प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार तेस्रो जित

शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित दर्ता गरेको छ । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको विभागीय डर्बीको यस खेलमा पुलिसले एपीएफमाथि २ विकेटको जित हात पारेको हो । 

प्रतियोगितामा एपीएफको भने यो पहिलो हार हो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपीएफ २७.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको हो । एपीएफले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ११ रन बनाए । रासिद खानले १० रन बनाए । गुल्सन झा १२ रन र करण केसी १ रनमा अविजित रहे । एपिएफका लािग भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट लिँदा कमल सिंह ऐरीले १ विकेट लिए । 

त्यसअघि,ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए । अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे । 

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफको ब्याटिङ धरापमा पार्न पुलिसका बायाँ हाते स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.४ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका थिए । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए ।