डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी

मंगलबार चैत ११, २०८१/ Tuesday 03-25-25
Paschim Today

डडेल्धुरा ।  जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३१५ को जाँच गर्ने लक्ष्य रहे पनि १४६ जनामात्र परीक्षण गरिएको थियो । हालसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकामा ३२ जना रहेका छन् । 

यसैबीच, ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता हो’ भन्ने नाराका साथ यहाँ विश्वक्षयरोग दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक पर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले सहकार्य र समन्वय सफलता प्राप्त गर्ने मुख्य आधार भएको भन्दै क्षयरोग नियन्त्रणका लागि सबै निकायले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्थानीय स्रोत व्यक्ति हरिप्रसाद भट्टका अनुसार नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगी देखापर्ने बताउँदै ३० हजार बिरामीको मात्र पहिचान हुने जानकारी दिए। क्षयरोग सजिलै सर्ने भएकाले एक सङ्क्रमित व्यक्तिले १० देखि १५ जनासम्मलाई यो रोग सार्नसक्ने भएकाले सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

गत वर्ष ८८ बिरामी उपचारपछि निको भएकामा छ जनाको मृत्यु भएको थियो । यस वर्ष हालसम्म एक जनाको मृत्यु भइसकेको छ । कार्यक्रममा सहभागीहरूले क्षयरोगबारे जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।