धनगढीको उज्यालो : भ्रम र वास्तविकता (भाग २)

मंगलबार फागुन ६, २०८१/ Tuesday 02-18-25
Paschim Today

प्रिय गोपी दाई

वेलायती उपन्यासकार जर्ज अरवेलको एउटा उपन्यास छ– ‘नाईन्टिन एईटी फो(र)’ १९८४ । अरवेलले  १९४९ मा यो उपन्यास लेखेका थिए । उनले रुसमा ३५ वर्षपछि हुने घट्नाक्रम र त्यो समयमा उदय हुने तानाशाह र उसले मान्छेमा उत्पन्न गर्न सक्ने भयका बारेमा उपन्यासमा चित्रण गरेका छन् । उपन्यासका मूल पात्र हुन्, बिग्र ब्रदर । जो तानाशाह हुन् । मान्छेहरु बिग ब्रदरको नाम सुनेर डराउँथे । उनका गुप्तचरहरुले हरेक मान्छेलाई निगरानी गर्थे । कसले के गर्दैछ ? त्यसको चियो गर्थे । हरेक मान्छे त्राहीमाम थिए ।  मान्छेहरु सोच्न वा कुनै निजी विचार व्यक्त गर्न त्रसित हुन्थे। फरक विचार त सोचेको पनि अपराध मानिने अवस्था थियो । त्यस्तो कुरा डायरीमा राख्नु पर्ने अवस्था  थियो । त्यो थाह पाए उनीहरु पक्राउ पर्थे । प्रताडित हुन्थे ।

मान्छेहरु कानेखुशी गर्न पनि डराउथे । मान्छेहरु चुईक्क बोल्दैनथे । मान्छेहरु कतिसम्म त्रसित थिए, सास फेर्न पनि डराउने । तानाशाहले थाह पाए मरिन्छ कि भन्ने डर ? उनीहरु बिग ब्रदरका बारेमा सोच्न पनि डराउथे । सोचेको कुरा पनि तानाशाहले थाह पाए बाँच्न पाईदैन भन्ने डर थियो । मान्छेहरु अध्याँरोमा पनि कुरा गर्न डराउने । 

पछिल्ला ३४ महिना धनगढीका मान्छेभित्र यस्तै डर रह्यो । आफूमाथिका सबै अन्याय, अत्याचार, ज्यादती र प्रतिशोध चूपचाप सहिरहे । बसिरहेको घर भत्कियो । ओत विहीन भए । तर बोल्न डराए । लेख्न डराए । सामाजिक सञ्जालमा लाईक र शेयर गर्न डराए । कमेण्ट गर्ने आट त कसले गरोस । हो, उनीहरुले ऐया पनि भन्न सकेनन । सडक विस्तारका क्रममा पसल भत्कियो । व्यापार चौपट भयो । सबै जायजेथा लिलाम भयो । कोही बोलेनन् । बरु उनीहरुले चुपचाप धनगढी छोडे । त्यो संख्या प्रतिदिन थपिदैछ । 

धनगढीका बासिन्दाले सर्वप्रथम कोभिडको पहिलो चरण झेले । त्यसपछि दोस्रो चरण । जुन संसारले पनि झेल्यो । कोभिडको दोस्रो चरणमा धनगढी र महेन्द्रनगरमा २४८ जनाले ज्यान गुमाए ।

त्यसपछि मुलुकको अर्थतन्त्र खराव भयो । जसको असर व्यापार व्यवसायमा प¥यो । कोभिडबाट थला परेका व्यवसायी र सर्वसाधारण त्यो खराव अवस्थाबाट माथि उठ्दै थिए । तंग्रिने कोसिस गरिरहेका थिए ।

त्यसपछि निर्वाचित भएर तपाई आउनुभयो । धनगढीका नागरिकले ३४ महिना यता तपाईलाई झेलिरहेका छन् । तपाई त कोभिडभन्दा ठूलो विपत्ति भएर आउनु भयो । दुई पटक कोभिडको महा विपत्ति र खराव अर्थतन्त्र झेलेका नागरिकलाई कसरी बाँच्ने वातावरण बनाउने भन्नेमा तपाईको ध्यान जानु पथ्र्यो । तर तपाई त मान्छेका घर वस्ती उजाडेर सडक चौडा गर्न उद्दत हुनुभयो ।

