अमेरिकाको अलास्का क्षेत्रबाट यात्रु बोकेको जहाज बेपत्ता

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today

वासिङ्टन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ ।

विमान दुर्घटना भएको आशंका गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार बिहीबार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।

यी दुई सहरहरू नोर्टन साउन्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दुरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।

हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।

गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।