सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

बिहीबार चैत १३, २०८१/ Thursday 03-27-25
Paschim Today

धनगढी, चैत १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँ पुँजीगत (विकास बजेट) खर्च गरेको छ । 

पुँजीगततर्फ जम्मा १८ अर्ब ७५ करोड ५९ लाख रुपियाँ छुट्याएको प्रदेश सरकारले फागुनसम्म कुल विनियोजनको १४.६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । चालु खर्चको तुलनामा पुँजीगत बजेट खर्च न्यून रहेको छ । आव सकिन बाँकी रहेको चार महिना अर्थात् अन्तिम चौमासिकभित्र प्रदेश सरकारले १६ अर्ब एक करोड पुँजीगत रकम खर्च गर्नुपर्ने देखिएको छ । 

पुँजीगत बजेट खर्चमा सन्तोषजनक प्रगति हासिल गर्न नसकेको सरकारले चालु खर्च भने ३०.३५ प्रतिशत पु¥याएको छ । फागुन मसान्तसम्म चालुतर्फको बजेट तीन अर्ब ८७ करोड ५४ लाख रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जानकारी दिएको छ । सरकारले चालु आवमा चालुतर्फ १२ अर्ब ७७ करोड छ लाख बजेट विनियोजन गरेको छ । 

चालु आवका लागि असारमा प्रस्तुत बजेट सदनबाट पारित हुन नसकेपछि प्रदेश सरकारले असोजमा ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँको दोस्रो पटक बजेट ल्याएको थियो । चालु र पुँजीगत गरी हालसम्म छ अर्ब ६२ करोड १३ लाख (२१ प्रतिशत) बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिनुभयो । प्रदेश सरकारले अझै २४ अर्ब ९१ करोड ५२ लाख ३२ हजार बजेट खर्च गर्न बाँकी रहेको छ । 

विकासे अड्डाका रूपमा काम गर्ने मन्त्रालयकै पुँजीगत बजेट खर्च प्रगति सन्तोषजनक देखिएको छैन । कुल १४ अर्ब १० करोड ६७ लाख रुपियाँ पुँजीगत बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म दुई अर्ब ४७ करोड ६२ लाख रुपियाँ पुँजीगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । मन्त्रालयको पुँजीगत बजेट खर्च प्रगति १७.५५ प्रतिशत रहेको छ । 

यसै गरी दुई अर्ब ७८ करोड २५ लाख पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले १० करोड ९२ लाख ७५ हजार रुपियाँ खर्च गरेको छ । जम्मा २२.७५ प्रतिशत बजेट खर्च गरेको यो मन्त्रालयको पुँजीगत खर्च प्रगति ३.९३ प्रतिशत मात्रै रहेको छ । 

यस्तै कुल खर्च प्रगति १३.६२ प्रतिशत रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पुँजीगत बजेट खर्च प्रगति ६.५४ प्रतिशत मात्रै रहेको छ । यो मन्त्रालयले हालसम्म १७ करोड ८१ लाख रुपियाँ पुँजीगत बजेट खर्च गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयले हालसम्म १० करोड ९१ लाख (१२.३३ प्रतिशत) पुँजीगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।