कलौनीको शङ्कास्पद मृत्यु : पोस्टमार्टमबाट खुलेर ठोस कारण, भिसेरा र मुटु थप परीक्षण गर्ने तयारी

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today

कैलाली : कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना थप रहस्यमय बनेको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नसकेपछि प्रहरीले थप परीक्षणको तयारी गरिरहेको छ ।

शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका थिए ।

परिवारको सदस्यहरूको उनको हत्या भएको आशङ्कामा अनुसन्धान गर्न आग्रह गरिरहेका छन् । प्रहरीले भने विभिन्न कोषबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘पहिलो चरणमा पोस्टमार्टम रिपोर्टबाट घटनाबारे केही तथ्य सार्वजनिक होला भन्ने अपेक्षा गरेका थियौँ’ अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले भने,  ‘पोस्टमार्टम रिपोर्टले पनि मृत्युको ठोस कारण खुलाउन सकेको छैन ।’

घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गएको प्रहरीले ठहर गरेको थियो । उनको साथमा प्रहरी औषधी पनि भेटाएको थियो । मृत फेला परेका कलौनीको बाहिर चेट देखिएको थिएन । पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ । 

घटनाको भोली पल्टै भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञसहितको डक्टरको टोलीले पोस्टमार्टम कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेका थिए । त्यसको रिपोर्ट बुधबार आएको हो । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको तर, अक्लुजनका कारण मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ । तर, ठोस कारण भने रिपोर्टमा छैन । 

पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ भने नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगन्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ ।

‘मुटु र भीसेरा परीक्षण पछि थप केही  तथ्य सार्वजनिक होला’ अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले भने ‘पोस्टमार्टम रिपोर्टमा धेरै कुरा आएन ।’ कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल  अझैसम्म प्रहरीले फोला पार्न सकेको छैन ।

‘पर्स झरेको अवस्थामा भेटिएको थियो । पर्समा पैसा भने थिएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’

प्रहरी नायव उपरीक्षक जोशीले अहिलेसम्म पनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै अनुसन्धान पछि मात्रै केही कुरा भन्न सकिने बताए । 

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए ।   गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका थिए । 

नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।