सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा पढाइ सुरु गर्न माग

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले कैलालीको गेटास्थित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आउँदो आर्थिक वर्षबाट चिकित्सा पढाइ सुरु गर्न माग गरेको छ ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट आइतबार पारित भएपछि समितिले खुशी व्यक्त गर्दै चिकित्सा पढाइ चाँडै सञ्चालन गर्न माग गरेको हो । समितिले सरकार, प्रतिनिधि सभा, सांसद् र सबै पहलकर्तालाई धन्यवाद दिएको छ ।
यसैका लागि विगत वर्षदेखि नै सङ्घर्ष गर्दै आएको समितिले विधेयक पारितले थोरै भएपनि नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले मूर्त रुप पाएको पत्रकार सम्मेलन गरेर जनाएको छ । संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) विधेयक पारित हुनु ठुलो सफलता रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय पूर्ण रुपमा सञ्चालनमा नआएसम्म समितिको आन्दोलन नरोकिने उल्लेख गर्दै ऐनमा टेकेर आगामी आर्थिक वर्षबाट चिकित्सा पढाइ र ६०० श्य्याको अस्पताल सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।
यसका लागि समितिले आगामी आर्थिक वर्षमा कम्तीमा चार अर्बसम्म बजेट छुट्याउन संघीय सरकारलाई आग्रह गरेको छ । बनेको संरचनालाई कुनै पनि हालतमा वर्वाद हुन नदिने संघर्ष समितिको जिकिर छ । तीन वर्षमा १३६ वटा आन्दोलन पश्चात यो उपलब्धि हात लागेको जनाइएको छ ।
आर्थिक वर्ष २०६६-६७ मा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गरेर भौतिक संरचना निर्माणको काम अगाडि बढाएको थियो । डेढ दशकको अवधिमा विभिन्न आरोह अवरोधकाबिच नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनेको छ ।
पूर्व सांसद् डा. दीपकप्रसाद भट्टले विधेयक पारित भइसकेको अवस्थामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिलाई अझ रचनात्मक र सृजनात्मक भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले संघर्ष समिति अब सहयोगी समिति बन्नु पर्ने भन्दै थप्नुभयो,“सबैको संघर्षले यो विश्वविद्यालय बनेको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पताललाई आंगिक बनाएर अब यसलाई अगाडि बढाउनु पर्दछ ।”
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो चरणमा नै न्यूनतम् भौतिक संरचना बनिसकेको थियो । त्यति बेलै विधेयक पारित भइ दिएको भए अहिलेसम्म विश्वविद्यालयको काम धेरै अगाडि बढी सक्ने पूर्वाधार निर्माण समितिका पूर्व अध्यक्ष हेमराज पुजाराको भनाइ छ । उहाँले विश्वविद्यालय ल्याउन संघर्ष समितिको ठुलो योगदान रहेको चर्चा गर्नुभयो ।
ऐन आउँदैमा सबै कुरा आएको होइन भन्दै पुजाराले आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन र चिकित्सा पढाइ सञ्चालनका लागि पर्याप्त मात्रामा बजेट आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले यसका लागि आवश्यकतानुसार बजेट छुट्याउनका लागि पहल गर्न सबैलाई आग्रह गर्नुभयो ।
कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. सुरेन्द्र चन्दले संघर्ष समितिको अथक प्रयासमा उपलब्धि हासिल भएको बताउनुभयो। यसलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
तपाईको प्रतिक्रिया