटक झुट बोलेर बुवालाई आश्वस्त पार्थे ।
घर नरहेको सही कुरा भनौ, बुवाले सास छोडिदिनुहोला भन्ने डर, खड्कले भन्ने गर्थे, त्यही डरले बुवालाई सही कुरा भन्न सकेको छैनौ । झुट बोलेर भएपनि उहाँको आयु लम्व्याउने कोसिस गरिरहेको छु ।
केही समय अस्पताल भर्ना गरिएपछि उनको स्वास्थ्यमा सुधार आयो । अवस्था सुधार भएपनि छोराबुहारीले घर भत्किएको कुरा सुनाउने आँट गरेनन् ।
माघ ९ गते अचानक स्वास्थ्य बिग्रिएका उनको त्यही दिन भयो । र, झुट बोलेर भएपनि बुवालाई जोगाउने खडकको प्रयास असफल भयो ।
धनगढी उपमहानगरपालिकाले सडक चौडा गर्ने नाममा सर्वसाधारणले वर्षौ मिहिनेत गरेर जोडेको सम्पत्तीमाथि क्षतिपूर्ति र मुआब्जा बिना नै डोजर चलाएपछि बिचल्ली भएका सयौं परिवारको अवस्था यस्तै छ ।
धनगढी उपमहानगरपालिकाले सडक विस्तारका क्रममा धनगढीको मूल सडकका ४२८ परिवारका घरसम्पत्तीमाथि डोजर चलाएको थियो ।
त्यसमध्ये अधिकांशको उठिवास भएको छ । कतिपयलाई छाक टार्न समस्या भएको छ । बजारमा भएको एउटा घरमाथि उपमहानगरपालिकाले विकासका नाममा डोजर चलाएपछि बालबच्चा पढाउन, घर खर्च चलाउन र बैंकको ऋण तिर्न समेत उनीहरुलाई सकस भएको छ ।
तपाईको प्रतिक्रिया