यो ३४ महिनामा बजारका मान्छेहरुको बेहाल छ । भर्खरै शुरु गरेको व्यवासी त वर्वाद भए नै । वर्षौदेखि व्यवसाय गर्दै आएकाहरुको पनि उठिवास गर्नुभयो । 

सडक विस्तारका क्रममा भत्किएर दुई पटक घर टालटुल गरेर जेनतेन बसेकाहरु अहिले सडकभन्दा मुन्तिर घर भएपछि न त्यो घरमा व्यापार गर्न सक्ने अवस्थामा छन् । न त त्यो घर भत्काएर नयाँ घर निर्माण गर्न सक्ने अवस्थामा छन् । धनगढीका मूल सडकका मान्छेले घरभित्र पस्न सिढी लगाएका छन् । 

तपाईको विकासले शहर कुरुप भयो कि सुन्दर ? सडक छेउका घरहरु हेर्नुहोला । र, ती घरधनी र त्यहाँ पसल कुरिरहेका, जसले अढाई वर्षदेखि सटरको भाडा, बैंकको व्याज र छोराछोरीको ‘स्कुल फि’ तिर्न सकेका छैनन्, उनीहरुलाई सोध्नुहोला, व्यापार कस्तो छ ? उनीहरुको हाल कस्तो छ ?

३४ महिनापछि अव व्यापार हुन्छ कि भन्ने आसमा रहेकाहरुका सटर अगाडि फलामको रेलिङ लगाइ दिएपछि तपाईले उनीहरुले मार्नु परेन, यसै मर्छन्, त्यसै मरेकै थिए । हुन् त तपाई निकटका मान्छेले रेलिङ उहिल्यै हटाए । अरुलाई त्यही हटाउदा जरिवाना लगाउनु भयो । यसैलाई भन्छन्, मत्स्य न्याय ।

सडकको जस लिईरहनु भएको छ । रेलिङको अपजस लिन तयार हुनुहुन्न । त्यो त मैले राखेको होईन भन्नुहोला । छ लेनको सडकमा राखेका डिभाईडर आफू खुशी हटाउने तपाईलाई रेलिङ हटाउन के ले रोक्यो ? 

तपाईले दशरथ–भीम उद्यान(पार्क)मा सपिङ कम्प्लेक्स बनाउने निर्णय गर्नुभयो । नागरिकले सार्वजनिक जग्गा मिचेर व्यापारिक भवन बनाए राज्यले हस्तक्षेप गर्छ । र, त्यसलाई रोक्छ । तपाई स्वयम राज्य । अनि तपाईले नै सार्वजनिक उद्यान मासेर व्यापारिक कम्प्लेक्स बनाउदा रोक्ने कसले ?
नागरिक समाजले पार्क मासेर सपिङ कम्प्लेक्स नबनाउन ज्ञापन पत्र बुझाउदै त्यसलाई पार्ककै रुपमा राखिदिन आग्रह गरे । त्यही आग्रह गर्नेहरुलाई विकास बिरोधीको कित्तामा राख्न लगाएर तपाईले मिडिया मार्फत उनीहरुको हुर्मत लिनुभयो । र, चुप लगाउनुभयो । जुन समाजमा नागरिक समाजको आवाज दबाउन मिडियाहरु शासकको मतियार बन्छन्, त्यो समाज कस्तो होला ?

धनगढीमा तपाईले दुःख नदिएको, तपाईले प्रताडित नगरेको र तपाईले नलखेटेको के कुनै ठूलो व्यापारी र सामाजिक संघसंस्थाका अगुवा बाँकी छन् ? दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्टलाई कतिपटक सार्वजनिक रुपमा प्रताडित गर्नुभएको छ ? कतिपटक रुवाउनु भएको छ ? जसले आफ्नो पुरै जीवन, जीवनका सारा रहर र आकांक्षाहरु बेसाहारा र मानसिक समस्या भएका महिला र बालबालिकाहरुको जीवनका लागि समर्पित गरेकी छन् । १५ हजार रुपैया सहयोग गरे वाफत कहिलेसम्म प्रताडित गर्नुहुन्छ, कल्पनालाई ?

