घोडाघोडीमा तीन सय ८२ प्रजातिका चरा
2025-03-04-03-09-58.jpeg)
धनगढी, फागुन २० गते। कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्।
रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।
घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।
चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य क्षेत्र घोषणा गरेको थियो।
यस आरक्षमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्। हरिहाँस, नादुन हाँसले घोडाघोडी तालमामात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ। अन्तर्राष्ट्रिय रामसारमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरु घोडाघोडी जैविक विविधताको एक अभिन्न अवयव रहेकाले चराको संरक्षणका लागि प्रदेश सरकारले पन्छी अभयारण्य क्षेत्र बनाएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए। उनले पन्छी अभयारण्य क्षेत्र घोषणापछि प्रदेश सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिए।
चरा आरक्ष घोषणापछि प्रदेश सरकारले पन्छी अभयारण्य कार्ययोजनाको तयारी, चोरी शिकारी नियन्त्रण दल परिचालन, वन हेरालु तथा चोरी शिकारी नियन्त्रण दललाई नेचरगाइड तालिम प्रदानको कार्य गरेको छ। यसैगरी, चरा संरक्षणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन, चरा संरक्षणका लागि सरोकारवालाबिच समन्वय बैठक बस्ने, चरा गणना लगायतको कार्य भएको श्रेष्ठले जानकारी दिए।
तपाईको प्रतिक्रिया