नजरबन्दमा राखियो राजावादी आनदोलनका संयोजक नवराज सुवेदीलाई

शनिबार चैत १५, २०८१/ Saturday 03-29-25
Paschim Today

राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । संयोजक सुवेदीको काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित घरमा प्रहरी खटाइएको छ ।  

सुवेदीलाई प्रहरीले शुक्रबार रातिदेखि नै घरबाट बाहिर निस्किन दिएको छैन । ८६ वर्षीय सुवेदीलाई स्वास्थ्य र उमेरका कारण पक्राउ नगरी घरमै नजरबन्दमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार संयोजक सुवेदीलाई कसैसँग भेट्न दिइएको छैन । 

शुक्रबार तीनकुनेमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरेका थिए । उक्त आन्दोलन समितिका संयोजक सुवेदी हुन् भने कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं । प्रदर्शनका क्रममा तीनकुनेमा पत्रकार सुरेज रजकसहित दुई जनाको मृत्यु भएको थियो । 

यसअघि राजसंस्था पुनःस्थापनाको आन्दोलन भड्काएर हिंसात्मक बनाउन योजनाबद्ध भूमिका खेलेको भन्दै प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको थियो ।

राजसंस्था पक्षधरको शुक्रबारको आन्दोलन भड्किनुको मुख्य दोष भने कमाण्डर तोकिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई लगाइएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । तर, फरार रहेका प्रसाईं अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । त्यस्तै, राजावादीको आन्दोलन भड्काएको आरोपमा अधिवक्तासमेत रहेका स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् ।

 

तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि सहभागीहरू तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गर्दै कोटेश्वरदेखि जडिबुटीसम्म पुगेका थिए । त्यसक्रममा एक दर्जनभन्दा धेरै सवारी जलाउनुका साथै अन्नपूर्णपोष्ट, कान्तिपुर टिभीलगायत सञ्चारगृहमा आक्रमणसमेत गरेका थिए । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चाएका थिए ।