ज्ञानेन्द्र शाहलाई थुनेर मुद्दा चलाउन माओवादी सांसदको माग

शनिबार चैत १५, २०८१/ Saturday 03-29-25
Paschim Today

काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले राजावादीहरुको प्रदर्शनलाई आन्दोलन भन्न नमिल्ने बरु पञ्चायत शासनको झल्को दिनेगरि लुटपाट र हिंस्रक गतिविधि भएको टिप्पणी गरेका छन् । राजावादीहरुले पत्रकारलाई जिउँदै जलाएर मारेको भन्दै उक्त घट्ना निन्दनीय रहेको दाहालको टिप्पणी छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । राजावादीहरुको आन्दोलन नभएर अपराधिक प्रदर्शन भएको उनको भनाई छ । उनले सरकारले समयमै प्रहरीहरुमाथि गाडी चढाएर हत्या गर्न उद्धत देखिएका ज्ञानेन्द्र शाहका कमाण्डर दुर्गा प्रसाईंलाई फिल्डबाटै पक्राउ गर्न नसकिनु दुःखद भएको र यसको नैतिक जिम्मा वर्तमान सरकारलेपनि लिनुपर्ने मत राखे ।

प्रहरीलाई सरकारले प्रसाईंलाई पक्राउ गर्न निर्देशन दिन भने चुकेको उनको भनाई छ । उनले भने,‘हिजोको घट्ना निन्दनीय छ । यो अमानवीय छ। यो राजनीतिक प्रकृतिको घट्ना नै होइन, यो त अपराधिक प्रकृतिको घट्ना छ । यसमा संलग्न पात्र र निर्देशन दिने ज्ञानेन्द्र शाहलाई पनि गिरफ्तार गर्नुपर्छ । उनको सेवा तथा सुविधा खोस्नुपर्छ । उनीमाथि मुद्दा चलाउनुपर्छ । ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको घट्ना हो । यसमा संस्थागत रुपमा ज्ञानेन्द्र शाहले जिम्मा लिनुपर्छ । उनलाई थुन्नुपर्छ ।’