बेहडाबाबा मन्दिरका अध्यक्ष पदमराज जोशीलाई आफ्नो कार्यकक्षमा सबैका अघिल्तिर हुर्मत लिनुभयो । अपमान गरिरहनु भयो । उनी चुपचाप सुने । र, बाहिर निस्किए । बाँकी भित्र बस्ने सबै रमिते भए । त्यो कुर्सीमा कहिलेसम्म बस्नुहुने हो ? कहिलेसम्म यसरी आफूलाई मन नपर्ने मान्छेको हुर्मत लिनुहुने हो ? के सधैभरी त्यही कुर्सीमा बसिरहनु हुने हो ?अझै कतिपटक उनको हुर्मत लिएपछि तपाईको धीत मर्ने हो ? एउटा अवला नारीलाई पटक पटक प्रताडित गरेर कस्तो बहादुरी देखाईरहनु भएको छ ? उनको कहाँ र कहिले कति पटक हुर्मत लिनुभयो, त्यसको बेलीविस्तार पनि गर्नेछु, कुनैदिन ।

दुर्योधनको सभामा द्रोपदीको चीर हरण भईरहदा मौनता साँधेर बस्ने भिष्म पितामह झै, तपाईको कार्यकक्षमा कल्पनाको चीरहरण भईरहदा ‘मौनताको संस्कृति’मा बाँचेका सुदूरका भिष्म पितामहहरु देख्दा उदेक लाग्छ ।  

यही सुदूरकी चेली कल्पना भट्टलाई लखेट्नुहुन्छ । अनि त्यही कार्यका लागि बाहिरबाट आउने अरुलाई सहयोग गर्नुहुन्छ । तर त्यसको अर्थ अरुलाई सहयोग गर्नुहुदैन भन्ने आशय होईन । कहाँ गयो तपाईको स्थानीयता ? कहाँ हरायो तपाईको सुदूर पश्चिम प्रेम ? 

नागरिक समाज, सामाजिक संघसंस्था र यो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका अगुवाहरुको हुर्मत लिनुहुन्छ । कतिको लिनुभयो, कहिले लिनु भयो, जसको फेहरिस्त सार्वजनिक गर्न सक्छु । के कारण लखेट्नु भयो त्यो पनि प्रमाण सहित । 

तपाईको आलोचना गर्ने, सामाजिक सञ्जालमा कमेण्ट गर्नेलाई धम्क्याउनुहुन्छ । लाईक, कमेण्ट र शेयर गर्नेहरुलाई शक्तिको दुरुपयोग गरेर दुःख दिनुहुन्छ । के हामी रामराज्यमा छौ ? के यो अढाई वर्षको कार्यकालमा कुनै नराम्रा काम भएका छैनन ? किन कुनै मिडियाले लेख्दैनन । किन कोही व्यक्ति बोल्दैनन । मिडियाको मुख थुनि दिनुभएको छ । बोल्नेलाई लखेटिदिनुहुन्छ । अनि कोही बोल्ने आँट कसरी गरुन ?

मिडियाकर्मी र नागरिकमा यस्तो डर माओवादी द्वन्द्व र राजाको शासनकालमा पनि थिएन । जति डर यतिबेला तपाईको शासनमा धनगढीले भोगेको छ ।

कर्णाली बिज्ञान प्रतिष्ठान जुम्ला पुगेर कोकोहोलो मच्चाउनुहुन्छ । गेटा मेडिकल कलेज पुगेर सरकारलाई गाली गर्नुहुन्छ । नेतालाई गाली गर्नुहुन्छ । अव त तपाई आफै सरकार होईन । तपाई नगरपालिका छेउको सेती प्रादेशिक अस्पताल कहिल्यै जानु भएको छ ? त्यहाँको सेवा, सुबिधा र उपचारको व्यवस्था राम्रो बनाउन कहिल्यै बोल्नु भएको छ ? छैन, किनकी गेटा मेडिकल कलेज र कर्णाली बिज्ञान प्रतिष्ठान गएर स्टन्ट गर्दा जति चर्चा हुन्छ, त्यति चर्चा सेती प्रादेशिक अस्पताल जाँदा हुदैन । पहिले तपाई आफ्नै मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य ईकाईमा सुधार ल्याउन पहल गर्नुस । स्टन्ट होईन । त्यसको अर्थ गेटा मेडिकल कलेजका बारेमा बोल्न छोड्नु भनेको होईन । 

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुदा सुन्दर सुदूर पश्चिम अभियान थाल्नु भयो । यहाँका धार्मिक र पर्यटकीय स्थलको तस्वीरहरु प्रकाशन गर्नुभयो । जव आफू मेयर हुनुभयो, धनगढीका नागरिकलाई देवघाट र मुक्तिनाथको तीर्थाटनमा लगेर लाखौ रुपैया खर्च गर्नुभयो । 

सुदूर पश्चिमका सात भगवतीको कुरा गरेर नथाक्ने तपाईले यहाँका नागरिकलाई किन त्रिपुरा सुन्दरी, शैलेश्वरी, बैद्यनाथ, उग्रतारा घुमाउन लैजानुभएन ? सडक छेउका भित्तामा सुदूरपश्चिमका प्रसिद्ध शक्तिपीठहरुको तस्वीर बनाउन लगाउनुभयो, हाम्रा सबै मठमन्दिरहरुलाई तपाईले भित्तामा सिमित राख्नुभयो, किन ? यो नाटक नभएर के हो ? 

