कामना सेवा विकास बैंकद्वारा धनगढीमा 'बैंकिङ एण्ड बिजनेस कन्क्लेभ'

कैलाली, २५ फागुन । पछिल्लो समय व्यवसायी र बैंकहरूबीचको दूरी घटाउने उद्देश्यले कामना सेवा विकास बैंकले शुक्रबार धनगढीमा ‘बैंकिङ एण्ड बिजनेस कन्क्लेभ’ सम्पन्न गरेको छ। कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित उक्त कार्यक्रम धनगढीका करिब १२० भन्दा बढी व्यवसायीको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमको मध्यस्थता नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले गरेका थिए। नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, वित्तीय विज्ञ एफसीए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा कार्यक्रमका प्रमुख वक्ता रहेका थिए।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक ढकालले आर्थिक स्थायित्व, दिगो विकास, र समुन्नतिको लागि राष्ट्र बैंकले दीर्घकालीन सोचका साथ नीति निर्धारण गर्ने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक निर्देशन दिने बताए। उनले व्यवसायीहरूका गुनासाहरू राष्ट्र बैंकसमक्ष राख्न सकिने व्यवस्था रहेको जानकारी गराए।
एफसीए उमेश राज पाण्डेयले बैंक र व्यवसायीबीच केही फरक दृष्टिकोण रहे पनि दुबै पक्ष एकअर्काका परिपूरक भएकोले आर्थिक अनुशासन पालनासँगै सम्बन्ध सुधार हुने धारणा राखे।
वरिष्ठ उपाध्यक्ष ओझाले व्यवसायीहरू संकटमा रहेको अवस्थामा बैंकहरूसँग छलफलको अनुरोध गर्दा धेरै बैंकहरू नआउने तर कामना सेवा विकास बैंकले व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम ल्याएकोमा धन्यवाद व्यक्त गरे। उनले कोभिड(१९ पछि व्यवसायीहरू अझै पूर्णरूपमा उक्लन नसकेको भन्दै नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूले राहतयुक्त योजना ल्याउनुपर्ने माग गरे।
कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले व्यवसायीहरूको समस्या बुझ्दै बैंकको कारोबारलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले नियमन कडा भए पनि दीर्घकालमा व्यवसायीहरूका लागि सकारात्मक प्रभाव पार्ने बताए।
तपाईको प्रतिक्रिया