आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले दिए राजिनामा

धनगढी, १६ चैत ।
काठ व्यापारीहरुसंगको आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले शनिवार राजिनामा दिएका छन् ।
असोज महिनाको एक छलफलमा गरिएको आर्थिक लेनदेन सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिवार राजिनामा दिएका हुन् ।
काठ व्यापारीसंगको मिलोमतोमा ढलापडा, सडा काठको टेण्डर र दिगो वन व्यवस्थापनको कार्य विधि बनाउन मोल मोलाई गरिरहेको मन्त्री चौधरीको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई पदबाट राजिनामा दिन निर्देशन दिएका थिए ।
टीकापुरमा रहेका मन्त्री चौधरीलाई आज बिहान धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले चौधरीलाई राजिनामा दिन निर्देशन दिदै नदिए बर्खास्त गर्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि चौधरीले पदबाट राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहले आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई समेत मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए ।
उनले पदबाट राजिनामा दिनेक्रममा आफ्नो पार्टीभित्र दुई धार रहेको, पार्टी भित्रैबाट र अन्य पार्टीहरुले आफूमाथि षडयन्त्र गरेको चौधरीले बताए ।
उनले आफूलाई नियुक्तिको विषयमा केही दिन अघि धम्की दिएको र सुरक्षित राखिएको धम्कीपूर्ण मेसेज आवश्यक परेको बेला सार्वजनिक गर्ने बताए ।
उनले आफूमाथि प्रश्न उठेकोले नैतिकताका आधारमा राजिनामा दिएपनि आर्थिक लेनदेनमा आफू संलग्न नभएको बताए ।
तपाईको प्रतिक्रिया