अझ तपाईले तिर्थाटनमा ज्येष्ठ नागरिकलाई सहजीकरणका लागि पठाएका दुई जना बटुकको नारायणी नदीमा बगेर मृत्युहुदा उनका परिवारलाई क्षतिपूर्ति र राहत दिनुको साटो उनीहरुको मृत्युलाई गुपचुप पार्नुभयो ? के अरुको पालामा यस्तो घट्ना भएको भए तपाईले त्यसलाई बाँकी राख्नुहुन्थ्यो ? 
कहाँ गयो तपाईको सुन्दर सुदूर पश्चिम अभियान ? भनाई र गराईमा किन यति अन्तर ? अरुलाई दवाव दिने मान्छे तपाई, आफै पदमा पुगेपछि किन फेरिनुभयो ? के तपाईले बिगतमा थालेका अभियान पदमा पुग्नका लागि रचिएका प्रहसन मात्र हुन् ?

मदन पुरस्कार बिजेता रामलाल जोशीको तस्वीर भित्तामा कोर्नुभएको छ । र, साथमा अन्य स्रष्टाहरुको पनि । बाहिरबाट हेर्ने मान्छेहरुलाई लाग्छ, तपाई कति साहित्यप्रेमी ? तर तिनै जोशीले धनगढीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दा पूर्व मेयरले बिनियोजन गरेको बजेट तपाईले निर्वाचित भएपछि रोकिदिनुभयो ? 
त्यो रकम निकासाका लागि जोशी सहित साहित्य समाजको टीमले गरेको आग्रहलाई तपाईले आग्रह गर्नुभयो । र, जोशी तपाईको कार्यकक्षबाट तपाई पदमा रहदासम्म पालिकाभित्र प्रवेश नगर्ने प्रण गरेर फर्के । जोशी सहितका साहित्यस्रष्टाको भित्तामा तस्वीर कुदेर प्रशंसा बटुल्नु भयो । तर जोशी सहितका सुदूरपश्चिमका स्रष्टाहरुलाई भित्तामा पु¥याउनुभयो । 

तपाईले पहिले आफ्नो जग्गामा २० फिटको बाटो बनाएर जग्गा प्लटिङ गर्नुभयो । र, त्यसपछि जग्गा प्लटिङ सम्बन्धि कार्यबिधि ल्याउनुभयो । अरुको हकमा ३३ फिटको बाटो हुनुपर्ने नीति बनाउनुभयो । आफूले २० फिटमा बेचिरहनुभएको छ । अरुले जग्गा बेच्दा दलाल हुने भए तपाईको हकमा त्यो परिभाषा कसरी फरक हुन सक्छ ? दिनेश रियलस्टेटका नाममा तपाईले शुरु गरेको जग्गा प्लटिङ व्यवसायको आलोचना हुन थालेपछि नाम फेर्नुभयो, धनगढी रियल स्टेटका रुपमा । वाह ! आफूले गरे व्यवसाय । अरुले गरे धन्दा । आफू प्लटिङ गरे घडेरी बेच्ने, ऋणमुक्त हुने । अरुले चाही मर्नुपर्ने ? 

मृगौलाको उपचार गर्न होस वा छोराछोरीलाई पढ्न विदेश पठाउन आवश्यक पर्ने पैसाका लागि जोहो गर्न नागरिकसंग बेच्न मिल्ने त्यही जग्गा थियो । तपाईको त्यो नीतिले दुई वर्षदेखि बिलखबन्दमा परेका ती नागरिकका पीडा बुझ्नु भएको छ, जसले जग्गा बेच्न नपाएर छोराछोरीको बिबाहको खर्च जुटाउन सकेनन । जसले बैंकको व्याज तिर्न पाएनन । तपाईको यो नीतिले आत्महत्या गर्न नसकेर किस्ताकिस्तामा मरिरहेका नागरिकका पीडा तपाईलाई दुख्नुपर्छ कि पर्दैन ? 

