सिगासका ६३ घरमा एकै पटक विद्युत् सेवा
बैतडी । बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका ३ का ६३ घरमा एकैपटक विद्युत् सेवा पुगेको छ । गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको साझेदारीमा गाउँमा विद्युतीकरणको काम भएको हो ।
गाउँपालिका अध्यक्ष हरिसिंह धामीले एक कार्यक्रमका बीच विद्युत् सेवा सुचारु गरेका हुन । सिगास गाउँपालिका ३ लगन, ठुलीसैन, मुसुणा, दुलैना र चमडेखर्कका ६३ घरमा एकै दिन विद्युत् बालिएको वडाध्यक्ष अमरसिंह धामीले जानकारी दिए । सोही वडाका अन्य गाउँमा पनि विद्युत् लाइन जडानको काम भइरहेको उनले बताए ।
विद्युत् सेवा सुचारु गर्दै गाउँपालिका अध्यक्ष धामीले विभिन्न अवरोध पार गर्दै चुनावी प्रतिबद्धता अनुसार काम भइरहेको बताए । गाउँपालिकाले विद्युतीकरण र पूर्वाधारको कामलाई प्राथिमकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ ।
विद्युत् विस्तारको काम धमाधम भइरहेको छ । वडा ३ का बाँकी २ सय घरमा पनि विद्युत् जडान र वाइरिङको काम भइरहेको विद्युत् लाइन बिस्तारको जिम्मा पाएका कम्पनी एसबी कन्ट्रक्सनका प्रतिनिधि प्रकाश जोशीले बताए ।
विद्युत् वितरण केन्द्र बैतडी र वितरण केन्द्र पाटनको प्राविधकि टोलीले सिगासमा विद्युतीकरणको काम प्राथमिकतामा राखेको जनाएको छ । सिगासका अन्य वडाहरुबाट पनि लाइन विस्तारको काम भइरहेको विद्युत् वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधव लेखकले बताए ।
सोलारको भरमा उज्यालोको जोहो गर्दै आएका स्थानीयले विद्युत् सेवा पुगेपछि खुसी व्यक्त गरेका छन् । गाउँमा बिजुली पुगेपछि अँध्यारोको झन्झट हटेको र विद्युतीय उपकरण चलाउन पाइएको स्थानीय राजेन्द्रसिंह धामीले बताए । 'घाम नलागेको दिन मोबाइल चार्ज गर्न पनि समस्या हुन्थ्यो । अब घरमा टिभी चलाउन पनि पाइने भएको छ,' उनले भने, 'बच्चाहरुलाई पढ्न र घरको अरु काममा पनि सजिलो हुने भयो ।'
चर्चित प्रस्तावित पश्चिम सेती जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने सिगास गाउँपालिकामा २१ हजार आठ सय १४ जनसङ्ख्या छ । जिल्लाका १० ओटै स्थानीय तह न्दा सिगासमा विकासका पूर्वाधार छन् । पालिकाको केन्द्र रहेको गर्जेमा बल्ल सडक पुर्याउने काम भइरहेको छ भने विद्युत् लाइन विस्तारको काम पनि गत वर्षदेखि सुरु भएको हो ।
२०७८ सालको जनगणना अनुसार बैतडीमा ४८ हजार घरधुरी छन् । जसमध्ये २७ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ भने तीन हजार घरधुरीमा स्थानीय नदी र खोलाबाट ग्रामीण भेगमै उत्पादन गरिएको लघु जलविद्युतको बत्ती बालिएको छ । जिल्लभरिका १८ हजार परिवार अझैसम्म सोलार, झरो र टुकीको भरमा उज्यालोको जोहो गर्दै आएका छन् ।
सबैभन्दा कम विद्युत् पुगेको तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका रहेको प्राधिकरणको बैतडी वितरण केन्द्रका प्राविधिक प्रमुख लेखकले बताउनुभयो । चालु आर्थिक वर्षभित्र शिवनाथका चार सय घरधुरीमा विद्युत् पुर्याउने लक्ष्य रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया