महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड

शुक्रबार फागुन ९, २०८१/ Friday 02-21-25
Paschim Today

धनगढी,९ फागुन । महिला जागरण तथा विकास केन्द्रको आयोजनामा लैङ्गिक हिंसा निवारण कोषसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम  धनगढीमा सम्पन्न भएको छ। जसलाई दलित महिला अधिकार मञ्च नेपालले संयोजन एइआइएनको सहयोगमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिइएको छ। लैङ्गिक हिंसा निवारणबारे बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महिलाहरू आर्थिक रूपमा कमजोर भएकै कारण हिंसा सहन बाध्य हुने बताइन्। उनले लैङ्गिक हिंसा न्यूनीकरणका लागि महिलाहरूलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको उल्लेख गरिन्।

महिला जागरण तथा विकास केन्द्रकी निवर्तमान अध्यक्ष अनिता श्रेष्ठले पनि महिलाको आर्थिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन । उनले रोजगारीको अवसर, स्वास्थ्य सेवा तथा ग्रामीण महिलाहरूलाई विशेष अधिकारको आवश्यकता भएको औँल्याइन्।

यस्तै गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले महिला अधिकार संरक्षण र लैङ्गिक हिंसा निवारणका लागि स्थानीय तहहरूले प्रभावकारी रूपमा काम गरिरहेको बताइन्।

कोषको नीति तथा कार्यान्वयनबारे छलफल

कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोषका नीति, कार्यविधि तथा स्थानीय तहहरूमा कोषको प्रभावकारी सञ्चालनबारे गहन छलफल गरिएको थियो।

महिला जागरण तथा विकास केन्द्रकी संस्थापक अध्यक्ष शशी कुमारी अधिकारीले महिलाका कानुनी अधिकार, पीडितलाई प्रदान गरिने क्षतिपूर्ति, कोषको सञ्चालन प्रक्रिया, आर्थिक व्यवस्थापन तथा कार्यान्वयनका चुनौतीहरूबारे विस्तृत जानकारी दिइन्।

सहभागीहरूले लैङ्गिक हिंसा निवारण तथा पीडित संरक्षणका लागि स्थानीय तहहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कोषलाई सञ्चालन गर्ने, महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिने र स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकतामा ध्यान केन्द्रित गरेको छ।

कार्यक्रममा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, सदस्यहरू तथा न्यायिक समिति सदस्यहरूको उपस्थिति रहेको थियो।