अफगानिस्तानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल यू–१९ टिम ८५ रनले विजयी भएको छ । नेपाल यू–१९ टिम डकवर्थ लुइस अर्थात् डिएल मेथडअनुसार विजयी भएको हो ।
नेपालले १९२ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसपछि खेल सुरु हुने अवस्था नभएपछि नेपाल विजयी भएको हो । योसँगै नेपाल तीन खेलको सिरिजमा क्लिन स्विपबाट जोगियो । नेपाल पहिलो खेलमा १३० र दोस्रो म्याचमा एक रनले पराजित भएको थियो ।
तेस्रो खेलमा बलिङमा नेपालका लागि अपराजित पौडेलले दुई तथा सन्तोष यादव, अशोक धामी, विपिन शर्मा र दयानन्द मण्डलले एक/एक विकेट लिए ।
त्यसअघि काठमाडौंस्थित मूलपानी मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४४.५ ओभरमा १९१ रनमा अलआउट भयो ।
नेपालका लागि शाहिल पटेलले ४६, निरजकुमार यादवले ४२, रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ र दर्श सोनारले १० रन बनाए ।
अफगानिस्तानका लागि हफीज जाद्रानले १० ओभरमा २ मेडनसहित ४९ रन दिएर सर्वाधिक चार विकेट लिए । नेपाल र अफगानिस्तानले यू–१९ विश्वकप छनोटको तयारीस्वरूप एकदिवसीय सिरिज खेलेका हुन् ।
विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसहित यूएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो वर्ष हुने विश्वकप खेल्नेछ ।
तपाईको प्रतिक्रिया