राजावादीको प्रदर्शन हिंसात्मक, उच्छृंखल, अमानवीय: गृहमन्त्री

शुक्रबार चैत २१, २०८१/ Friday 04-04-25
Paschim Today

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले राजावादी समूहले यही चैत १५ गते काठमाडाैँमा गरेको हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।

शुक्रबार संसद्‍काे राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री लेखकले सत्ताधारीहरुलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यबाट भन्दा पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका हुन्।

‘ज्ञानेन्द्र शाहको फागुन ७ को अभिव्यक्ति र २५ गतेको प्रदर्शनले पनि त्यसको संकेत गरेको थियो,’ गृहमन्त्री लेखकले भने, ‘आन्दोलनको नेतृत्व गरिरहेका लिडरहरुका अभिव्यक्तिले पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको पुष्टि हुन्छ।’

उनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको विषयमा आफूले संसद्लाई जानकारी गराउने तयारी गर्दागर्दै संसद् बैठक अन्त्य भएको उनले बताए।

‘तीनकुने क्षेत्रमा राजावादीको हिंसात्मक प्रदर्शनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसद्लाई केही जानकारी गराइसक्नु भएको छ,’ उनले भने, ‘मैले पनि यस विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने तयारी गरेको थिएँ। तर, सांसद दीपक बोहारोका निधन भएको कारण संसद्को अन्तिम बैठक शोक प्रस्ताव पारित भएर अन्त्य भयो। तीनकुने घटनाको सम्बन्धमा मैले संसद्‍मा बोल्न पाइँन।’

उनले चैत १५ गते काठमाडौँका दुई ठाउँमा प्रदर्शन भएको भन्दै समाजवादी मोर्चाले भृकुटीमण्डप मा गरेको प्रदर्शनको प्रशंसा गरे।

‘माओवादीसहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रम सभ्य र भव्य थियो। त्यहाँ विचार प्रस्तुति भयो। सरकारको आलोचना गर्न पाइन्छ। त्यो कार्यक्रममा मोर्चाका नेताहरुले सरकारको आलोचना गर्नुभयो, त्यसको हामी सम्मान गर्छौँ। समाजवादी मोर्चालाई धन्यवाद छ,’ गृहमन्त्री लेखकले भने, ‘तर, तीनकुनेको कार्यक्रम समाजवादी मोर्चाको भन्दा विपरित थियो। हिंसात्मक, उच्छृंखल, अमानवीय र अमर्यादित थियो त्यो कार्यक्रम।’

उनले राजावादीको आमानवीय प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र स्वास्थ्य लाभको कामना गर्दै घाइते सबैको निःशुल्क उपचार गरिने बताए। ‘मृतक दुईजनाका आश्रित परिवारलाई १० लाखका दरले राहत दिने निर्णय सरकारले गरिसकेको छ,’ गृहमन्त्री लेखकले भने।