बाजुरामा दाई नभनेको झोकमा हत्या

कैलाली । बाजुरामा सामान्य विवादमा युवकको हत्या गरिएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बुढिगंगा नगरपालिका–८ का सन्तोश खड्काको विहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरिएको हो।
विहेको भोजमा मादक पदार्थ सेवन गरेर ‘आफूलाई सबै केटाहरुले दाई भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिलिप गिरीले जानकारी दिए ।
सोही क्रममा थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका युवकको अछामको बायलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको डीएसपी गिरीले जानकारी दिए ।
उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो ।
तपाईको प्रतिक्रिया