तपाईको त्यही नीतिका कारण दुई वर्षदेखि धनगढीमा मान्छेहरुले जग्गा बेच्न पाएका छैनन । सर्वसाधारणको बैंकको व्याज तिर्न होस वा छोराछोरीलाई विदेश पठाउन र विवाह गर्न, गर्जो टार्ने त्यही जग्गा थियो, त्यही बेच्न नपाउदा छटपटाईरहेका नागरिकका आँशु र पीडाले तपाईलाई पोल्छ कि पोल्दैन ? 

हरेक मान्छेको जीवनको सपना हुन्छ, एउटा घडेरी होस । अनि एउटा घर होस । तपाईको जग्गा सम्बन्धि नीतिले सामान्य कमाई हुने मान्छेको न त घर हुन्छ । न त उसले जिन्दगीभरीको कमाईले घडेरी जोड्नसक्छ । तपाईको नीति, लहड, चटक र स्टन्टको शिकार उद्यमी, व्यवसायी मात्र भएका छैनन, भुईमान्छेहरु पनि भएका छन् । तपाईको नीति अनुसार त धनगढीमा ११ धुरभन्दा घटिको जग्गामा घर बनाउदा नक्सा पास नै हुदैन । अनि पाँच धुर र सातधुरमा घर बनाउने सपना पालेकाहरुले के धनगढीमा नबस्नु ? के यो शहरमा गरीवले बस्न नपाउनु ? 

सबैका लागि जग्गा बिक्रीको बाटो बन्द गरिदिनुभयो, अनि आफ्नै भाईका निम्ति एक दिनका लागि त्यो नीति फुकुवा गरिदिनुभयो । यो कस्तो नीति हो ? के यो शहरमा तपाईका भाई, भारदार बाहेक अरुलाई बाँच्ने अधिकार छैन ।

धनगढीको मूल सडकका झण्डै चार सय २८ परिवार तपाईको विकासको भोकको शिकार भए । त्यस बाहेक पनि दर्जनौ परिवार विभिन्न नाममा विस्थापित भएका छन् । न मुआब्जा । न क्षतिपूर्ति । तपाईले घरमाथि होईन, उनीहरुको जिन्दगीमाथि डोजर चलाउनुभएको हो । त्यही सडक भएर हुलाकी सडक जादैथियो । र, घरधनीले मुआब्जा पाउदै थिए । तपाईले त्यतिबेला हुलाकी सडकको बिरोध गर्नुभयो । किनकी मेयर कोही अर्कै थिए । आफूले भने त्यही सडक विस्तार गर्दा मुआब्जा नदिएरै घर भत्काउनुभयो । र, घर भत्काउन नमान्ने र आफ्नो सम्पत्ती रक्षाका लागि अदालत जानेहरुलाई नानाथरीका दुःख दिनुभयो । 

तपाईले आफ्नो सम्पत्तीको रक्षाका लागि अदालत जानेहरुको घाटी निमोठ्नुभयो । उनीहरुको व्यवसाय र व्यक्तिगत सम्पत्ती धराशायी बनाउनुभयो । यो कस्तो प्रतिशोध ? 
एकछिन तपाईको नीतिलाई सही माने, तपाईले भत्काउनु भएका संरचना सडक क्षेत्र मिचेर बनाईएका थिए रे । ती संरचना भत्काएर सडक विस्तार गरेको दुर्ई वर्ष पुग्न थालिसक्यो, तर नक्सा पासका लागि नगरपालिका जादा नागरिकसंग सडक बनिसकेको त्यही जग्गाको पनि पोत असुलि रहनु भएको छ । तपाईले सडक बनाईसकेको जग्गाको लगत कट्टा नगर्दा आफैसंग नरहेको जग्गाको पोत नागरिकले कहिलेसम्म तिरिरहनु पर्ने हो ?  

विकासका नाममा तपाईले नागरिकको जायजेथा र सम्पत्ती हड्पेको हो भन्ने यसले नै पुष्टि गर्दैन र ? यो विकास होईन, बिनाश हो । विकास भनेको त नयाँ चिजको सृजना पो हो । तपाईले सबैचिज भत्काउनुभयो, तहस नहस गर्नुभयो । र, नागरिकलाई सडकमा ल्याउनुभयो । तपाईको विकासको भोकको शिकार कहिलेसम्म नागरिकहरु भईरहनु पर्ने हो ?

