पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा कटौती, सुरक्षाकर्मी संख्या घटाइयो

शनिबार चैत १५, २०८१/ Saturday 03-29-25
Paschim Today

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदान गरिएको सुरक्षा व्यवस्थामा कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११:३० बजे पूर्वराजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।

डिएसपीको कमाण्डमा रहेका २५ जनाको टोलीबाट १० जना हटाइएपछि अब १५ जना मात्र सुरक्षामा रहने छन्। ‘केही दिनमा सुरक्षा व्यवस्थाबारे थप निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिइएका सुविधाहरू कटौती गर्ने तयारी गरिरहेका बेला सुरक्षामा समेत परिवर्तन गरिएको हो। नारायणहिटी राजदरबारबाट हटेपछि सरकारले पूर्व राजपरिवारलाई नागार्जुन दरबारमा आवाससहितको सुविधा प्रदान गरेको छ। तर, निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी सम्पत्ति हो।

पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि सरकारले १५५ जना सशस्त्र प्रहरी खटाएको थियो। साथै, इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराइएको थियो। तीमध्ये २५ जना पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका थिए।

यसैबीच, पूर्व राजपरिवारका अन्य सदस्यहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई पनि फिर्ता बोलाइएको छ। ‘परिवारका सदस्यलाई खटाइएको सुरक्षा टोली दुई दिनभित्र सशस्त्र प्रहरी बलको कार्यदलमा हाजिर हुनेछ,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ।

तर, सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी पूर्वराजाका लागि खटिएका छन्। उनले सुरक्षाको व्यवस्था कार्यविधिअनुसार नै गरिएको बताए।