कैलालीमा एसईई परीक्षा: प्रश्नपत्र हल गरिरहेको अवस्थामा एक शिक्षक पक्राउ 

बिहीबार चैत ६, २०८१/ Thursday 03-20-25
Paschim Today

धनगढी ।  कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र हातमा लिएर हल गरिरहेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरस्वती मावि, कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनलाई राष्ट्रिय मावि, मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले बिहान ९स्३५ बजे प्रश्नपत्र पठाएको खुलेको छ। ‘उनले प्रश्नपत्र हल गरिरहेका थिए, तर कसैलाई चिट चोराएको प्रमाण भने फेला परेको छैन,’ सिंहले भने।

घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। यस्तै, प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आए पनि उनको संलग्नता पुष्टि नभएको जनाएको छ।