त्यसमध्ये केहीलाई कार्यक्रममा बोलाएर माला लगाउनुभयो । तर तपाईको डोजरमा कुल्चिन तयार भएर आफ्नो सम्पत्तीको बचाउका लागि उत्रिएकाहरुलाई नगरप्रहरी लगाएर कहाँ पु¥याउनुभयो ? र, आफ्नो सम्पत्तीको रक्षाका लागि अदालतमा जानेहरुलाई कसरी सिध्याउनुभयो ? त्यो बाहिरका मान्छेलाई पो थाह छैन, धनगढीका आम मान्छेलाई त्यो थाह नभएको हो र ? (दुष्यन्त वस्नेतले अदालतमा आफ्नो होटलको बचाउका लागि मुद्दा हाले, तपाईले संजिवनी अस्पतालको लाईसेन्स रद्द गरिदिनुभयो,जव अस्पताल पुरै धराशायी भयो, अदालतको मुद्दा फिर्ता लिएपछि एक वर्षपछि तपाईले लाईसेन्स दिनुभयो, बस्नेतसंग प्रतिशोध साँध्ने नाममा तपाईले अस्पतालका अन्य लगानीकर्तालाई पनि बर्बाद गर्नुभयो ।) 

नागरिकलाई उसको सम्पत्तीबाट बेदखल गर्नुअघि उसको जीवनयापनका लागि बैकल्पिक उपायको व्यवस्था गर्नु नगरपिताका हैसियतले तपाईको जिम्मेवारी हो कि होईन ? मूल प्रश्न यो हो । 

डोजरले नागरिकका घर भत्काएका दृष्य सामाजिक सञ्जालमा लाईभ गरेर तपाई त लाईक, शेयर र कमेण्टमा रमाउनुभयो । तर तिनका आँशु, पीडा र क्रन्दनलाई लुकाउनुभयो । कहाँ गयो तपाईभित्रको संवेदना ?  

तपाईनै भनिदिनुस, धनगढीमा शव वाहन बाहेक के निशुल्क छ ? र, मरेपछि पाईने पाँच हजार रुपैया बाहेक ज्यूँदो छदा नगरपालिकाबाट पाईने सुबिधा के छ ?
कर, कर, अनि कर । बस्, जे चिजमा पनि ढाड सेक्ने गरी कर । हुदा हुदा परालमा पनि कर लगाउनुभयो । त्यो निर्णय गर्दा तपाईका हात काँपेनन ?
आजको लेखलाई एउटा सानो कथासंगै टुंग्याउदैछु । 

एकादेशमा एक जना मान्छेले ज्योतिष कहाँ पुगेर आफ्नो हात देखाउछ । ज्योतिषले हात हेर्दै भनेछ, संसारमा तपाई जति अभागी कोही छैन् । तपाईका आँखा अगाडि तपाईको छोरा, नाती, पनाती र पुरै शाखा सन्तानको मृत्यु हुन्छ । 

यो सुनेर त्यो मान्छेको कन्सरी तात्छ । रिसले आगो भएको त्यो मान्छेले ज्योतिषलाई लखेट्छ ।

फर्केर घर आउछ । सुत्न सक्दैन् । भोलि पल्ट विहानै उठेर अर्को ज्योतिषलाई हात देखाउन जान्छ । त्यो ज्योतिषले भन्छ–तपाई त संसारकै सवैभन्दा भाग्यमानी । तपाई जति भाग्यमानी अहिलेसम्म कोही जन्मेकै छैन् ।

तपाईले छोरा देख्नुहुन्छ । नाती देख्नु हुन्छ । पनाती देख्नुहुन्छ । यति शाखा सन्तान त आजसम्म कसैले देखेकै छैन् ।

ज्योतिषले एउटा कुरा लुकायो, कि तपाईको आयु लामो छ । सन्तानको छोटो ।

फेरि अन्तिममा भन्यो, तपाई त संसारकै भाग्यमानी । त्यो मान्छे खुशी भयो । फुरुङ भयो । मनग्गे दक्षिणा दिएर फर्कियो ।

प्रिय गोपी दाई, तपाईलाई भाग्यमानी भनु कि अभागी । तपाई यो शहरको नगर पिता हो । आँखा अगाडि प्रियजनहरुको उठिवास भएको हेर्न बाध्य हुदै हुनुहुन्छ । अरुको त तपाईलाई के चिन्ता हुन्थ्यो ?
क्रमश ः