टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ

सोमबार चैत २४, २०८१/ Monday 04-07-25
Paschim Today

काठमाण्डौ – हङकङमा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाली टोली आज राति हङकङ जाने छ ।

आज नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरेका हुन् । पर्सि बुधवारबाट शुरु हुने शृङ्खलाका लागि नेपाली टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ ।

नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो शृङ्खलाको लागि जिम्मेवारी दिइएको हो । मल्लले क्यानले प्रधानमन्त्री कप खेले लगतै पाँच दिनको छोटो तयारी भए पनि टोली लयमा रहेको र जीतको लागि खेल्ने मल्लको विश्वास रहेको बताए ।

शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ ।