‘मेयरले हाम्रो घाटी निमोठे’ विस्थापितहरु भन्छन् : बाँच्न गाह्रो भयो , वीष खान पैसा छैन्

रञ्जना बि.सी
धनगढी, ५ फागुन । भद्रीकला सुनार उमेरले ८० वर्षकी भईन् । ३५ वर्षकी हुदा पती गुमाईन् । १० वर्षअघि छोरा । भद्रीकला यो उमेरमा बृद्ध एकल बुहारी र नाती नातिनाको सहारा हुन् ।
सबै सहारा गुमाइसकेकी उनको अन्तिम सहारा धनगढी उपमहानगरपालिका–१ नैनादेवी रोडमा रहेको घर थियो । त्यही सहारामाथि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले डोजर चलाएपछि भद्रीकला जीवनको उत्तराद्र्धमा सहारा विहीन भएकी छन् ।
मूल सडकमा उनको १२ कोठाको घर थियो । सटर बनाउन बैंकबाट १८ लाख रुपैया ऋण लिईन् । त्यसमाथि तीन वटा सटर भाडामा लिने व्यक्तिसंग जनही चार लाखका दरले एड्भान्स लिईन् । उनको सपना पुरा हुदै थियो । सटरहरु तयार हुदै थिए । छत ढलान हुन बाँकी थियो । त्यही बेला उनको घर र निर्माणाधीन सटरहरुमाथि उपमहानगरपालिकाको डोजर चल्यो । उनका सबै सपना र खुशी त्यही डोजरले कुल्चिदियो । उनी घरवार बिहीन भईन् ।
ओत लाग्ने अन्यत्र कही ठाउँ थिएन् । उनले एक बर्खा हिलो र पानीमा त्यही भत्किएको घरमा काटिन् ।
''१६ वर्षदेखिको कमाई यही माटोमा लगाए । जिन्दगीभरीको त्यही कमाईमाथि मेयरले डोजर चलाए, उनी भन्छिन्, बाँच्ने सहारा एउटै त्यही घर थियो । त्यसैमाथि मेयरले डोजर चलाउदा हाम्रो मन रोईरहेको छ ।
उनी यतिबेला बिरामी छिन् । स्वास्थ्योपचारका लागि साथमा पैसा नहुदा अस्पताल जान सकेकी छैनन् ।'' भद्रीकला भन्छिन्, ''बेखर्ची छु । आफ्नै जमिनको पैतालाको धुलो पनि पाईएन । सामाजिक सुरक्षाको भत्ता पनि साहुलाई तिर्न पुग्दैन् । के ले औषधी गर्नु ?''
यतिबेला न उनीसंग त्यो १२ कोठाको पक्की घर छ । न त जग्गा । पहिले ११ धुर जग्गा थियो । अहिले ३ धुर जति बचेको छ । र, त्यसमा बचेका छन्, तीन कोठा । त्यसमा पनि तीन जनाको हिस्सा लाग्छ । त्यही कोठा भाडामा दिएर आफू भने डेरामा बसिरहेकी छन् । यो उमेरमा उनीसंग आश्रित छ जनाको परिवार छ ।
५२ वर्षीय बुहारी, बेरोजगार ३५ वर्षीय छोरा, उनकी पत्नी र ७ वर्षीय नातीको पालनपोषणको जिम्मेवारी पनि ८० वर्षीय भद्रीकलाकै काँधमा छ । १६ वर्षको उमेरदेखि मिहिनेत गरेर जोडेको सम्पत्ती र त्यसमाथि ऋण थपेर एउटा घर बनाए, भद्रीकला रुदै भन्छिन्, यो उमेरमा आएर न घर रह्यो । न सम्पत्ती । टाउकोमा ऋणको भारी मात्र छ । तिर्नु कसरी रु केही उपाय छैन् ।
उनीसंग तिर्नलाई बाँकी ऋण छ । बैंकको १८ लाख । र, सटर बनाउन लिएको १२ लाख रुपैया । उनी भन्छिन्, नगरपालिकाले क्षतिपूर्ति दिएको भए ऋण लाग्थेन् । सटर बनाउन बैंक र व्यापारीहरुबाट ऋण लिए । न जग्गा रह्यो । न त सटर । जिन्दगीभरीको कमाई डोजरले कुल्चियो, भद्रीकला भन्छिन्, बैंकले लिलाम गर्ने सम्पत्ती पनि रहेन् ।
नगरपालिकामै गएर हाम्रो बिचल्ली नगरिदिनुहोस मेयर साप भन्दै अनुनय विनय ग¥यौ । त्यसको १० दिनपछि त मेरो घरै भत्काईदिए, भद्रीकलाले भनिन्, त्यसपछि सम्पत्तीका नाममा बचेको घाटीमा एउटा सुनको सिक्री थियो । त्यही बेचे । र, केही समय परिवारको खर्च धाने ।
बाँच्न मेयरले दिएनन् । बुहारी र नाती नातिनाले मर्न दिदैनन् । साँहुहरु पैसा माग्न आउछन्, भद्रीकला भन्छिन्, मेयरले हाम्रो बिचल्ली गरे । क्षतिपूर्ति दिएको भए बाँच्न त सजिलो हुने थियो ।
धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा क्षतिपूर्ति र मुआब्जा नदिएर पहिलो चरणमा कैलाली पुलदेखि क्याम्पस चौकसम्म चार सय २८ घर भत्कायो । ती घरधनीहरु मध्ये अधिकांशको अवस्था भद्रीकलाको जस्तै छ । अधिकांशको उठिवास भएको छ ।
व्यक्तिको निजी सम्पत्तीमाथि नगरपालिकाले विकासका नाममा डोजर चलाउदा विस्थापित भएका सयौं परिवारलाई यतिबेला छाक टार्न समस्या भएको छ । घर भत्किएपछि रोईरहेका उनीहरुका आँखा ओभाएका छैनन् ।
न काल आउछ । वीष किन्न पैसा छैन्, भद्रीकला भन्छिन्, मेयरले हाम्रो घाटी निमोठे । विकासका नाममा मर्नु न बाँच्नु बनाए ।
तपाईको प्रतिक्रिया