फूलबारीको नोबल एकेडेमीमा स्टीम मेला: विज्ञान -प्रविधिसँगै स्थानीय खानाको प्रवर्धनमा जोड

कैलाली, १९ फागुन । कैलालीको नोबल एकेडेमीले स्टीम मेला सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका- १४ फुलबारीमा रहेको एकेडेमीले स्टिम मेलासँगै फुड फेस्टिवल पनि सम्पन्न गरेको हो। मेलामा विद्यार्थीहरुले निर्माण गरेका साइन्स-टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथमेटिक्स सम्बन्धी विभिन्न सामग्री प्रदर्शन गरेका थिए।
विद्यालयका शिक्षक सागर ओझाले विगत तीन वर्षदेखि नोबल एकेडेमीले स्ट्रिम मेला आयोजना गर्दै आएको जानकारी दिए। विज्ञान प्रदर्शनी मेलासँगै स्थानीय खानाका परिकारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ फुड फेस्टिवल पनि मनाउँदै आएको बताए।
यस मेलामा विद्यार्थीहरूले आफ्नो ज्ञान सीप र क्षमता अनुसारका विज्ञान -प्रविधि सम्बन्धी उपकरण र विभिन्न खानाका परिकार हरू मनाउने गरेका छन्। विद्यालयले कृषिलाई मध्यनजर गर्दै नर्सरीमा विभिन्न बिउविजन, फलफुलका बिरुवा र च्याउ उत्पादन गर्ने गरेको छ । जसमा विद्यार्थीको प्रत्यक्ष संलग्नता रहने गर्दछ ।
नोबल एकेडेमीकी प्रिन्सिपल सुस्मा प्रसाईले विद्यार्थीको अध्ययन सँगै व्यवहारिक ज्ञानलाई जोड दिन स्ट्रिम मेला आयोजना गरेको बताइन् । उनले विज्ञान प्रविधिको युगमा विद्यार्थीलाई घोकन्ते विद्या नभएर व्यवहारिक सीपसहितको शिक्षा दिनुपर्नेमा जोड दिइन् ।
'हामी विद्यार्थीलाई पढ्नु मात्रै पर्छ, फर्स्ट सेकेण्ड हुनै पर्छ भनेर दबाब दिन्छौं । उसले के चाहन्छ , उसको रुचि के मा छ भनेर कहिल्यै सोच्दैनौं । यसले गर्दा विद्यार्थी न पढाइमा राम्रो गर्न सक्छ । नत आफ्नु रुचि को विषयमा ।' उनले भनिन्, ' अविभावक होस् वा शिक्षक जोसुकैले पनि बालबालिका के चाहन्छन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । र त्यही अनुसार उनीहरूलाई गाइड गर्नु पर्छ । विद्यार्थीलाई शिक्षा मात्र होइन व्यवहारिक ज्ञानसहितको शिक्षा दिनुपर्छ ।'
मेलामा विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न विउविजनका बोटबिरुवा, विज्ञान प्रविधि सम्बन्धी विभिन्न उपकरण, स्थानीय खानाका परिकार सहित विभिन्न चित्रहरू विक्रिका लागि स्टलहरू पनि राखेका थिए ।
स्थापनाको छोटो समयमै पहिचान बनाउन सफल नोबल एकेडेमी २०७२ सालमा फुलबारीमा स्थापना भएको थियो । ३५ जनाबाट सुरु गरेको विद्यालयमा हाल १५ जना शिक्षकसहित तीन सय भन्दा बढी विद्यार्थी रहेका छन्।
तपाईको प्रतिक्रिया